१३ चैत, काठमाडौं । केहीबेरमा शपथ हुने तयारीमा रहेका प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्बाट गर्ने निर्णयहरुको तयारी थालेका छन् । बालेनको सचिवालय सम्वद्ध स्रोतका अनुसार, त्यसका लागि विभिन्न मन्त्रालयहरुबाट गर्न सकिने कामहरूको विवरण संकलन भइरहेको हो ।
मुख्यसचिव सुमन अर्यालको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहिलो मन्त्रिपरिषद्बाट गर्न सकिने जनमुखी कामहरुको विवरण पठाउनु भनी सबै मन्त्रालयहरुमा पत्राचार गरेको थियो ।
‘तत्काल र छिटोछरितो रुपमा के कस्तो कामहरु गर्न सकिने छन्, त्यसको विवरण संक्षिप्त रुपमा पठाउनु भनेर आएको पत्रका आधारमा हामीले विवरणहरु पठाएका छौं’ एक मन्त्रालयका सचिवले अनलाइनखबरसँग भने, ‘त्यहाँबाट छानिएका र उपयुक्त लागेका प्रस्तावहरु समावेश गरेर मन्त्रिपरिषद्ले निर्णय गर्ने योजना रहेछ ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्वद्ध स्रोतका अनुसार, संकलन गरिएका योजना र कार्ययोजनाहरू बालेन शाहको सचिवालयमा पठाइएको छ । त्यहाँ उनको विज्ञको टिम र अरु निजामती कर्मचारीहरूले उपयुक्त लागेका प्रस्तावहरू छानेर निर्णय गर्ने योजना छ ।
स्रोतले भन्यो, ‘हामीले पठाएका विवरणमध्ये कुनकुन छानिन्छन् भन्ने त प्रधानमन्त्रीज्यू र उहाँको टिमले नै निर्क्यौल गर्ला, त्यसका आधारमा मन्त्रिपरिषद् बैठकले निर्णय लिने हो ।’ सबै मन्त्रालयहरुले एक/दुई पेजमा तत्काल गर्न सकिने काम, त्यसले आम जनमानसमा पार्ने प्रभाव र अरु सम्भावनाहरूको संक्षिप्त विवरण पठाएका छन् ।
स्रोतका अनुसार, केही मन्त्रालयहरू गाभेर छरितो र प्रभावकारी बनाउने, जनतासँग जोडिएका पासपोर्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र जस्तो सेवा प्रभावकारी बनाउने लगायतका विषयमा काम गर्ने योजना छ । त्यसैगरी शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रसँग सम्बन्धित प्रस्तावका विवरण पनि समावेश भएको स्रोतले बतायो ।
अघिल्लो हप्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तयार पारेको सुशासन मार्गचित्र(गुड गभर्नेन्स ब्लु प्रिन्ट) पनि बालेनको सचिवालयमा पुगिसकेको छ । विगतको भ्रष्टाचार अनुसन्धान एवं गैरकानूनी सम्पत्तिआर्जनका विषय छानविनको योजनावारे पनि छलफल भएको स्रोतले बतायो ।
‘तर कस्ता विषय अहिले नै निर्णय हुन्छन्, कस्ता विषय छलफलपछि अर्को पटक प्रस्तुत हुन्छ भन्नेबारेमा कुनै टुंगो लागेको छैन’ प्रधानमन्त्री कार्यालयसम्वद्ध स्रोतले भन्यो, ‘पहिलो मन्त्रिपरिषद्को सबै प्रस्ताव र निर्णयहरु नवनियुक्त प्रधानमन्त्रीज्यूबाट तय हुने अनुमान गरेका छौं ।’
प्रतिक्रिया 4