News Summary
Generated by OK AI. Editorially reviewed.- मध्यपूर्व द्वन्द्वले नेपालमा औषधि उत्पादन र आपूर्तिमा असर पार्दै कच्चा पदार्थ र प्याकेजिङ सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेको उत्पादकहरूको दाबी छ।
- नेपाल औषधि उत्पादक संघका महासचिव सन्तोष बरालले पेट्रोलियमका उपउत्पादनमा निर्भर औषधि उत्पादन लागत ४० देखि १०० प्रतिशतसम्म बढेको बताए।
- औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले मूल्य वृद्धि र आपूर्ति समस्याका कारण तोकिएको मूल्यमा औषधि उत्पादन गर्न गाह्रो भएको गुनासो आएको जानकारी दिए ।
११ चैत, काठमाडौं । मध्यपूर्व (पश्चिम एसिया) मा बढ्दो द्वन्द्वले नेपालमा औषधि उत्पादन र आपूर्तिमा प्रत्यक्ष असर पार्न थालेको छ । नेपाल औषधि उत्पादक संघ (एप्पोन) का महासचिव सन्तोष बरालले कच्चा पदार्थ र प्याकेजिङ सामग्रीको मूल्यमा अस्वाभाविक वृद्धि हुँदा औषधि उद्योगलाई मार परेको बताए ।
औषधि उत्पादनदेखि प्याकेजिङसम्म पेट्रोलियमका उपउत्पादनमा निर्भरता उच्च हुने भएकाले आपूर्ति चक्रमा समस्या आउँदा औषधि अभाव र मूल्यवृद्धि हुने बरालको भनाइ छ ।
औषधि उद्योगका अनुसार कतिपय औषधिका कच्चा पदार्थ पेट्रोकेमिकलबाट तयार हुन्छन् । पेट्रोलियमको मूल्य बढ्दा ती कच्चा पदार्थको लागत स्वतः बढ्छ । जसले औषधि उत्पादन लागतमा दबाब पर्छ र सिधा प्रभाव बजार मूल्यमा पर्न जान्छ ।
क्याप्सुल, ट्याब्लेटको कोटिङ, सिरपमा प्रयोग हुने सोल्भेन्ट, मल्हममा प्रयोग हुने जेली जस्ता सामग्री पनि पेट्रोलियमबाटै बन्ने गर्छन् । यी सामग्रीको आपूर्ति घट्दा उत्पादन नै प्रभावित हुने औषधि उत्पादकहरू बताउँछन् ।
प्याकेजिङ क्षेत्रमा पनि समस्या थपिन सक्छ । औषधि राख्ने ब्लिस्टर प्याक, प्लास्टिक बोतल, सिरिन्ज जस्ता सामग्री पेट्रोकेमिकलबाट बन्ने भएकाले आपूर्ति अवरुद्ध हुँदा वितरण प्रणालीमै असर पर्न जान्छ ।
कच्चा पदार्थदेखि तयार औषधिसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्थाले अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण नेपाली बजारमा सिधै असर गरेको महासचिव बराल बताउँछन् ।
उद्योगीहरूले औषधि उत्पादनमा ४० प्रतिशतदेखि १०० प्रतिशतसम्म लागत वृद्धि भएको उनले जानकारी दिए ।
‘पेट्रोलियम पदार्थका उपउत्पादनहरू औषधि निर्माणमा अनिवार्य हुन्छन् । स्लाइन बोतलमा प्रयोग हुने दाना, प्लास्टिकको दाना, बिर्को, औषधि प्याकेज गर्न चाहिने पीभीसी, पीभीडीसी जस्ता सामग्री सबै पेट्रोलियममा आधारित हुन्छन्,’ बरालले अनलाइनखबरसँग भने, ‘यिनको मूल्य बढ्दा औषधिको समग्र लागत ह्वात्तै बढेको छ ।’

