+
+
Shares

रङ्गीचङ्गी संसद्

सांसदहरू फरक–फरक भेषभूषामा थिए । भेषभूषा जस्तै शपथमा पनि विविधता थियो । कसैले मातृभाषा त कसैले नेपाली भाषामा शपथ खाए । हिमाल, पहाड, तराई क्षेत्रको भूगोलको सुगन्ध भेषभूषा र शपथ दुवैमा झल्किन्थ्यो ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ चैत १२ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंहदरबारस्थित संघीय संसद् भवन परिसरमा १२ चैत दिउँसो २ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएका छन्।
  • यस पटक ६४ सांसदले १८ भाषामा मातृभाषामा शपथ लिएका छन्, जसले नेपालको बहुभाषिक र बहुसांस्कृतिक पहिचान झल्काउँछ।
  • निर्माणाधीन संसद् भवनको अस्थायी हलमा शपथ समारोह भएकोले व्यवस्थापनमा समस्या देखिएको र म्याद थप हुँदै आएको छ।

१२ चैत, काठमाडौं । धुलाम्य प्राङ्गण, तर हसिला र उत्साही अनुहार । विभिन्न जातजातिका भेषभूषामा सजिएका मानिसहरू । कोही एकअर्कामा नमस्कार गर्दै, हात मिलाउँदै सञ्चोविसञ्चो सोधिरहेका त कोही अंकमाल गरेर आत्मीयता साटिरहेका ।

बिहीबार सिंहदरबारस्थित संघीय संसद् भवन परिसरको दृश्य हो यो । दिउँसो २ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ थियो । निर्धारित समयभन्दा करिब १३ मिनेट ढिलो गरी शपथ समारोह सुरु भयो ।

शपथको समयभन्दा केही अगाडि नै संसद् भवन पुगेर सांसदहरू आपसमै र सञ्चारकर्मीहरूसँग गफिइरहेका थिए । शपथ सकिएपछि पनि सांसदहरू प्राङ्गणमा केही समय टहलिए ।

शपथ सकिएपछि प्राङ्गणमा सांसद गीता चौधरी आकर्षणको केन्द्र बनिन् । ‘यो मेरी आमाले बुनेको ड्रेस हो,’ उनी फरक र आकर्षक ड्रेसमा थिइन्, धेरैले घेरेपछि उनी आफ्नै पोशाकबारे बयान गर्दै थिइन् ।

‘यही पोशाकमा शपथ लिनुपर्छ भन्ने मनमा कसरी आयो ?’, अनलाइनखबरको प्रश्नमा सांसद चौधरीले भनिन्, ‘आमाले यही ड्रेस लगाएर जाऊ भन्नुभयो । लगाएर आएँ । सायद मेरी आमाले आत्मनिर्भर नेपाल चाहनुभएको होला, त्यसकारण आफैँले बुनेको ड्रेस लगाएर पठाउनुभयो ।’

आमाको चाहनाअनुसार नेपाल आत्मनिर्भर हुने उपाय के हो ? चौधरी जवाफ दिन्छिन्, ‘यो देश पनि हाम्रो आमा हो । हामी सबै मिलेर देश बनाउनुपर्छ । देशको प्रगति हुँदा हामी सबैको प्रगति हुन्छ ।’

सांसद भीमकुमारी बुढा मगर, मगरकै भेषमा थिइन् ।

‘यो पोशाक लगाएर कैयन ठाउँमा सहभागी भइयो होला । तर आजको दिनको ऐतिहासिक महत्व छ,’ उनी भन्छिन्, ‘यो पोशाकले संसद्मा मगर समुदाय पनि छ भन्ने सन्देश प्रवाह गरेको छ ।’

चौधरी र बुढा मगर जस्तै अन्य धेरै सांसदहरू फरक–फरक भेषभूषामा थिए । भेषभूषा जस्तै शपथमा पनि विविधता थियो । कसैले मातृभाषा त कसैले नेपाली भाषामा शपथ खाए । हिमाल, पहाड, तराई क्षेत्रको भूगोलको सुगन्ध भेषभूषा र शपथ दुवैमा झल्किन्थ्यो ।

सांसद प्रमोदकुमार महतो मगही पोशाकमा थिए । उनले शपथ पनि मगही भाषामै लिए । यसको महत्व दर्शाउँदै उनले भने, ‘मगही समुदाय संसद्मा पनि छ है ।’

मगही भाषाको निकटको सम्बन्ध भोजपुरी र मैथली भाषासँग छ । यसलाई देवनागरी लिपीमा लेख्ने गरिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह सिलाम साक्मा लगाएर शपथ समारोहमा सहभागी भए । सिलाम साक्मा किरात समुदायसँग जोडिएको छ ।

