१ चैत, रोल्पा । रोल्पामा अहिले पनि पानी घट्ट सञ्चालन भइरहेका छन् । परिवर्तन गाउँपालिका-४ को सिजाखोलाका घट्टहरु अहिले पनि चलिरहेका हुन् ।
धेरै ठाउँमा भने पछिल्लो समय पानीबाट चल्ने घट्टहरु लोप भइसकेका छन् ।
सिजाखोलामा अहिले पनि ६ वटा घट्ट सञ्चालन भइरहेको स्थानीयको भनाइ छ । उनीहरुले खाद्यान्न तिनै घट्टमा पिस्ने गर्छन् । अहिले पनि मैक, गहुँ, जौँ, फापर र कोदो घट्टमा पिस्ने गरेको स्थानीय धनसिङ रोकामगरले बताए ।
‘मैले २० वर्षदेखि घट्टमै पिस्न आएको छु,’ रोका मगरले भने, ‘गाउँमा विद्युत पुगेको छ तर कुटानी पिसानीको लागि विद्युतबाट सञ्चालन हुने मिल छैन’, उनले भने ।
पानी घट्टमा पकुटानी-पिसानी गरेको खानेकुरा विद्युतीय मिलको भन्दा स्वादिलो हुने स्थानीय बताउँछन ।
पानी घट्ट अस्तित्वमै रहे पनि अहिले रोल्पामा ढिकी, जाँतो भने प्रयोगमा आउन छोडेको छ ।
अलि पहिलेसम्म खाद्यान्न पिस्न र तेलजन्य वस्तु पेल्न पानी मिल र काठबाट निर्मित कोल प्रयोग गरिन्थ्यो । अहिले यो पनि विद्युतीय मिलका कारण लोप भइसकेको छ ।

प्रतिक्रिया 4