१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशन अवैध भएको बताउँदै त्यसलाई आफूहरूले नमानेको बताएका छन् । बुधबार पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षधरको छलफलपछि पत्रकारसँग कुराकानी गर्दै निधिले आफूहरू वैध कांग्रेस भएकैले निर्वाचन आयोगको निर्णय नमानेर अदालत पुगेको बताएका हुन् ।
उनले ‘कार्यवाहक सभापति’ नै भनेर खड्काको अध्यक्षतामा हिजो र आज दुई दिन ‘केन्द्रीय समिति’ बैठक बसेको पनि दाबी गरे ।
‘२२ गते सर्वोच्च अदालतमा पेसी छ । निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दियो, त्यो अवैध हो, गैरकानुनी हो र राजनीतिक रूपमा उपयुक्त होइन भनेर हामी सर्वोच्च अदालतमा मुद्दा दिएका छौँ,’ निधिले भने, ‘विशेष महाधिवेशनलाई हामीले मानेका छैनौँ, हामी सहभागी पनि भएनौँ ।’
बैठकमा ‘मुद्दाको सम्पूर्ण तयारीका लागि पनि अगाडि बढ्नुपर्छ भनेर छलफल गरेका’ उनले बताए । ‘कानुनी सल्लाहकार, अधिवक्ता बहस गर्न तयार हुनुहुन्छ, हामी त्यसका लागि पनि छलफल गरेका छौं,’ उनले भने ।
यस्तै आफूहरू जहाँ उभिएको छ, त्यही वैध कांग्रेस रहेको पनि निधिले दाबी गरे ।
‘हामी नै असली कांग्रेस हौं, हामी जहाँ छौं, त्यही असली कांग्रेस हो । हामी जहाँ छौं, त्यही वैध कांग्रेस हो । यही निष्कर्ष निकालेका छौं,’ निधिले भने ।
यस्तै बैठकमा निर्वाचनबारे पनि छलफल भएको उनले बताए । उनले अगाडि भने, ‘जुन परिस्थितिमा निर्वाचन भयो, परिणाम अकल्पनीय आयो । निर्वाचन पनि आकस्मिक भयो, २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ भयो । संविधानको रक्षाका लागि निर्वाचनमा भाग लिएको उनले बताए । त्यसको बारेमा पनि समीक्षा गरेको उनले बताए ।
देशको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको उनले बताए । ‘यसमा नेपाली कांग्रेसले पहिलेभन्दा पनि सशक्त रूपमा लोकतान्त्रिक प्रणालीलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने छलफल भयो,’ उनले भने, ‘त्यसका लागि वृहत एकताको जरुरत छ । त्यसैलाई हामीले मिसन बनाएर जान्छौं । देशभरका साथीसँग संवादमा रहन्छौं ।’
पार्टी एकताका लागि विशेष महाधिवेशन पक्षधर पनि तयार रहनुपर्ने उनले बताए ।
प्रतिक्रिया 4