News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ चार सांसद पाएको छ।
- भरत गिरीले संसद्मा सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने योजना बनाएका छन्।
- राप्रपाका सांसदहरू ताहिर अली, खुश्बु ओली र सरस्वती लामाले पनि आफ्नो क्षेत्र र पार्टीको एजेन्डा अनुसार संसद्मा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
२ चैत, काठमाडौं । २०६४ सालको संविधानसभा निर्वाचनमा राप्रपाबाट उम्मेदवार थिए– महोत्तरीका भरत गिरी । त्यतिबेला महोत्तरी–१ बाट उम्मेदवार भएका गिरी पराजित भए ।
उनी भन्छन्, ‘२०६४ मा चुनाव जितिएन । त्यो बेला र अहिले पनि पार्टीको मूल नीतिमा कुनै फेरबदल छैन । तर परिस्थिति त्यसबेला र अहिले निकै नै फरक छ ।’
संविधानसभा सदस्य भएर संसद् छिर्न नपाएका गिरी यसपटक समानुपातिक निर्वाचन प्रणालीमार्फत विधायकको भूमिकामा देखिँदैछन् ।
सांसद भएर के गर्ने योजना छ त ? जवाफमा उनी भन्छन्, ‘मुलुकमा कर्म गर्ने वातावरण बनाउनुपर्छ । विदेशमा पलायन भएकालाई पनि नेपाल फर्किएर आफ्नो सिप र क्षमताअनुसार काम गर्ने वातावरण बनाउनुपर्छ । यसका लागि नीतिगत तहमा काम गर्ने उद्देश्य छ ।’
यसका अलावा संसद्मा सरकारको काम–कारबाहीलाई ख्याल गरेर बलियो प्रतिपक्षको भूमिकामा उत्रने उनको योजना छ ।
‘बदलिँदो परिस्थितिमा भइरहेका बेतिथि तथा कमी–कमजोरी सुधार्न पहल गर्छु । सुशासनको पक्षमा आवाज उठाउँछु,’ उनी भन्छन्, ‘जेनजीले उठाएका एजेन्डाअनुसार सरकारले काम गर्छ वा गर्दैन भनेर संसद्मार्फत निरन्तर खबरदारी गर्ने उद्देश्य पनि छ ।’
भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको माग राखेर गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । सोही आन्दोलनको जगमा गत २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन भएको हो ।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइ बहुमत पाएको छ । रास्वपाको एकल बहुमतको शक्तिशाली सरकारको काम–कारबाहीमाथि निरन्तर निगरानी राख्ने र सक्नेसम्म खबरदारी गर्ने राप्रपाका सांसद गिरीको प्रतिबद्धता छ । तर राप्रपाको आफ्नै हैसियत भने संसद्मा जम्मा पाँच सिटको रहनेछ ।
प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपाले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएपछि थप चार सिट प्राप्त गरेको हो ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुनेमा खसआर्य पुरुषतर्फबाट महोत्तरीका उनै भरत गिरी, मुस्लिम पुरुष क्लस्टरबाट रुपन्देहीका ताहिर अली, खस आर्य महिला क्लटरबाट झापाकी खुश्बु ओली र जनजाति महिलाबाट धादिङकी सरस्वती लामा रहेका छन् ।
समानुपातिकतर्फबाट सांसद भएका महोत्तरीका गिरी पेसाले स्कुल सञ्चालक हुन् । उनी युर्निभसल कलेजको चेयरम्यान हुन् । फिनिक्स कलेज एन्ड म्यानेजमेन्ट र न्यू समिट कलेजमा पनि आवद्ध छन् ।
२०१८ सालमा धनकुटामा जन्मिएका गिरीले बीएसम्म अध्ययन गरेका छन् । उनी झापा हुँदै महोत्तरी पुगे । हाल राप्रपाको मधेश प्रदेश अध्यक्ष रहेका उनी राजनीतिमा भने २०३७ सालदेखि छन् ।
मुस्लिम समुदायबाट अली
ताहिर अली लामो समयदेखि राजनीतिमा क्रियाशील व्यक्ति हुन् । २०१९ सालमा रुपन्देहीमा जन्मिएका उनी २०३८ सालदेखि नै राजनीतिमा छन् ।
हाल राप्रपामा सहायक महामन्त्रीको जिम्मेवारीमा रहेका उनी पार्टीको लुम्बिनी प्रदेशको स्थानीय परिचालन विभागको संयोजक पनि हुन् ।
