News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार बिहान पक्राउ गरी त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
- ओलीको मुटु र मिर्गौला रोग विशेषज्ञ टोलीले निगरानीमा राखेर उपचार गरिरहेका छन् र विभिन्न परीक्षणहरू भइरहेको छ।
- संक्रमणको जोखिमका कारण अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको चिकित्सकले बताए।
१४ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचार भइरहेको छ । शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा प्रारम्भिक केही परीक्षण गरिएपछि चिकित्सकको सल्लाह अनुसार नै भर्ना गरिएको थियो ।
ओली अहिले ‘एनेक्स वान’को ५०१ बेडमा उपचाररत छन् । थप स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ ।
उपचारमा संलग्न एक चिकित्सकका अनुसार ओलीको स्वास्थ्य अवस्थाबारे अहिले विभिन्न शारीरिक परीक्षण भइरहेका छन् ।
ओलीलाई मिर्गौला र मुटु रोग विशेषज्ञ टोलीले निगरानीमा राखेर उपचार गरिरहेका छन् । ‘बिहान अस्पताल आउँदा उहाँको मुटुको चाल बढेको थियो,’ ती चिकित्सकले अनलाइनखबरसँग भने, ‘पेट पनि दुखेको भन्नु भएको थियो ।’
एक्सरे गर्दा भने पेटमा ढुंगा रहेको पाइएको ती चिकित्सकले बताए । उक्त ढुंगाका कारण पेट दुखेको हुनसक्ने ती चिकित्सकले बताउँछन् । अहिले पेट रोग विशेषज्ञ हेरिरहेका छन् ।
मुटुको अवस्था बुझ्न ‘इको’ परीक्षण गरिएको छ । मिर्गौलासम्बन्धी जाँच पनि भइरहेको छ ।
दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका ओलीले नियमित रूपमा प्रत्यारोपणपछिको औषधि (इम्युनोसप्रेसिभ) सेवन गरिरहेका छन् ।
साथै मुटु एन्जियोप्लाष्टिक गरेका कारण सम्बन्धी औषधि, एन्टिबायोटिक र थाइरोइडको औषधि पनि चलिरहेको ती चिकित्सकले बताए ।
प्रत्यारोपण गराएका बिरामीमा संक्रमणको जोखिम उच्च हुने भएकाले अस्पतालको क्याबिनमा राखेर निगरानीसहित उपचार भइरहेको चिकित्सक बताउँछन् ।
‘अहिले मुटु र मिर्गौलाको थप परीक्षणकै गरिहरेका छौँ । सबै परीक्षणको रिपोर्ट आएपछि डिस्चार्ज गर्न सकिने कि थप राख्नुपर्ने भन्न सकिन्छ,’ ती चिकित्सक भन्छन् ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरीले पूर्व प्रधानमन्त्री ओलीलाई आज बिहान गुण्डु निवासबाट पक्राउ गरेको थियो । तत्कालीन गृहमन्त्री रमेश लेखक पनि आजै पक्राउ परेका छन् ।
आज शनिबारको दिन सार्वजनिक बिदा भएकाले उनीहरूलाई आइतबार मात्रै अदालत पेस गर्ने तयारी छ ।
प्रतिक्रिया 4