News Summary
Generated by OK AI. Editorially reviewed.- ममता कुलकर्णी २५ वर्षपछि टेलिभिजनमा 'लाफ्टर शेफ्स : अनलिमिटेड इन्टरटेनमेन्ट' सिजन ३ मा अतिथि कलाकारका रूपमा देखिएकी छन्।
- सन् २०२५ मा प्रयागराज महाकुम्भमा किन्नर अखाडाकी महामण्डलेश्वर घोषित ममता विवादपछि उक्त पदबाट हटाइएकी थिइन्।
- ममता कुलकर्णीले लागूऔषध तस्करी प्रकरणमा आफू निर्दोष रहेको र फसाइएको दाबी गर्दै आएकी छन्।
मुम्बई । ९० को दशककी चर्चित हिन्दी अभिनेत्री तथा मोडल ममता कुलकर्णी फेरि चर्चामा आएकी छन् । हालै उनी ‘लाफ्टर शेफ्स : अनलिमिटेड इन्टरटेनमेन्ट’ सिजन ३ कार्यक्रममा अतिथि कलाकारका रूपमा देखिएकी हुन् ।
यससँगै उनी झन्डै २५ वर्षपछि टेलिभिजनमा पुनः प्रवेश गरेकी छन् ।
उनी ‘लाफ्टर शेफ्स’ कार्यक्रममा देखिने भएकी हुन् । यसको झलक उनले सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेकी छन् । उनले शेयर गरेको भिडियोमा ममताले कृष्णा अभिषेकको निधारमा टीका लगाइरहेको देखिन्छ ।
त्यसक्रममा पृष्ठभूमिमा ‘मांग मेरी भरो’ गीत बजिरहेको सुनिन्छ र पूरा वातावरण हाँसोले गुञ्जिएको देखिन्छ । ममताको यो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन् । धेरैले उनको मुस्कानको प्रशंसा गरेका छन् भने केहीले उनलाई प्रश्न गर्न पनि थालेका छन् ।
एक प्रयोगकर्ताले टिप्पणी गर्दै लेखेका छन्, ‘उहाँले त बलिउड र टेलिभिजनसँग कुनै सम्बन्ध नराख्ने भन्नुभएको थियो, फेरि यो के हो ? साध्वी बन्ने कुरा के थियो ?’
ममताले बुधबार सोसल मिडिया इन्स्टाग्राममा एक भिडियो सेयर गरेकी छन् जहाँ उनी फ्यानलाई नमस्कार गरिरहेको देखिन्छ । साथै, मानिसलाई आफ्नो परिवारसँग मिलाउँछिन् ।
भिडियोमा अभिनेत्री आफ्नै घरमा बसेकी देखिन्छिन्, जहाँ उनको बालकनीमा एउटा कागले खाना खाइरहेको हुन्छ। त्यसलाई देखाउँदै उनले भनेकी छन्, “अहिले हामी सबै मिलेर बिहानको नास्ता गरिरहेका छौँ, यही नै मेरो संसार हो।”
भिडियोमा ममता कपाल खुला छोडेको अवस्थामा कालो रंगको पोसाकमा देखिएकी छन् ।
साथै, उनी पछिल्लो समय विभिन्न विवादले पनि चर्चामा छिन् । सन् २०२५ को जनवरीमा प्रयागराजमा आयोजित महाकुम्भका क्रममा उनी किन्नर अखाडाकी महामण्डलेश्वर घोषित भएकी थिइन् । तर केही समयपछि शंकराचार्य अविमुक्तेश्वरानन्दबारे टिप्पणी गरेपछि विवाद उत्पन्न भयो र त्यसपछि किन्नर अखाडाले उनलाई उक्त पदबाट हटाएको थियो ।
कुलकर्णी दुई दशकभन्दा बढी समयदेखि फिल्मी क्षेत्रबाट टाढा रहेर आध्यात्मिक जीवनतर्फ लागेकी थिइन् । लागूऔषध तस्करीसँग सम्बन्धित विवादमा नाम आएपछि ममता कुलकर्णी विदेश गएकी थिइन् ।
सन् २०१६ मा विक्की गोस्वामीसँग सम्बन्धित लागूऔषध तस्करी प्रकरणमा उनको नाम सार्वजनिक भएको थियो । त्यसपछि उनले भारत छोडेकी थिइन् । तर ममताले आफू निर्दोष रहेको र आफूलाई फसाइएको दाबी गर्दै आएकी छन् ।
प्रतिक्रिया 4