१५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी थालिएको छ ।
ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन लागिएको हो ।
शनिबार बिहानै गुन्डुबाट पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
शनिबार साँझ र आज बिहान उनको स्वास्थ्य परीक्षण गर्दा डुलाउनको साटो उनलाई अस्पतालमा राख्न चिकित्सकहरुले सुझाव दिएका थिए ।
चिकित्सकहरुको सुझावअनुसार सरकारी वकिल कार्यालयले भिडियो कन्फ्रेसिङका माध्यमबाट उनलाई अदालतमा उपस्थित गराउने तयारी थालेको स्रोतको भनाइ छ ।
ओली प्रधानमन्त्री हुँदाका महान्यायाधिवक्ता रमेश बडालले ओलीलाई अदालत पेस गर्न कठिन हुने देखिएकोले भिडियो वा भर्चुअल माध्यमबाट उपस्थित गराइने जानकारी दिए ।
शनिबार नै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ ।
ओली र लेखक दुवै जना भदौ २३ गते भएको जेनजी आन्दोलन दमन गरेको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका हुन् ।
ओली र लेखक पक्राउ परेको विरोधमा प्रदर्शन हुन लागेकोले अहिले काठमाडौं जिल्ला अदालत, जिल्ला प्रहरी परिसर काठमाडौं आसपासका क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया 4