१८ चैत, काठमाडौं । ललितपुर लगनखेल आसपासका सामुदायिक कुकुरलाई खाना खुवाउँदै आएका छन्, मनोज शाक्य । मंगलबजारदेखि इन्द्रचोक क्षेत्रसम्म करिब ६० भन्दा बढी कुकुरलाई उनले खाना दिने गरेका थिए । बेलाबखत कुकुरको औषधि उपचार पनि गर्दै आएका थिए ।
उनैको रेखदेखमा रहने एउटा कुकुरलाई भने एक व्यक्तिले घाँटीमा समातेर भुइँमा पछार्दै हत्या गरे । सो कुकुर जन्मिएदेखि नै मनोजले स्याहार्दै आएका थिए । आफूले सन्तान जसरी हुर्काएको कुकुरलाई यति क्रूरतापूवर्क हत्या गरेको देखेपछि उनले प्रहरीमा उजुरी गरे ।
तर अनुसन्धानका क्रममा आरोपित व्यक्तिको मानसिक अवस्था सामान्य नरहेको देखिएको बताइएको छ । कहिलेकाहीँ सामान्य व्यवहार गर्ने तर कहिलेकाहीँ एक्लै बर्बराउने र अस्वाभाविक व्यवहार देखिएकाले उनी मानसिक रूपमा असन्तुलित हुनसक्ने आशंका गरियो ।
यसै कारण, पशु अधिकारकर्मी तथा स्थानीयको पहलमा उक्त व्यक्तिलाई मानव सेवा आश्रममा राखिएको छ । यस प्रक्रियामा पशु अधिकारकर्मी ‘एसपीसीए’की बिना पन्त तथा इरफान खानले पशु सहयोग गरेको मनोजले बताए ।
आरोपितले कुकुर किन मारे भन्ने प्रश्नमा ‘रमाइलो लागेर’ गरेको प्रतिक्रिया दिएको बताइएको छ । यद्यपि, उनको मानसिक अवस्था कमजोर देखिएकाले कानुनी कारबाहीभन्दा उपचार र निगरानीलाई प्राथमिकता दिइएको हो ।
प्रतिक्रिया 4