+
+
Shares

१६औं आवधिक योजना कार्यान्वयनमा समेटियो जेनजी आन्दोलनपछिको पुनर्निर्माण

अब तीन वटै तहले पुनर्निर्माणको कामलाई समेत प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय योजना आयोगले १६औं आवधिक योजना कार्यान्वयन कार्ययोजनामा जेनजी आन्दोलनपछिको पुनर्निर्माण समेटिएको जनाएको छ।
  • कार्ययोजनामा तीन तहले क्षतिग्रस्त सरकारी संरचना, कागजात र सम्पत्तिको अभिलेखन गरी पुनर्निर्माण प्राथमिकताका साथ गर्ने व्यवस्था गरिएको छ।
  • जेनजी आन्दोलनमा २ हजार ६ सय ७१ भवन क्षतिग्रस्त भएका र ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको आयोगले बताएको छ।

१२ चैत, काठमाडौं । १६औं आवधिक योजना कार्यान्वयन कार्ययोजनामा अब जेनजी आन्दोलनपछिको पुनर्निर्माण पनि समेटिएको छ ।

राष्ट्रिय योजना आयोगले १६औं योजना (२०८१/८२-२०८५/८६)  कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ । जसमा मन्त्रालयगत कार्ययोजना समेटिएका छन् ।

यससँगै अब तीन वटै तहले पुनर्निर्माणको कामलाई समेत प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने भएको छ । कार्ययोजना अनुसार आन्दोलन क्रममा भएको तीन तहका क्षतिग्रस्त सरकारी संरचना, कागजात तथा अन्य सम्पत्ति अभिलेखन तथा विवरण तयार गरिने भएको छ ।

सार्वजनिक सम्पत्ति, पूर्वाधार तथा निजी व्यवसायमा भएको आर्थिक तथा अन्य क्षति अध्ययन विश्लेषण गरी पुनर्निर्माणको आवश्यकता आकलन गरिने आयोगले जनाएको छ ।

पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा आवश्यक बजेट छुट्याउने कार्यनीति तय गरिएको आयोगले जनाएको छ । क्षतिग्रस्त सरकारी निकायको प्रकृति तथा क्षतिको अवस्थाका आधारमा कामको प्राथमिकता दिएर पुनर्निर्माण र प्रवलीकरणको योजना छ ।

आयोगका अनुसार ऐतिहासिक तथा पुरातात्विक महत्त्वका सार्वजनिक सम्पत्ति संरक्षण गर्न बृहत्तर योजना तर्जुमा तथा कार्यान्वयन गरिने भएको छ ।

त्यस्तै पुनर्निर्माणमा किफायती, सुरक्षित, वातावरणमैत्री र स्थानीय स्रोतसाधन र निर्माण सामग्री प्रयोगलाई प्राथमिकता दिइने समेत कार्यनीतिमा जनाइएको छ ।

प्राकृतिक विपत्ति र अन्य जोखिमबाट सुरक्षण गर्न सबै प्रकृतिका सरकारी तथा सवारीसाधनलाई बीमाको दायरामा ल्याउने समेत कार्यनीतिमा राखिएको छ ।

यस्तो छ क्षति विवरण

२३ र २४ भदौको जेनजी आन्दोलन क्रममा मानवीय क्षति तथा लुटपाट, तोडफोड, आगजनी लगायत गतिविधिबाट सरकारी संरचना एवं निजी तथा सामुदायिक सम्पत्तिमा क्षति भएको थियो ।

आयोगका अनुसार देशभरि २ हजार ६ सय ७१ भवन क्षतिग्रस्त भएका छन् । आन्दोलनमा कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

त्यसमध्ये सरकारी र सार्वजनिक सम्पत्ति ५३ प्रतिशत, निजी क्षेत्र ४० प्रतिशत र अन्य क्षेत्रमा ७ प्रतिशत बराबर क्षति भएको छ । क्षतिमध्ये भवनमा ३९ अर्ब ३१ करोड ७५ लाख, सवारीसाधनमा १२ अर्ब ९३ करोड, अन्य भौतिक सम्पत्तिमा २० अर्ब ३६ करोड र नगद तथा बहुमूल्य वस्तु २ अर्ब ८१ करोड रुपैयाँ बराबर भएको छ । अन्य अस्थायी तथा निजी सम्पत्ति ९ अर्ब २ करोड बराबर क्षति भएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?