राप्रपाका प्रवक्ता श्रेष्ठका अनुसार समानुपातिकतर्फबाट सांसद बनाउँदा बढी मत ल्याउने प्रदेशको प्रतिनिधित्व गराएको छ । यसअन्तर्गत अली सांसद बनेका हुन् ।

‘बढी मत ल्याउने निर्वाचन क्षेत्रमध्येबाट प्रतिनिधित्व गराइएको छ । रुपन्देही क्षेत्र नम्बर १ बाट ताहिर अली यस कारण सांसद बन्नुभएको हो,’ श्रेष्ठ भन्छन्, ‘त्यस क्षेत्रमा मुस्लिम बाहुल्य गाउँपालिकाबाट समेत हाम्रो पार्टीले राम्रो मत पाएको छ ।’
‘सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र’को पक्षमा राप्रपा रहेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठ भन्छन्, ‘मुस्लिम भएर पनि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने अली सांसद हुनुभएको छ ।’
अली आफैँ पनि पार्टीको एजेन्डा प्रमुख विषय रहेको बताउँछन् । यसका अलावा जनताको विषयलाई सदनमा गएर उठाउने उनको प्रतिबद्धता छ ।
‘जनताले पाइरहेको दु:खको कुरा छ । रुपन्देहीकै स्थानीय विकासको कुरा छ । रोडको कुरा छ । गरिबका विषय छन् । शिक्षा, स्वास्थ्यमा सहुलियतको कुरा छ, बेरोजगारी अन्त्य गर्नुपर्ने छ । यी क्षेत्रमा काम गर्ने योजना र सोच छ,’ उनी भन्छन्, ‘जनताको सुखका खातिर निरन्तर लडिरहन्छु ।’
राजनीतिमा जोडिएको ३ वर्षमै सांसद् बनिन् खुश्बु
राप्रपाबाट सांसद बनेकी खुश्बु ओली सामाजिक क्षेत्रमा सक्रिय युवा हुन् । तीन वर्ष अगाडि मात्रै राप्रपामा जोडिएकी उनले यस पटक समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य हुने अवसर प्राप्त गरिन् ।
उनी भन्छिन्, ‘अब संसद्मा राष्ट्रियताको पक्षमा दह्रो भएर प्रस्तुत हुन्छु । सरकारको काम गलत भयो भने सशक्त आवाज उठाउँछु ।’
२०४७ सालमा जन्मिएकी उनी विगतमा ‘सेल्टर नेपाल’ जस्ता संस्थामा जोडिएर समाजसेवामा थिइन् ।
‘पछिल्लो समय कृषि र विकास क्षेत्रमा काम गरेँ । यो अनुभव सांसद भएर काम गर्न पनि सहयोगी हुने विश्वास छ,’ उनी थप्छिन्, ‘अर्थतन्त्रका विषय, कृषकको मुद्दा र महिलाको मुद्दालाई संसद्मा बलियो गरी उठाउँछु ।’
पार्टी संस्थापकलाई पहिलो अवसर
राप्रपाबाट सांसद भएकी सरस्वती लामा तेस्रो प्रयासमा प्रतिनिधिसभा सदस्य बनेकी हुन् । उनको नाम २०७४ सालमै समानुपातिक सूचीमा थियो । त्यसबेला सांसद बन्न पाइनन् ।
२०७९ सालमा पनि उनको नाम जिल्लाबाट समानुपातिकमा सिफारिस भएको थियो । तर उम्मेदवार नै भइनन् । यस पटक समानुपतिक सूचीमा थिइन्, राप्रपाले सांसद बनाएर प्रतिनिधिसभामा पठाएको छ । लामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती हुन् ।
२०२४ सालमा नुवाकोटमा जन्मिएकी उनी चितवनमा हुर्केकी हुन् । विवाह भएपछि धादिङ पुगिन् ।
प्रगतिशील विद्यार्थी संगठनमा आवद्ध भएर राजनीतिमा जोडिएकी लामा राप्रपामा स्थापनाकालदेखि नै छिन् । उनी भन्छिन्, ‘म राप्रपाको २०४७ सालदेखिकै सदस्य हुँ ।’
हाल पार्टीमा केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी उनी महिला विभागमा पनि काम गर्छिन् । संसद् प्रवेश गरेपछि आम नागरिकका दैनिक जीवनयापनका विषय, स्थानीय समस्या उठाउने योजनामा रहेकी उनी पार्टीको नीतिप्रति उत्तिकै सचेत छिन् ।
उनी भन्छिन्, ‘आम विषय त उठाउँछु नै । तर, महत्वपूर्ण विषयमा पार्टीको निर्देशन हुन्छ । त्यसलाई ठिक ढंगले संसद्मा लगेर प्रस्तुत गर्नेछु ।’
प्रतिक्रिया 4