News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिका–इरानबीच बढ्दो तनावका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा उतार–चढाव देखिएको छ।
- उद्योग व्यापार संघ बुटवलले कालोबजारी र कृत्रिम अभाव रोक्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ज्ञापनपत्र बुझाएको छ।
- संघले बजार अनुगमन कडा गर्न, इन्धनको सहज उपलब्धता सुनिश्चित गर्न र उद्योगलाई कर सहुलियत दिन सरकारसँग माग गरेको छ।
६ चैत, बुटवल । अमेरिका–इरानबीच बढ्दो तनावका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा आएको उतार–चढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत देखिन थालेकोप्रति उद्योग व्यापार संघ बुटवलको गम्भीर ध्यानाकर्षण भएको छ ।
अन्तर्राष्ट्रिय परिस्थितिलाई बहाना बनाउँदै केही व्यक्ति तथा समूहले पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुहरूमा कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक मूल्यवृद्धि गर्ने तथा कालोबजारी गर्ने जस्ता गतिविधि बढिरहेकोमा संघले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ज्ञापनपत्र बुझाएर कालोबजारी र कृत्रिम अभाव रोक्न माग गरेको छ ।
संघका अध्यक्ष लोकनाथ पन्थी, वरिष्ठ उपााध्यक्ष पदम जीसी, महासचिव विजय आचार्य,कोषाध्यक्ष सौरभ भुसाल लगायतको टोलीले रुपन्देहीका सहायक सिडिओ मेघनाथ पाध्यालाई ज्ञापनपत्र बुझाउँदै आम उपभोक्ता, उद्योग तथा व्यापार क्षेत्र सबैमा नकारात्मक प्रभाव पार्ने कालोबजारी र कृत्रिम अभाव कडाइका साथ रोक्न ध्यानाकर्षण गराएको हो ।
संघले अन्तर्राष्ट्रिय बजारको परिस्थितिलाई आधार बनाई स्थानीय बजारमा कृत्रिम अभाव सिर्जना गर्ने तथा अस्वाभाविक मूल्यवृद्धि गर्ने प्रवृत्ति नियन्त्रण गर्न तत्काल सशक्त र प्रभावकारी बजार अनुगमन संयन्त्र परिचालन गर्न माग गरेको छ ।
यस्तै उद्योग, व्यवसाय तथा आम उपभोक्तालाई आवश्यक पर्ने इन्धनको सहज उपलब्धता सुनिश्चित गर्न पर्याप्त मौज्दात व्यवस्थापन र आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउनेतर्फ सरकारबाट विशेष पहल गर्न माग गरेको छ ।
यस्तै संकटकालीन अवस्थालाई अवसरका रूपमा प्रयोग गर्दै सामान लुकाउने, कालोबजारी गर्ने वा अनावश्यक मूल्यवृद्धि गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न प्रशासनसमक्ष आग्रह गरेको छ ।
संघले सम्पूर्ण उद्योगी तथा व्यवसायीहरूलाई संवेदनशील परिस्थितिमा उपभोक्ताको हितलाई प्राथमिकतामा राख्दै उच्च व्यावसायिक नैतिकता कायम गर्न तथा कुनै पनि प्रकारको गैरकानुनी गतिविधिमा संलग्न नहुन हार्दिक अपिल गरेको छ ।
इन्धनको मूल्यवृद्धिका कारण उत्पादन, ढुवानी तथा सेवा क्षेत्रको लागत बढ्ने अवस्थालाई ध्यानमा राख्दै उद्योग तथा व्यापार क्षेत्रलाई संरक्षण गर्न सरकारले कर सहुलियत, ढुवानी सहुलियत वा विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने संघको सरकारसँग माग छ ।
वर्तमान चुनौतीपूर्ण परिस्थितिमा देशको अर्थतन्त्रलाई सुदृढ बनाउन र आम उपभोक्ताको हित संरक्षण गर्न सरकार, निजी क्षेत्र तथा सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य अत्यन्त आवश्यक रहेको उद्योग व्यापार संघ बुटवलको ठहर छ । यस दिशामा संघ सधैँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको महासचिव आचार्यले बताए ।
प्रतिक्रिया 4