News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन आर्मीले राष्ट्रिय लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीलाई २-१ ले पराजित गरेको छ ।
- नवयुग श्रेष्ठ र जिलेस्पी जंग कार्कीले आर्मीका लागि गोल गरे ।
- मछिन्द्रले ११ खेलबाट २५ अंकसहित शीर्ष स्थानमा रहँदा आर्मी २३ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।
२ चैत, काठमाडौं । राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा रहेको मछिन्द्र एफसी विभागीय टोली त्रिभुवन आर्मीसँग पराजित भएको छ ।
सोमबार साँझ दशरथ रंगशालमा भएको खेलमा आर्मीले मछिन्द्रलाई २-१ ले पराजित गरेको हो । लिगमा मछिन्द्रको यो दोस्रो हार हो ।
हारपछि मछिन्द्रले शीर्ष स्थानमा स्पष्ट अग्रता बनाउने अवसर गुमाएको छ । मछिन्द्र ११ खेलबाट २५ अंकसहित अझै शीर्ष स्थानमै छ ।
सातौं जित हात पारेको आर्मी ११ खेलबाट २३ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । लिग उत्तरार्धतिर अघि बढ्दा शीर्ष पाँचमा रहेका क्लबहरुबीच ३ अंकको मात्र फरक छ । यसले उपाधि होड प्रतिस्पर्धात्मक बनेको छ ।
नवयुग श्रेष्ठले ४०औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिले अग्रता दिलाएका थिए । तर त्यसको तीन मिनेटपछि नै जोनाथान कान्टिलानाले मछिन्द्रका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुमै आर्मीले गोल गर्यो । जिलेस्पी जंग कार्कीले ४६औं मिनेटमा गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाएका थिए । त्यही गोल निर्णायक बन्दा आर्मीले ३ अंक जोडेको हो ।
सोमबारै भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबले २-२ को बराबरी खेलेका थिए भने दोस्रो खेलमा लालिगुराँस एसोसिएसन क्लबले प्लानिङ ब्वाइज युनाइटेडलाई ३-२ ले पराजित गरेको थियो ।
तस्बीर: एन्फा
प्रतिक्रिया 4