News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह र सभापति रवि लामिछानेबीच गृहमन्त्रीको नाममा मतभेद हुँदा सुधन गुरुङ गृहमन्त्री नियुक्त भएका छन्।
- सुधन गुरुङले जेनजी आन्दोलनको नेतृत्व गरेका थिए र अहिले गृहमन्त्री भएर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी पाएका छन्।
- गृहमन्त्री सुधनले एकद्धार प्रणालीबाट सेवा दिने निर्णय गरेका छन् र भीआईपीको नाममा हुने लावालस्कर गाडी हटाउन निर्देशन दिएका छन्।
१३ चैत, काठमाडौं । रास्वपाका वरिष्ठ तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) को मन्त्रिपरिषद्मा को गृहमन्त्री बन्ने चर्चा केहि दिनयता व्यापक थियो ।
बालेन आफैं आफ्ना विश्वासपात्र समेत रहेका तथा महानगरमा सँगै काम गरेका सुनिल लम्साललाई गृहमन्त्री बनाउन चाहेको विषय बाहिरियो । तर, रास्वपा सभापति रवि लामिछाने भने पार्टीका उपसभापति डीपी (डोलप्रसाद) अर्याललाई गृहमन्त्री बनाउन चाहेको विषय सार्वजनिक भयो ।
यद्यपी गृहमन्त्री को बन्ने वा क-कसको सम्भावना छ भन्ने विषयमा रास्वपाले भने औपचारिक रुपमा केही बालेको थिएन ।
रवि र बालेन दुबै पक्षले आ-आफ्नो अडान कायम राख्दा गृहमन्त्रीको टुंगो भने अन्तिम समयमा लाग्यो । किनकी, गृहमन्त्रीको कुनै चर्चा मै नआएका सुधन गुरुङ गृहमन्त्री बन्नुले अन्तिम समयको निर्णय गरेको बुझ्न सकिन्छ ।
मन्त्री नियुक्त हुने अघिल्लो (बिहीबार)बाट गृहमन्त्रीको नाममा सुधनको चर्चा भएको थियो । कतिपयले रवि–बालेनले आ–आफ्नो अडान राख्दा उनीहरु दुबैलाई मिलाउन भूमिका खेलेको र जेनजी आन्दोलनको अगुवा समेत रहेका सुधनले बाजी मारेको विश्लेषण गरेका छन् ।

हरेक पटक मन्त्रिपरिषद् गठन हुँदा निकै आकर्षक र बलियो मानिने गृहमन्त्री को बन्ने भन्ने चर्चा हुने गर्छ । देशभरको शान्ति सुरक्षाको जिम्मा, ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु, करिब ८० हजार फौजको नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागजस्ता महत्वपूर्ण संरचनाको कमाण्ड गृहले गर्छ ।
जसकारण गृहमन्त्रीलाई निकै पावरफुल मन्त्रीको रुपमा लिइन्छ । प्रधानमन्त्रीपछि सबैभन्दा आकर्षक र शक्तिशाली मानिने गृहमन्त्रालयको कमाण्ड सम्हालेकाले सुधनको शक्तिको मापन यसबाट पनि गर्न सकिन्छ ।
अर्कोतर्फ उनी बालेन सरकारको वरीयतामा पनि तेस्रो नम्बरमा छन् । अर्थात् मन्त्रीहरूको वरीयतामा उनी अर्थमन्त्री स्वर्णिम वाग्लेपछिको छन् । यसबाट पनि सुधन अहिलेका मन्त्रिपरिषद्का शक्तिशाली मन्त्री हुन् भन्ने बुझिन्छ ।
गृहमन्त्रीको जिम्मेवारी सम्हालेका गुरुङको पृष्ठभूमि भने सामाजिक सेवा देखिन्छ । विशेषगरी २०७२ को भूकम्पमा उनी राहत र उद्दारमा खटिएका थिए । त्यसअघि उनी नाइट क्लबमा काम गर्थे । फरक पृष्ठभूमिका उनै सुधनले अहिले निकै शक्तिशाली रहेको गृहमन्त्रालयको जिम्मेवारी सम्हालेपछि कतिपयले आश्चर्य पनि व्यक्त गरेका छन् ।
अहिले गृहमन्त्री बनेका सुधन गुरुङ भने जेनजी आन्दोलनपछि चर्चामा आएका व्यक्ति हुन् । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा उनी ‘हामी नेपाल’ नामक संस्थाबाट आबद्ध भएका थिए ।
उमेर जेनजी नभएका उनी त्यतिबेला सुरुमा आफूलाई स्वयंम सेवकको रुपमा चिनाउँथे । अन्ततः उनले जेनजी, उनीहरुका परिवारहरुलाई समेट्ने काम गरे । र, जेनजी आन्दोलनको स्वामित्व लिए ।
जेनजी आन्दोलनपछि अन्तरिक सरकार गठन गर्नेक्रममा नेपाली सेनासँग वार्ता गर्ने मुख्य व्यक्ति पनि सुधन थिए । सुधनकै नेतृत्वमा जेनजीहरुले प्रधानसेनापति अशोकराज सिग्देलसँग पटक–पटक वार्ता गरेका थिए ।
त्यसपछि डिस्कर्डबाट चुनिएका सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो । गृहमन्त्रीमा भने ओम प्रकाश अर्याल नियुक्त भए ।
त्यसपछि भने सुधनले जेनजी आन्दोलनमा राज्य पक्षबाट भएका हत्या घटनामा संलग्नहरूलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखे ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने सुधनले आवाज उठाए । गृह मन्त्रालयले भने यसमा कुनै तदारुकता नदेखाएको भन्दै उनी ओमप्रकाश अर्यालसँग असन्तुष्ट बनेका थिए ।

