+
+
Shares

‘बुलिस ट्रेन्ड’ लिएको सेयर बजारमा किन डराए लगानीकर्ता ?

रास्वपा नेतृत्वको सकारले पुराना राजनीतिक दललाई तर्साउने, शासकीय स्वरूपमा सेयर बजारलाई बेवास्ता गर्ने तथा सम्पत्ति शुद्धीकरणको विषयलाई प्राथमिकता दिएसँगै धितोपत्र सूचकमा उच्च अंकको गिरावट देखिएको हो ।

भुवन पौडेल भुवन पौडेल
२०८२ चैत १७ गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पुराना राजनीतिक दललाई तर्साउने र सम्पत्ति शुद्धीकरणमा अघि बढ्दा सेयर बजारमा उच्च अंकको गिरावट आएको छ।
  • नेकपा एमाले अध्यक्ष र पूर्व गृहमन्त्री पक्राउ परेपछि र एमालेको सडक आन्दोलनले राजनीतिक स्थिरतामा अन्योलता बढेपछि सेयर लगानीकर्ता त्रसित भएका छन्।
  • नेपाल स्टक एक्स्चेन्जको नेप्से परिसूचक बुलिस ट्रेन्डमा भए पनि सरकारले गरेको निर्णयले बजारमा करेक्सन आवश्यक भएको विज्ञहरूले बताएका छन्।

१७ चैत, काठमाडौं । जेनजी आन्दोलनपछि राजनीतिक स्थिरता आउने क्रमसँगै सेयर बजारले ‘बुलिस ट्रेन्ड’ समाए पनि यो साता अस्वाभाविक गिरावट देखिएको छ ।

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनबाट करिब दुई तिहाइ जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सकारले पुराना राजनीतिक दललाई तर्साउने, शासकीय स्वरूपमा सेयर बजारलाई बेवास्ता गर्ने तथा सम्पत्ति शुद्धीकरणको विषयलाई प्राथमिकता दिएसँगै धितोपत्र सूचकमा उच्च अंकको गिरावट देखिएको हो ।

नयाँ जनादेश लगत्तै गठन भएको सरकारले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार नै पक्राउ गर्‍यो । त्यसपछि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्‍यो । साथै, केही शीर्ष नेताहरूमा सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु गरेपछि त्यसको नकारात्मक असर सेयर बजारमा देखिएको हो ।

यो साता आइतबार र सोमबार मात्रै सेयर बजार सूचक १ सय १९ अंकले घटेको छ । त्यसका साथै नेकपा एमालेले सडक आन्दोलन गरेको हुनाले पनि राजनीतिक स्थिरता कायम हुने/नहुने अन्योल बढेसँगै सेयर लगानीकर्ता त्रसित हुँदा सेयर बजारमा उच्च अंकको गिरावट आएको सरोकारवालाको बुझाइ छ ।

तर, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकले बुलिस ट्रेन्ड लिएको हुनाले दिगो वृद्धिका लागि करेक्सन पनि आवश्यक हुने विज्ञको भनाइ छ ।

त्यसका साथै चुनाव हुने भन्ने पक्कापक्की भएपछि सेयर बजार सूचक सकारात्मक भए पनि निर्वाचनपछि बजार नकारात्मक हुने गरेको विगतका नजिरले देखाएको छ । तर, यसपालि भने एउटै पार्टीले करिब दुई तिहाइ नजिकको जनादेश पाएको हुनाले राजनीतिक स्थिरता आउने अपेक्षा सेयर लगानीकर्ताको थियो ।

सरकारले पुराना राजनीतिक पार्टीलाई गरेको व्यवहारका कारण बजारले विरोध जनाएको एक लगानीकर्ताले बताए । ‘बजार दीर्घकालीन सुधारको बाटोमा देखिएको छ,’ ती लगानीकर्ताले भने, ‘अहिले नेप्से घटेको सरकारका पछिल्ला केही निर्णयका कारण हो, यसले बजारमा केही समय असर गर्ने भए पनि आगामी दिन बजार बढ्ने नै हो ।’

