News Summary
Generated by OK AI. Editorially reviewed.- २०६२/६३ को जनआन्दोलनपछि कम्युनिष्ट पार्टीहरू नेपाली संसद्को प्रमुख शक्ति बनेका थिए र पाँच प्रधानमन्त्री, दुई राष्ट्रपति, पाँच सभामुख बनेका छन्।
- २०७४ पछि कम्युनिष्ट पार्टीहरूको मत प्रतिशत घट्दै गएको छ र अहिले संयुक्त रूपमा २३ प्रतिशत मत सहित तेस्रो शक्तिमा झरेका छन्।
- २०८२ को जेनजी आन्दोलनले युवाहरूमा कम्युनिष्ट पार्टीप्रति असन्तुष्टि बढाएको छ र नयाँ युवा शक्ति राजनीतिक रूपमा अगाडि आएको छ।
- पश्चिम बंगालमा ३४ वर्ष शासन गरेको सीपीआई (एम) जनतासँगको सम्पर्क टुट्दा जसरी धरासायी भयो, नेपाली कम्युनिष्ट पनि त्यही बाटो हिंडिरहेका छन्।
२०६२/६३ को ऐतिहासिक जनआन्दोलनपछि कम्युनिष्ट पार्टीहरू नेपाली संसद्को प्रमुख शक्ति बने। कम्युनिष्ट पार्टीबाट पाँच प्रधानमन्त्री, दुई राष्ट्रपति र पाँच सभामुख बने। गणतन्त्रको पहिलो प्रधानमन्त्री, पहिलो महिला राष्ट्रपति, पहिलो महिला सभामुख, बहुमत र दुईतिहाइको सरकारको अवसर पाएको यो आन्दोलन आज इतिहासकै दयनीय अवस्थामा छ। कुनै बेला ‘नेता भनेको सेवक हो’ भन्ने मान्यता राख्ने यो आन्दोलन आज ‘नेता भनेको मालिक हो’ भन्ने बाटोमा हिंडेको छ।
ऐतिहासिक पतनको यात्रा
२०६४ मा कम्युनिष्ट पार्टीहरूले ५७ प्रतिशत मत र ६१ प्रतिशत सिट जितेर संविधानसभाको सबैभन्दा शक्तिशाली शक्ति बनेका थिए। २०७४ मा ४८ प्रतिशत मत र ६४ प्रतिशत सिट सहित झन् बलियो भए। तर त्यसयता ओरालो यात्रा शुरु भयो। अहिले संयुक्त रूपमा २३ प्रतिशत मत सहित प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ २५ सिट जितेर कम्युनिष्टहरू कमजोर तेस्रो शक्तिमा झरेका छन्। छोटो समयमै यो अवस्था कसरी बन्यो ?
कुनै बेला नेताको कोठामा रातभर बहस गर्ने कार्यकर्ता आज गेट बाहिरै रोकिन्छन्। नेताहरूमा देवत्वकरण हावी भयो, न भेट्न पाइन्छ, न कुरा गर्न, न विचारमाथि बहस गर्न। नेताका हरेक निर्णय ‘अन्तिम सत्य’ बने, आलोचक ‘पार्टी विरोधी’ ठहरिए। आन्तरिक लोकतन्त्र ध्वस्त भयो।
स्वकीय सचिवहरूको कुरै नगरौं। उनीहरू नेता र जनता बीचको पुल बन्नुको सट्टा पर्खाल नै बने। दलाल, कमिसनखोर र ठेकेदार उनीहरूको दरबारमा स्वागत पाउँथे, तर जनता र इमानदार कार्यकर्ता ढोकैमा अल्झिन्थे। उनीहरूको दर्शन पाएर मात्र भित्री घेरामा पस्न पाइने संस्कारले जरो गाड्यो।
पुस्तौंको सपना, तीन जनाको घमण्ड
पुष्पलाल, मनमोहन र मदनले डोर्याएको आन्दोलन प्रचण्डसम्म आइपुग्दा २०६४ मा उत्कर्षमा थियो। तर २०८२ मा आइपुग्दा ओली र प्रचण्डकै युगमा त्यो आन्दोलन पतनको सँघारमा छ। किनभने उनीहरू दुईजना बाहेक अरू कसैलाई नेतृत्वमा देख्न सकेनन्। आफू मात्र अध्यक्ष हुने, अरू हावी हुन नदिने प्रवृत्तिले विस्तारै आन्दोलनलाई कमजोर बनायो। प्रचण्ड आफ्नो सीमित घेरामा रमाए, ओलीलाई घमण्ड र दम्भले गाँज्यो।
दक्षिणपन्थी सुधारवादी धारमा हिंड्दा–हिंड्दा उनीहरू नातावाद, कृपावाद, चाकडीवादमा अल्झिए। प्रचण्डले त नातावादको आरोप धेरै खेपे। थानकोट उक्लिएर, खुमलटार घेरेर केन्द्रीय सदस्यता पाइने भएपछि गाउँका साँचो नेताहरू ओझेलमा परे। पिरामिडको संगठन उल्टियो अनि ध्वस्त भयो।
आत्मालोचनाको मृत्यु
