+
+
Shares

१६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन रुपन्देहीमा हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते ८:१२

१५ चैत, बुटवल । ‘दिगो पशुधन र खाद्य सुरक्षाको लागि स्वास्थ्य मार्ग’ भन्ने मूल नारासहित रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन–२०२६ हुने भएको छ ।

नेपाल भेटेरिनरी एशोसियसन ९एनभीए०को आयोजनामा नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले चैत २७ र २८ गते मणिग्राममा सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने, ७ भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहने शनिबार आयोजित  पत्रकार सम्मेलनमा एशोसियसनका अध्यक्ष डा.केदार सुबेदीले बताए । सम्मेलनमा १५ भन्दा बढी अन्तर्राष्ट्रियस्तरबाट आमन्त्रित वक्ताहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

सम्मेलनले मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई वैज्ञानिक तथा व्यवहारिक दृष्टिकोणबाट उजागर गर्ने लक्ष्य राखेको सुवेदीको भनाइ छ ।

सम्मेलनमा पशु सेवा विभागका तर्फबाट समग्र पशुपन्छी क्षेत्रको वर्तमान अवस्था तथा आगामी कार्यदिशा सम्बन्धी बृहत् नीतिगत प्रस्तुति रहने र विभिन्न क्षेत्र तथा थिम अनुसारका कार्यपत्रहरू प्रस्तुत गरिने सुवेदीले बताए । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित विज्ञहरूद्वारा विशेष प्रस्तुतिहरू राखिने कार्यक्रम छ’, अध्यक्ष डा. सुवेदीले भने, ‘विभिन्न देशका प्रतिष्ठित विज्ञहरूले पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा, जलवायु परिवर्तन तथा नवीन प्रविधि सम्बन्धी विषयहरूमा आफ्नो प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ ।’

सम्मेलनका प्रमुख आकर्षणहरूमा प्राविधिक सत्रहरू, अनुसन्धान प्रस्तुतिहरू, प्यानल छलफल तथा अनुभव आदानप्रदान कार्यक्रमहरू समावेश गरिएको एनभीएस लुम्बिनीका अध्यक्ष डा.भरत काफ्लेले बताए ।

‘सम्मेलनमा पशुपन्छी क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा प्राविधिक क्षेत्रमा गर्नुपर्ने सुधार, नीतिगत सुदृढीकरण तथा नयाँ सरकारलाई आवश्यक नीतिगत सुझाब प्रदान गर्ने विषयमा व्यापक छलफल हुने व्यवस्था गरिएको छ’, डा.काफ्लेले भने, ‘अर्थतन्त्र र रोजगारीको प्रमुख आधारको रूपमा रहेको पशुपन्छी क्षेत्रमा विद्यमान समस्या, चुनौती तथा सुधारका उपायहरूबारे विस्तृत बहस समेत गरिनेछ ।’

विद्यार्थीहरूको क्षमता विकासलाई प्रोत्साहन गर्न ‘स्टुडेन्ट पोस्टर प्रतियोगिता’ आयोजना गरिएको । साथै, पशु स्वास्थ्य क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान पुर्‍याएका अनुभवी पशु चिकित्सकहरूलाई विशेष सम्मान तथा राष्ट्रिय स्तरका विभिन्न पुरस्कारहरू प्रदान गरिने कार्यक्रम रहेको एनभीएका महासचिव डा.शंकर न्यौपानेले बताए ।

सम्मेलनमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह र सम्बन्धित निकायहरूका साथै खाद्य र कृषि संगठन (एफएओ), अमेरिकी भटमास निर्यात परिषद्, नेपाल भेटेरिनरी काउन्सिल, हेफर इन्टरनेशनल, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, कृषि तथा वन विज्ञान विश्वविद्याल, हिकास्ट कलेज काठमाडौं तथा एनपीआई कलेज चितवन लगायतका संस्थाहरूले सहकार्य गरेका छन् ।

सम्मेलनमा करिब ५ सय जना पशु चिकित्सकहरूको उपस्थिति रहने अनुमान गरिएको डा. न्यौपानेले बताए । सम्मेलनले नेपालमा पशु स्वास्थ्य, अनुसन्धान तथा नवीन प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

साथै एक स्वास्थ्य अवधारणालाई व्यवहारमा उतार्दै पशुपालन र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै भविष्यका लागि सशक्त मार्गनिर्देशन प्रदान गर्ने विश्वास लिइएको छ । ५५ वर्ष अघि स्थापना भएको संस्थामा दुई हजार ५ सय बढी भेटेरिनरी चिकित्सकहरु आबद्ध छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?