विगतका निर्वाचन र ठूला राजनीतिक परिवर्तन हेर्दा बजारले नयाँ उचाइ बनाउने र बियरिस ट्रेन्ड समाउने गरेको छ । नेकपा माओवादी सशस्त्र विद्रोहपछि शान्तिपूर्ण राजनीतिमा आई २०६४ सालको चुनावमा सहभागी भएको थियो । त्यो निर्वाचनपछि २०६५ भदौ १५ मा नेप्से ११७५.३८ अंकको उच्च बिन्दुमा पुगेको थियो । त्यसपछि निरन्तर घट्दो क्रममा गई नेप्से २०६८ असार २८ मा २९१ बिन्दुमा झरेको थियो ।

त्यसैगरी २०७२ सालमा नयाँ संविधान जारी भएपछि सेयर बजार सूचकले २०७३ साउनमा १८८१ बिन्दुको नयाँ उचाइ बनाएको थियो । त्यसपछि २०७४ मंसिरमा चुनावपछि बजारले बियरिस ट्रेन्ड लिएको थियो ।

घट्दो क्रममा रहेको सेयर बजार सूचक ११ सयको लाइनसम्म आएको थियो । त्यो बियरिसपछि बुलिस ट्रेन्ड समाएको नेप्से सूचक २०७८ साउन ३ मा हालसम्मकै उच्च बिन्दु ३१९९.०२६ अंक पुगेको थियो । त्यसपछि भने धितोपत्र बजार सूचकले नयाँ उचाइ बनाउन सकेको छैन ।

२०७८ साउन ३ मा नेप्सेले बनाएको सेयर बजार सूचकले त्यसपछि बियरिस ट्रेन्ड लियो । यसैबीच २०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो । त्यसपछि २१ फागुनमा निर्वाचन भयो ।

निर्वाचनमा रास्वपाले करिब दुई तिहाइको जनादेश पाएको अवस्था छ । चुनावको नतिजापछि धितोपत्र बजारमा केही रौनक आएको छ, तर त्यसले निरन्तरता पाउँछ वा पाउँदैन भन्नेमा लगानीकर्ता अन्योलमा छन् ।

बलियो सरकार बन्छ भन्ने अनुमान निर्वाचनअघि सेयर लगानीकर्र्ताले अनुमान गरिसकेको र सोही अनुसार बजारले पनि प्रतिक्रिया जनाइसकेको सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले बताए ।

‘अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले नै हुने लगानीकर्ताले पहिले पक्कापक्की गरिसकेका थिए,’ पौडेलले भने, ‘सेयर बजारले घटना घट्नुभन्दा अघि नै प्रतिक्रिया जनाउँछ, घटना घट्दा बजारले करेक्सन देखाउने गरेको छ ।’

सम्भावित घटनाको अनुमानमा बजार घट्ने वा बढ्ने पौडेलले बताए । ‘घटना भएपछि हुने करेक्सन नै हो,’ उनले भने, ‘अहिले, जुन लेभलमा, जुन गतिमा, करेक्सन भइरहेको छ, त्यसको कारण भनेको सरकारका पछिल्ला निर्णयले सडमा मान्छे आएको हुनाले पनि हो ।’

सडक संघर्ष गरेको राजनीतिक शक्ति, पुराना राजनीतिक पार्टी सशंकित भएकाले पनि बजारमा उच्च अंकको गिरावट आएको अर्का एक लगानीकर्ताले बताए । त्यसको असर सेयर लगानीकर्तामा पनि देखिँदा बजारा नकारात्मक भएको ती लगानीकर्ताले बताए ।

‘सेयर लगानीकर्ता आत्तिएको अवस्था हो, तर अहिलेको करेक्सन, बुलिस ट्रेन्डउन्मुख बजारमा आएको करेक्सन हो,’ उनले भने, ‘बजारले बुलिस ट्रेन्ड लिनका लागि पनि करेक्सन हुनुपर्छ, बुलिस ट्रेन्ड लामो समय कायम रहनका लागि पनि यस्तो करेक्सन आवश्यक छ ।’