पारदर्शिताको नारा दिने यिनै कम्युनिष्ट पार्टीहरू भ्रष्टाचारको महासागरमा डुबेको आरोप छ। ठूला–ठूला घोटालामा कम्युनिष्ट नेताकै नाम जोडिन थालेपछि जनताको विश्वास पूरै टुक्रियो। पश्चिम बंगालमा ३४ वर्ष शासन गरेको सीपीआई (एम) जमिन अधिग्रहण, भ्रष्टाचार र जनतासँगको सम्पर्क टुट्दा जसरी धरासायी भयो, नेपाली कम्युनिष्ट पनि त्यही बाटो हिंडिरहेका छन्।
बन्दुक बोक्नेको महत्व संसद्मा आएपछि घट्यो, बोरामा पैसा बोक्ने दलाल–ठेकेदारको महत्व बढ्यो। युद्धमा होमिएका कति अपाङ्ग र घाइते आज ह्विलचेयरमा सीमित छन्, कतिका श्रीमती खाडीमा पसिना बगाइरहेका छन्। अहिले कम्युनिष्ट नेतृत्व नवसामन्तवाद र पूँजीवादको मतियार बनेर बसेको छ।
जनताले २०६४ र २०७४ मा ठूलो आशाले कम्युनिष्टलाई मत दिए। तर सत्तामा पुगेपछि नेतालाई सत्ताको मात लाग्यो, आपसमै लडे, एकले अर्काको कमजोरी देखाउन व्यस्त भए, र अन्तत: सबै नांगिए। यसका मुख्य पात्र हुन् केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपाल। अचम्म ! गल्ती स्वीकार्ने र सच्चिने सट्टा उनीहरू अमेरिका र भारतलाई गाली गर्न व्यस्त छन्। आत्मालोचनाभन्दा विदेशीलाई दोष दिनुलाई नै उनीहरूले आफ्नो सफलता ठानेका छन्।
जेनजी पुस्ताको आक्रोश
२०८२ को जेनजी आन्दोलनले पुराना दलहरू, विशेषगरी कम्युनिष्टप्रति युवाको चरम असन्तुष्टि उजागर गर्यो। रोजगारी, सुशासन र स्थायित्वको माग गर्ने युवाले कम्युनिष्टलाई विश्वास गर्न छाडे। ‘बाबुको पालामा सुनिएको क्रान्ति, आफ्नो पालामा भोगेको निराशा’, यो बुझाइले आन्दोलनलाई ठूलो धक्का दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ शक्ति पुराना दलको विकल्प खोजिरहेको जनतालाई आफूतिर तान्न सफल भए। परिवर्तनको नारा र नयाँ शैलीले युवा र मध्यम वर्गलाई आकर्षित गर्यो। २०७४ मा ६० प्रतिशत मत पाएका कम्युनिष्टहरूले सत्तामा रहँदा जनताको केही गर्न नसकेपछि जनता स्वाभाविक रूपमा नयाँ अनुहारतिर फर्किए।
भदौ २०८२ को जेनजी आन्दोलनपछि नेपालको राजनीतिमा परिवर्तनको लहर नै बग्यो। पुराना दल सत्ताच्युत भए, नयाँ युवा शक्ति अगाडि आयो। केपी ओली झापा–५ बाट आफूभन्दा ४० वर्ष कान्छा बालेन्द्र शाहसँग करिब ५० हजार मतले पराजित भए। प्रचण्डले जिते पनि कम्युनिष्टका दर्जनौं नेता यो परिवर्तनको मारमा परे।
उपसंहार
जब पार्टीहरू आफ्नो मूल सिद्धान्त र जनतासँगको बचनबाट टाढिन्छन्, तिनीहरू बीचको भिन्नता मेटिन्छ। अनि देखिन्छ उस्तै नीति, उस्तै कार्यशैली, उस्तै बाचा र उस्तै परिणाम। २०८२ को निर्वाचनले यही देखाएको छ। कम्युनिष्ट उस्तै छन्, तर जनता उस्तै छैनन्। सधैं अरूलाई झुक्याउने यसपालि आफैं जनतासँग झुक्किए।
अब भन्न थालिएको छ, ‘जनता ब्युँझिसके, पालो नेताको।’ जोखिम मोलेर भए पनि नयाँ युवा पुस्तालाई अवसर दिने जनताको यो निर्णयले आगामी दिनको राजनीतिक दिशा नै परिवर्तन गर्नेछ।
कम्युनिष्ट शक्तिहरू आज एक ठाडो प्रश्नको सामना गरिरहेका छन्, पूरै सच्चिने वा सक्किने।
(गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व सदस्य डा. अधिकारी, हाल चीनस्थित लान्झोउ विश्वविद्यालयमा तेस्रो ध्रुव वातावरण केन्द्रमा अनुसन्धानकर्ता छन्।)
प्रतिक्रिया 4