रास्वपा १८२ सिटसहित प्रतिनिधिसभामा छ । तर राई, लिम्बूको प्रतिनिधित्व भने रास्वपाबाट भएको छैन । यसबारे यसअघि नै रास्वपाका सभापति रवि लामिछानेले माफी मागिसकेका छन् । बिहीबार शपथमा रास्वपाकै वरिष्ठ नेता बालेन सिलाम साक्मासहित शपथ समारोहमा गए ।

किराती संस्कृतिमा सिलाम साक्मालाई शुभ संकेतको रूपमा लिइन्छ । यसलाई मृत्यु वा अपशकुनको बाटो छेक्ने पवित्र चिह्न मानिन्छ । यही कारणले गर्दा यस्तो पहिरन विशेष अवसर र धार्मिक–सांस्कृतिक सन्दर्भमा प्रयोग गरिन्छ ।

सांसद पार्वती विक पनि फरक भेषमा थिइन् । ‘यो संसद् सबै जातजाति, भाषाभाषी र भूगोलको हो भन्ने आज यस प्राङ्गणमा देखिएको दृश्यले आफैँ बताउँछ,’ उनी भन्दै थिइन्, ‘सीमान्तकृत समुदायले अपनत्व लिएको संसद् हो यो । यहाँ समावेशी समानुपातिक प्रतिनिधित्व छ । यस कारण आजको दिनको विशेष महत्व छ ।’

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यस पटक नेपाली बाहेक भाषामा शपथ लिने सांसदको संख्या ६४ छ । उनीहरूले १८ वटा भाषामा शपथ लिएका छन् ।

सांसदहरूले मैथिली, नेपाल भाषा, थारु, डोटेली, बझाङ्गी, भोजपुरी, कठरिया थारु, राना थारु, संस्कृत, छन्त्याल, मगही, बान्तवा, बज्जिका, चाम्लिङ, तामाङ, अवधि, लिम्बू, मगर खाम भाषामा शपथ लिएका छन् ।

नेपालको संविधानले नै बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई राज्यको गौरव र पहिचानको रूपमा आत्मसात गरेको छ । सबै भाषा, धर्म र सांस्कृतिक पहिचानलाई समावेश गर्दै समावेशी समाजको निर्माणमा जोड दिएको छ ।

प्रतिनिधिसभामा पनि समानुपातिक रूपमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ । १६५ जना प्रत्यक्ष निर्वाचित भएर आउँछन् । ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । ११० सिटलाई शतप्रतिशत मानेर खसआर्य, आदिवासी जनजाति, मधेशी, दलित, थारु र मुस्लिम समुदायलाई सिट आरक्षण गरिएको छ ।

संघीय संसद्अन्तर्गतकै राष्ट्रिय सभा ५९ सदस्यीय छ । दुवै सभामा जुन दलको जति सांसद् छन् त्यसको ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ ।

विविधता लडाईंका चार दशक

नेपाली बाहेकको भाषामा शपथ लिने अभ्यास नयाँ भने होइन । एक भाषा एक भेष नीति भएको पञ्चायतकालमै सांसदले मातृभाषामा शपथ लिने प्रचलन सुरु भएको थियो ।

भाषिक अधिकारकर्मी मल्ल के सुन्दरका अनुसार २०४३ सालमा राष्ट्रिय पञ्चायतमा पद्मरत्न तुुलाधरले मातृभाषामा शपथ लिएका थिए ।

सप्तरी–२ बाट निर्वाचित नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहले २०४८ सालमा हिन्दी भाषामा शपथ लिएका थिए ।

२०६३ को अन्तरिम संसद् सदस्य रहेका मल्ल के सुन्दर त्यतिबेला आफूसहित ५८ जनाले विभिन्न मातृभाषामा शपथ लिएको स्मरण गर्छन् ।

गणतन्त्रपछि नेपाली भाषाबाहेक मातृभाषामा शपथ लिनेहरू अझ बढे । २०६४ को संविधानसभामा २६४ जनाले नेपाली बाहेकका आ–आफ्ना मातृभाषामा शपथ लिएका थिए ।

त्यसबेला उनीहरूले मैथली, भोजपुरी, मगर, गुरुङ, पश्चिमी थारु, हिन्दी, नेवारी, लिम्बु, तामाङ, राई, पूर्वी थारु, उर्दु, राजवंशी, थकाली, शेर्पा, राना थारु, धिमाल, कुमाल, दार्चुला पश्चिमी भाषा, अवधी, माडवारी, जिरेल, चेपाङ, बाँतर, माझी, सुनुवार, बराम लगायतका भाषामा शपथ लिएका थिए ।

२०७० मा ३५, २०७४ मा ४६ र २०७९ सालमा २८ सांसदले नेपाली बाहेकका मातृभाषामा शपथ लिएका थिए । यस पटक नेपाली बाहेकका मातृभाषामा शपथ लिनेको संख्या केही बढेर ६४ पुगेको हो ।