सेयर बजार सूचक दिनहुँ बढ्यो भने वृद्धि धेरै टिकाउ नहुने उनको भनाइ छ । ‘अस्ति भर्खर २६००, २७०० को बजार २९५० बिन्दुसम्म पुग्यो, बजारको यो साताको करेक्सनले आत्तिनुपर्ने, अप्ठ्यारो अवस्था आयो भन्न मिल्दैन,’ उनले भने ।

सेयर बजार भनेको सरकारका नीति–नियमप्रतिको भोटिङ रहेको ती लगानीकर्ता बताउँछन् । ‘सरकारले आज निर्णय गर्छ, त्यो भोलिपल्ट नै बजारले स्वीकार वा अस्वीकार गरेको स्पष्ट देखिन्छ,’ उनले भने, ‘एकैचोटि मान्छे थुनेको, धरपकड गर्ने निर्णलाई बजारले अस्वीकार गरेको हो, रानीतिज्ञको धरपकड हुँदैनथ्यो भने सेयर बजार सूचक आज ३००० काटिसक्थ्यो ।’

त्यस्तै सरकारले शासकीय सुधारमा सबैभन्दा बढी बेथिति र विसंगति भएको पूँजीबजार समेट्न पर्छ भन्ने नसोच्दा पनि लगानीकर्ता निराश भएको ती लगानीकर्ताको बुझाइ छ ।

चुनावभन्दा अगाडि धितोपत्र बजारको गति ठिकै रहेको नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीले बताए ।

चुनावपछि नेकपा एमालेको आन्दोलन, सम्पत्ति शुद्धीकरणका विषय अघि बढेपछि सेयर लगानीकर्तामा त्रास पैदा गरेको गिरीको भनाइ छ ।

‘सिंगल अकाउन्टिङ सिस्टमको कुराले पनि लगानीकर्ता स्पष्ट नहुँदा बजार नकारात्मक भएको हो,’ गिरीले भने, ‘तर, बजारमा त्यसरी डराउनुपर्ने वा सरकारका गतिविधि देखेर सेयर लगानीकर्ताले आफ्नो लगानी सुरक्षति नभएको महसुस गर्नुपर्ने अवस्था होइन, अब राजनीतिक स्थिरता, सस्तो ब्याजदर खुकुलो कर्जा नीति, निजी क्षेत्रमैत्री सरकारी नीतिबाट लगानीकर्ताले मनोबल कमजोर बनाउनुपर्ने देखिँदैन ।’

सेयर बजारमा यो साताको सुरुवातीमा देखिएको गिरावट आगामी दिनमा पनि कायम रहनुपर्ने कारण नभएको गिरीको भनाइ छ ।

‘एक–दुई दिन हो, त्यसपछि बिस्तारै यो सेटल डाउन भएर जान्छ, बजारले पनि आफ्नो गति लिन्छ, फाइनान्सियल कारोबारको एउटै पोर्टल बनाउँदा सम्पत्ति शुद्धीकरणको आइडेन्टिफाई गर्न सजिलो हुन्छ भन्ने हिसाबले सरकार अघि बढेको देखिन्छ,’ गिरीले भने, ‘यी विषयमा लगानीकर्ता स्पष्ट नहँुदा अन्योल देखिएको हो, बजारले बुलिस ट्रेन्ड लिएको हुनाले बजार करेक्सन हुँदै अघि बढेको खण्डमा सुधार टिकाउ हुन्छ ।’

यो साताको पहिलो दिन आइतबार ७१.०५ अंक घटेको नेप्से सूचक सोमबार ४७.७१ घटेको छ । गत साता अन्तिम दिन बिहीबार २९५१ अंक पुगेको नेप्से सूचक सोमबार २८३१.३९ अंकमा झरेको छ । नेप्से सुचक घटे पनि कारोबार रकम १५ अर्ब हाराहारीमा कायम रहँदा बजार सकारात्मक नै हुने अनुमान गर्न सकिन्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?