७ चैत, काठमाडौं । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलन जाँचबुझ आयोगकव प्रतिवेदन सार्वजनिक गर्न फेरि आग्रह गरेकी छन् ।
गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन ।
जेनजी आन्दोलनका घाइतेका परिवारले माइतीघर पुगेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले आयोगको प्रतिवेदन सार्वजनिक गर्न फेरि आग्रह गरेकी हुन् ।
‘कृपया प्रतिवेदन सार्वजनिक गरिदिनुहोस् । त्यो तपाईंको जिम्मेवारी हो,’ बमले प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘न्याय पर्खिरहेका आँखाहरू तपाईंतिरै फर्किएका छन् । इतिहासले तपाईंलाई कसरी सम्झिने, त्यो निर्णय आज तपाईंकै हातमा छ ।’
आन्दोलनकर्मी बमले प्रतिवेदन पढेर आफूले आफ्नो हातमा रगत लागे–नलागेको जान्न चाहेको पनि उल्लेख गरेकी छन् । ‘प्रधानमन्त्रीज्यू, मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु । मैले सिंहदरबार जलाएको हो कि होइन, म त्यो जान्न चाहन्छु,’ उनले लेखेकी छन्, ‘म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु ।’
बमले आफूहरूको शान्तिपूर्ण आन्दोलन हिंसात्मक बन्नुको कारण पनि प्रतिवेदनमार्फत् खोजेकी छन् । ‘म यो पनि जान्न चाहन्छु कि हाम्रो शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो ?,’ उनले भनेकी छन्, ‘गोली चलाउने आदेश कसले दियो ? र सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?’
उनले माइतीघरको दुव्र्यवहारबारे पनि प्रधानमन्त्री कार्कीलाई जानकारी दिन खोजेकी छन् । ‘यो त मेरो दैनिकी जस्तै भइसकेको छ । ममाथि लगाइएका आरोपहरू, सोधिएका प्रश्नहरू र गरिएको व्यवहारको जवाफ मैले बारम्बार दिइसकेकी छु,’ बमले भनेकी छन्, ‘तर, अब त्यतिले मात्रै पुगेन, प्रधानमन्त्रीज्यू । अब हामीमाथि लागेका यस्ता आरोप र प्रश्नहरूको जवाफ तपाईंले प्रतिवेदन सार्वजनिक गरेर दिनैपर्छ ।’
प्रतिक्रिया 4