भाषिक अधिकारकर्मी सुन्दर भन्छन्, ‘नेपालको जुन भाषागत विविधता हो, त्यो संसद्को संरचनामा पनि प्रतिनिधित्व होस् भन्ने सन्देश मातृभाषाको शपथले दिन्छ ।’

कमजोर व्यवस्थापन

बिहीबर शपथ ग्रहण समारोहमा सहभागीहरू जति उत्साही थिए, त्यस्तै उत्साह जगाउने व्यवस्थापन भने थिएन ।

शपथग्रहण हल छिर्ने गेट अगाडि प्राङ्गणमा धुलो उडिरहेको थियो । सांसदहरू ‘यति प्राङ्गण त धुलो नउड्ने बनाएको भए हुन्थ्यो’ भनेर असन्तुष्टि व्यक्त गरिरहेका थिए ।

सांसदहरू एउटा ढोकाबाट छिर्नुपर्ने अर्को ढोकातिर पुगिरहेका थिए । रास्वपाका वरिष्ठ नेता बालेन र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसमेत अलमलमा परे । उनीहरू जुन ढोकाबाट प्रवेश गर्नुपर्ने हो, त्यसको सट्टा अर्को ढोकामा पुगेका थिए ।

सांसदहरूलाई शपथस्थल छिर्ने ढोकामा पुर्‍याउन प्रहरीलाई हम्मे परेको थियो ।

शपथमा सहभागी हुन सांसदका परिवार र आफन्तहरू पनि पुगेका थिए । उनीहरूका लागि भुईंतलामा प्रोजेक्टर राखेर शपथको दृश्य देखाइएको थियो ।

जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जल्यो । त्यसपछि सिंहदरबारमै निर्माणाधीन संसद् भवनबाटै संसद्को काम–कारबाही सुरु भएको हो ।

निर्माणाधीन संसद् भवनमा प्रतिनिधिसभा हल र राष्ट्रिय सभा हल पूर्ण रूपमा तयार भइसकेको छैन । राष्ट्रिय सभाको हलमा सांसदका लागि कुर्सी तयार छन् र बाँकी व्यवस्थापनको काम चलिराखेको छ ।

प्रतिनिधिसभाको हल तयार नभएपछि निर्माणाधीन भवनको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रतिनिधिसभा हलको रूपमा प्रयोग गरिएको छ । जसका कारण उक्त हलमा सांसदहरूका लागि समेत ठाउँ साँघुरो थियो ।

निर्माणाधीन संसद् भवन कहिले बनिसक्छ भन्ने टुंगो छैन । सुरुको सम्झौताअनुसार काम हुन सकेको भए नयाँ संसद् भवनको निर्माण १६ असोज २०७९ मै सकिने थियो । २०७९ को चुनावबाट आउने प्रतिनिधिसभाको बैठक राख्ने लक्ष्यसहित १६ असोज २०७६ मा संसद् भवन निर्माणको ठेक्का सम्झौता भएको थियो ।

उल्लेख्य प्रगति हुन नसकेपछि १ वैशाख २०८० बाट १९ चैत २०८० सम्म समय काम सक्ने गरी दोस्रो पटक म्याद थप भयो ।

काम नसकिएपछि २० असोज २०८० देखि १९ चैत २०८० सम्म काम सक्ने गरी तेस्रो पटक म्याद थप भयो । फेरि पनि काम सकिएन । चौथो पटक १८ चैत २०८१ सम्मका लागि म्याद थपिएको थियो ।

पाँचौं पटक गत वर्ष १२ असारमा ६ महिनाका लागि म्याद थप गरिएको थियो । त्यसअनुसार गत पुस १६ मा सकिनुपर्ने काम नसकिएपछि छैटौं पटक ९० दिनका लागि म्याद थप गरेर काम भइराखेको छ ।

काम हुँदाहुँदै बिहीबार सोही भवनको बहुउद्देश्यीय हलमा सांसदहरूको शपथ गराइएको हो । जहाँ शपथ पछाडि पनि प्रतिनिधिसभाका बैठकहरू सञ्चालन हुनेछन् ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय शपथ समारोहमा व्यवस्थापनको सन्दर्भमा अथक प्रयत्न गरेको बताउँछन् ।

‘तर, नयाँ हल र अस्थायी हल भएकाले सोचे जस्तो गर्न सकिएन,’ उनी भन्छन्, ‘प्राङ्गणमा भिडभाड धेरै थियो । व्यवस्थित ढंगले राख्न सकेनौं । हलमा पनि दर्शक राख्न सकिएन । विदेशी पाहुना राख्न पनि सकिएन । ठाउँको अभाव रह्यो ।’

उनी थप्छन्, ‘जति गरियो त्यो गर्ने मान्छेले भन्नुभन्दा अनुभव गर्नेले मूल्यांकन गर्ने विषय भयो । प्राप्त सुझावका आधारका आगामी दिनमा अगाडि बढ्ने छौं ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?