‘अहिलेको सरकार खाली चुनाव-चुनाव मात्रै भनेको छ । चुनाव गराउने जेनजी आन्दोलन भएको हो ? हाम्रा भाइबहिनी मार्नेलाई खोई कारबाही ?, खोई सुशासन ?’ जस्ता प्रश्न गर्दै गृहमन्त्रीको आलोचना गर्थे ।
अझ सुरुमा त प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, त्यसका लागि बरु केही समय संसद ब्युत्याउन सकिने अनि मात्रै चुनावमा जानुपर्ने धारणा राख्थे । पछिल्लो समय भने प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री नेपालका लागि ठिक नहुने बताउँदै आएका थिए ।
चुनावी सरकारले जेनजी आन्दोलनको मर्म पूरा गर्न नसक्ने भन्दै उनी आफैं राजनीतिमा होमिने निचोडमा पुगेका थिए ।
गत १० पुसमा ललितपुरको एक घरमा रवि-बालेनबीच वार्ता हुँदा बाहिरबाट ताला लगाउँदै सुधनले मिलेर आएपछि मात्रै ताला खोल्ने बताएका थिए । रवि-बालेनलाई मिलाउन मुख्य भूमिका खेलेका सुधनको नाम बालेनबाट आएपछि जेनजी आन्दोलनको मर्म पनि समेटिने भन्दै अन्तिम समयमा रवि सहमत भएको बताइन्छ ।
हिजो चुनावी सरकारले काम गर्न नसकेको, जेनजीलाई न्याय दिन नसकेको भन्दै प्रश्न गरिरहेका सुधनलाई अब गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने चुनौती थपिएको छ ।
शुक्रबार मन्त्रालयमा कार्यभार सम्हालेपछि निर्देशन दिनेक्रममा गृहमन्त्री गुरुङले प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ संकेत गरेका छन् । ‘कार्यान्वयनको निर्णय भएपछि प्रतिवेदनको आधारमा कारबाही अघि बढ्छ’ सुधनले कार्यभार सम्हाल्दै भएका छन् ।

जेनजीको जनादेश कार्यान्वयन गर्ने भन्दै जेनजी आन्दोलनका शहीदलाई नर्बिसन भन्दै सुधनले एक मिनेट मौन धारण समेत गर्न लगाएका थिए । त्यसअघि कार्यभार सम्हाल्ने बित्तिकै पहिलो भेट पनि जेनजीहरुसँगै गरेका थिए ।
जेनजी आन्दोलनका घाइते बैशाखी टेकेर सुधनलाई भेट्न मन्त्रालय पुगेका थिए भने जेनजी आन्दोलनका शहिद रसिक खड्काकी आमा तथा रास्वपा सांसद रचनाले पनि मन्त्रालय पुगेर सुधनलाई भेट गरेकी थिइन् ।
लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
कार्यभार सम्हाल्दै गर्दा सुधनले पहिलो निर्णयको रुपमा एकद्धार प्रणालीबाट काम गर्ने निर्णय गरेका छन् । एक ठाउँमा आवेदन दिएपछि त्यहीबाट सबै काम सकिनुपर्ने उनको भनाइ छ ।
‘अब यो झ्याल, त्यो झ्याल, पल्लो कोठा भनेर दुख हैरानी दिनु हुँदैन । एक ठाउँमा निवेदन दिएपछि नागरिक सबै सेवा त्यहाँबाट पाउनु पर्यो’ सुधनको भनाइको आशय छ ।
भीआईपीको नाममा हुने लावालस्कर गाडीको ताँतीले नागकिरलाई दु:ख दिएको भन्दै त्यो तुरुन्त हटाउन पनि उनले निर्देशन दिएका छन् । यो निर्देशन लगत्तै मन्त्री सुधन आफैं निजी कार आफैंले चलाएर मन्त्रालयबाट बाहिरिएका थिए ।
गृहमन्त्रालयलाई अन्य मन्त्रालय भन्दा निकै चुनौतीपूर्ण मानिन्छ । सरकारको सफलता, असफलतादेखि नागरिकले महसुस गर्ने कामहरू यही मन्त्रालयमा जोडिएका हुन्छन् । दैनिक शान्ति सुरक्षाका कामकारबाहीदेखि अपराध अनुसन्धान, कानून कार्यान्वय, भ्रष्टाचार, बेथितिको नियन्त्रणलगायतका कामहरु पनि यही मन्त्रालयमा जोडिएको हुन्छ ।
मन्त्रालयको संरचनागत विवरण र कामकारबाहीबारे संक्षिप्त जानकारी गराउँदै गृहसचिव राजकुमार श्रेष्ठले यो मन्त्रालयसँग अवसर र चुनौती दुवै रहेको सुनाए । गृहसचिव श्रेष्ठले भनेजस्तै चुनौतीमा अवसरमा बदलेर सुधन कति सफल हुन्छन् भन्ने विषय भने उनको आगामी कामहरुले नै बताउनेछ ।
प्रतिक्रिया 4