+
+
Shares

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित   

रासस रासस
२०८२ चैत ११ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेश सरकारको बजेट अभावका कारण म्याग्दीका बहुवर्षीय सडक आयोजनाहरूको निर्माण प्रभावित बनेको छ।
  • म्याग्दीमा चालु आर्थिक वर्षमा ३२ सडक योजनाका लागि ६२ करोड रुपैयाँ विनियोजन भएको थियो तर बजेट सकिएपछि व्यवसायीले भुक्तानी पाएका छैनन्।
  • प्रदेशसभा सदस्यहरूले बजेट अभावमा निर्माण अवधि लम्बिने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् र व्यवसायीलाई भुक्तानीको व्यवस्था मिलाउन पहल गरिरहेका छन्।

११ चैत, म्याग्दी । बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक महत्वका बहुवर्षीय सडक आयोजनाहरूको निर्माण प्रभावित बनेको छ ।

पूर्वाधार विकास कार्यालयलाई प्रदेश सरकारले बहुवर्षीय आयोजनाका लागि विनियोजन गरेको बजेट सकिएपछि व्यवसायीले भुक्तानी पाएका छैनन् । कार्यालयका अनुसार म्याग्दीमा चालु आर्थिक वर्षका सडक पूर्वाधारसम्बन्धी ३२ योजनाका लागि ६२ करोड रुपैयाँ विनियोजन भएको थियो ।

बेनी–पाखापानी सडकको भुतादैला–तोरीपानी खण्डको चार किलोमिटर दूरीमा कालोपत्र र ग्राभेल गर्ने कार्य लक्ष्यभन्दा पाँच महिनाअघिनै सम्पन्न भए पनि बजेट अभावमा भुक्तानी नपाउँदा समस्या भएको निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले बताए । दुई करोड रुपैयाँ बजेट विनियोजन भएको यो योजनाका लागि थप दुई करोड ५० लाख रुपैयाँ बजेट अपुग भएको छ ।

गलेश्वर–पुलाश्रम (पछै)– जगन्नाथ जोड्ने सडक आयोजनाका निर्माण व्यवसायी भीम सापकोटाले पनि लक्ष्यभन्दा पाँच महिनाअघिनै योजना सम्पन्न गरे पनि बजेट अभावका कारण ऋण खोजेर मजदुरको ज्याला र आपूर्तिकर्तालाई भुक्तानी दिनुपरेको गुनासो गरे । हाडेभिर–बगरफाँट–भकिम्ली र भगवती–सिजलगाउँ–बेग सडक योजनाका निर्माण व्यवसायी नीरज भण्डारीले बजेट सकिएपछि निर्माण कार्य स्थगित गरेको बताए ।

क्रमागत १७ वटा योजनाका लागि ५२ करोड र नयाँ १५ वटा योजनाका लागि १० करोड रुपैयाँ बजेट प्राप्त भएको थियो । सङ्घीय र प्रदेश सरकारको लागत साझेदारीमा गत वर्ष ठेक्का सम्झौता र यस वर्ष रु २३ करोड २२ लाख बजेट बिनियोजन भएको दरवाङ–ताकम–शिवाङ–मुना–जलजला–ढोरपाटनबाहेक धेरैजसो सडकमा बजेट अभाव भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले बताए ।

“सालबसाली योजनाहरुको ठेक्का प्रतिस्पर्धाको क्रममा घटेको करिब डेढ करोड आन्तरिक रकमान्तर र थप रु आठ करोड ४५ लाख रकमान्तरका लागि मन्त्रालयमा सिफारिस गरेका छौँ”, उनले भने, “बजेट भएका योजनामा काम नहुँदा खर्च गर्न सकिएको छैन, काम भएका योजनाको बजेट सकिएपछि व्यवसायीलाई काममा लगाउन समस्या भएको छ ।”

बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला, दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ, पखेर बरङ्जा ३ र ४ हुँदै महेश धापुङ ताराखोला गापा जोड्ने सडक, दरवाङ– मुना– ढोरपाटन, दरवाङ–बिम–दिच्याम, दरखोला सडक पुल, शिवरात्रि खोला सडक पुल, रुमदेखि ताराखोला जोड्ने सडक, दाङखोला पुल र साँवता थापाचौर झोलुङ्गे पुल निर्वाचन क्षेत्र १(२) का क्रमागत बहुवर्षीय योजनाहरू हुन् ।

निर्वाचन क्षेत्र १(क) मा बेनी–तोरीपानी, हाँडेभिर–बगरफाँट–दूधेखोला– हल्लेगौडा– डोलेमुसुङ, गलेश्वर–पिप्ले – भगवति, गलेश्वर–पुलाश्रम, चित्रे– घोडेपानी, भगवति–सिजलगाउँ–बेग जोड्ने क्रमागत बहुवर्षीय सडक निर्माणाधीन छन् ।

एक/एक करोड रुपैयाँ बजेट विनियोजन भएको बिम–मराङ–मल्कवाङ–पाखापानी, जैसीखोर–खहरेखोला–रिसिन चौतारी हुँदै बैसरी सडक स्तरोन्नति योजनाको बहुवर्षीय ठेक्का आह्वान भएको छ । एक करोड रुपैयाँ बजेट विनियोजन भएको फापरखेत पहिरोको वैकल्पिक मार्गमा पर्ने म्याग्दीखोलामा बेलिब्रिज निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान गर्न स्रोत सुनिश्चितता भएको छ ।

जिल्लाका प्रदेशसभा सदस्यद्वय रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारीले बजेट अभावमा सडकको निर्माण अवधि लम्बिने अवस्था देखिएको विषयमा प्रदेश सरकार र विभागीयमन्त्रीको ध्यानाकर्षण गराएको बताए । अपुग बजेट रकमान्तरण गरेर काम गरेका व्यवसायीलाई भुक्तानीको व्यवस्था मिलाउन सरकारसँग पहल गरिरहेको उनीहरूले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?