News Summary
Generated by OK AI. Editorially reviewed.- तुलसी घिमिरे निर्देशित फिल्म 'पहाड' को टिजर सार्वजनिक भएको छ र यो फिल्म १ बैशाखमा प्रदर्शन हुने तयारीमा छ।
- फिल्मले युवा विदेश पलायन र त्यसले ल्याउने सामाजिक आर्थिक समस्यालाई कथावस्तु बनाएको छ भने निर्देशक घिमिरेले यसलाई समग्र नेपालकै कथा भनेका छन्।
- फिल्ममा मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, सुनिल थापा लगायत कलाकारको अभिनय छ र निर्देशक घिमिरेकी छोरी पञ्चमी अभिनेत्रीको रुपमा प्रस्तुत हुँदैछ।
काठमाडौँ । तुलसी घिमिरेको निर्देशित फिल्म ‘पहाड’ को टिजर सार्वजनिक भएको छ । १ बैशाखमा प्रदर्शन तयारीमा रहेको फिल्मको टिजरले कथावस्तुरबारे प्रकाश पार्छ । युवा जनशक्ति विदेश पलायन हुँदा रित्तिएका पहाड र यसले ल्याउने सामाजिक, आर्थिक समस्याको कथामा फिल्म बनेको छ ।
फिल्मबारे निर्देशक घिमिरेले भने, ‘पहाड एकदमै सुन्दर ठाउँ हो, त्यसलाई सुन्दर बनाउन पुर्खा, अग्रजले जीवन समर्पण गरेका छन् । तर, पछिल्लो समय त्यही पहाड उजाड बनेको छ, युवा पलायन भएका छन्, रोजगारीका लागि बसाई सरेका छन् । यसलाई जोडेर नै फिल्मको कथा तयार गरेका छौँ ।’
उनले यसलाई समग्र नेपालकै कथा भन्दा मिल्ने बताए । नेपालसँगै अन्तर्राष्ट्रिय प्रदर्शनका लागि उपयुक्त समय मिलाउनुका साथै बाँकी कामलाई पूरा गर्ने अवधि मापन गरेर प्रदर्शन तय गरिएको जानकारी उनले दिए । घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि यो फिल्ममा कास्ट गरेका छन् ।
प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भारतमा फिल्म, वेब-सिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरेका छन् ।
‘पटकथा तयार गर्दा देखिएका पात्रमा फिट हुने भएपछि पुरानो सहकार्यलाई पुनः ताजा गरौँ भनेर मैले प्रस्ताव गरें । मेरो प्रस्तावमा सम्पूर्ण कलाकारले सहमति जनाउनुभयो, पुरानो समयलाई स्मरण गर्दै नयाँ उत्साहका साथ काम गरेका छौँ’ घिमिरेले भने, ‘यसपटक दर्शकसँगै यो फिल्म घर, परिवार र समाजसम्म विचारको रुपमा पुग्छ भन्नेमा विश्वस्त छु ।’
भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतको अभिनय छ ।
निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमीलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउँदैछन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।
फिल्ममा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक छन् । फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन छ ।
प्रतिक्रिया 4