त्यसैगरी कतिपय झोल, ट्याबेल र मल्हम औषधि बनाउन पेट्रोलियम पदार्थका उपउत्पादन चाहिन्छ ।
बरालका अनुसार औषधि बनाउन प्रयोग हुने कच्चा पदार्थ (र-मटेरियल) को मूल्य दैनिक रूपमा परिवर्तन भइरहेकाले उद्योगीहरू थप अन्योलमा परेका छन् ।
‘पहिला कञ्चा पदार्थको दुई हप्तासम्म एउटै दर रहन्थ्यो, अहिले हरेक दिन मूल्य फेरिएको छ । हिजो १०० भनिएको सामान भोलि १५० सम्म मूल्य फरक परेको छ,’ बराल भन्छन् ।
कञ्चा पदार्थको मूल्यको प्रत्यक्ष असर औषधि उत्पादनमा परेको उनको भनाइ छ । बरालका अनुसार उत्पादन लागत २५ देखि ३० प्रतिशतसम्म बढिसकेको कारण पुरानै मूल्यमा उत्पादन गर्न नसकिने अवस्था बनेको छ ।
‘कच्चा पदार्थ महँगो मात्र होइन, अभाव पनि हुन थालेको छ । मूल्य बढिरहँदा औषधि नै उत्पादन गर्न गाह्रो भइरहेको छ,’ बरालले भने, ‘जुन औषधिको मूल्य तोकिएको छ, त्यही मूल्यमा औषधिसमेत दिन नसक्ने अवस्थामा पुगेको छौं ।’
विशेषगरी स्लाइन जस्ता ‘लार्ज भोल्युम’ औषधि र अत्यावश्यक औषधिहरूमा बढी असर पर्ने देखिएको छ ।
नेपालले औषधिका कच्चा पदार्थ भारतसँगै चीन, युरोप, अमेरिका, दक्षिण कोरियालगायत देशबाट आयात गर्दै आएको छ । तर द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले सबै आपूर्ति शृंखलामा असर परेको हो ।
‘अहिले कच्चा पदार्थ आयात गर्न एलसी खोल्ने समय हो । यही बेला मूल्य अस्थिर हुँदा आगामी साउन-भदौमा उत्पादनमै ठूलो समस्या आउन सक्छ,’ बराल भन्छन् ।

नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य भने हालसम्म बजारमा औषधि आपूर्तिमा ठोस समस्या नदेखिएको बताउँछन् ।
तर, पेट्रोलियम पदार्थको मूल्य वृद्धि र आपूर्ति अस्थिरताका कारण केही औषधिका कच्चा पदार्थ (र-मटेरियल) महँगिने सूचना आएको आचार्यले बताए ।
अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्य बढ्दा औषधि उत्पादन र ढुवानी दुवै प्रभावित हुने भएकाले यसको असर नेपालसम्म आइपुग्ने निश्चित जस्तै छ ।
‘औषधि उत्पादककर्ताले लागत बढेको जानकारी दिएका छन्,’ आचार्य भन्छन्, ‘कच्चा पदार्थ र ढुवानी लागत बढ्दा औषधिको मूल्यमा पनि सामान्य वृद्धि हुन सक्छ ।’
संघले आन्तरिक रूपमा भने सम्भावित जोखिमबारे छलफल सुरु गरिसकेको छ । आयातकर्ताहरूलाई अन्य समयभन्दा बढी स्टक व्यवस्थापन गर्न सुझाव दिइएको उनले बताए ।
‘हाम्रो जिम्मेवारी सहज आपूर्ति कायम गर्नु हो, त्यसैले केही बढी स्टक राख्न भनेका छौं,’ आचार्यले भने ।
नेपालको औषधि बजारमा स्वदेशी र आयातित औषधिको हिस्सा झन्डै बराबर जस्तै भए पनि जीवनरक्षक औषधिमा भने आयातको निर्भरता अत्यधिक छ ।
‘भ्याक्सिन, इन्सुलिन, सघन उपचारमा प्रयोग हुने औषधि जस्ता क्षेत्रमा ८० प्रतिशत आयातमै निर्भर छौं,’ आचार्य भन्छन् ।
मंगलबार औषधिमा परेको प्रभावको विषयमा आयातकर्ता, नेपाली औषधि उत्पादक व्यवसायीबीच औषधि व्यवस्था विभागमा छलफलसमेत भएको थियो ।
हाल नेपाली बजारमा औषधिको औसत स्टक ४ देखि ५ महिनासम्मको रहेको संघको अनुमान छ ।
वार्षिक रूपमा नेपालले करिब ६० देखि ६५ अर्ब रुपैयाँ बराबरको औषधि आयात गर्ने गरेको छ । र, त्यति नै बराबरको औषधि स्वदेशमै उत्पादन हुन्छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय संकट लम्बिएमा आगामी दिनमा आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने संकेत देखिएको छ ।

आचार्य भन्छन्, ‘अहिले नै आत्तिनुपर्ने अवस्था छैन, तर अवस्था लम्बियो भने केही औषधिमा ढिलाइ वा महँगो हुने जोखिम भने छ ।’
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले मध्यपूर्व द्वन्द्वका कारण औषधि उत्पादक र आयातकर्ताले असर परेको गुनासो गरेको बताए ।
‘ढुवानी र कच्चा पदार्थको मूल्य बढ्दा तोकिएको मूल्यमा औषधि उत्पादन गर्न नसकिने उहाँहरूको भनाइ थियो,’ ढकालले भने, ‘कुन-कुन औषधिको मूल्य बढ्ने वा उत्पादन गर्न गाह्रो हुने विवरण नै ल्याउन भनेको छु ।’
प्रतिक्रिया 4