१८ चैत, काठमाडौं । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई बिहीबार डिस्चार्ज गर्ने चिकित्सकले तयारी गरेका छन् ।
गत आइतबार प्रहरीले पक्राउ गरेपछि उनी स्वास्थ्यमा समस्या देखिएको भन्दै त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्यारा अनुसार खड्कालाई बान्ता र पखाल भएपछि थप उपचारका लागि भर्ना गरिएको थियो ।
‘हिजो बिहानबाट नै बान्ता रोकिएको थियो । रातिदेखि पखाला पनि रोकियो,’ रोस्याराले अनलाइनखबरसँग भने, ‘अहिलेकै अवस्था सामान्य रहे भोलि डिस्चार्ज गर्ने तयारी छ ।’
गत भदौ २४ गतेको जेनजी आन्दोलनको खड्का घरमा बरामद भएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबार पक्राउ गरेको थियो । आइतबार नै उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ ।
तर राति एक्कासि उच्च रक्तचाप बढेसँगै झाडापखाला भएपछि प्रहरीले थापाथलीमा रहेको नर्भिक अस्पताल पुर्याएको थियो । बेड नभएको भन्दै अस्पतालले आइतबार राति ३ बजे त्रिवि शिक्षणमा रेफर गरेको थियो । खड्काको १०२९ बेड नम्बरमा उपचार भइरहेको छ ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि टिचिङ अस्पतालमा उपचाररत छन् । रोस्याराका अनुसार पिसाबमा संक्रमण देखिएपछि हिजो (मंगलबार) कल्चरको गरिएको छ । उक्त रिपोर्ट भोलि मात्रै आउने र त्यसपछि मात्रै निर्णय लिन सकिने उनले बताए ।
ओलीको शनिबार गरिएको एक्स–रेमा ओलीको पित्तथैलीमा ढुंगा देखिएको थियो । तर, हालको अवस्थामा शल्यक्रिया गर्नुपर्ने तत्काल आवश्यकता भने नदेखिएको चिकित्सकको भनाइ छ ।
ग्यास्ट्रो सर्जनहरूको टोलीले समेत ओलीको स्वास्थ्य अवस्थालाई हेर्दा अहिले नै अप्रेसन गर्नु जोखिमपूर्ण हुनसक्ने सुझाव दिएको छन् ।
तर ओली भने भर्ना भएको बेलैमा अप्रेसन गर्ने इच्छा व्यक्त गरेका छन् ।
‘पिसाबको संक्रमण अवस्था हेरेर डिस्चार्ज गर्ने कि नगर्ने भन्ने निर्णयमा पुग्न सकिन्छ,’ रोस्याराले भने, ‘तर उहाँले भर्ना भएको बेलामा पित्तथैलीको अप्रेसन गरिदिन भन्नुभएको छ ।’
दुई पटक मिर्गौला प्रत्यारोपण भइसकेका कारण, धेरै उमेर र मुटुको बिरामी भएका कारणले पनि चिकित्सकले अप्रेसन गर्न जोखिम नलिएको बुझिएको छ । रोस्यारा भन्छन्, ‘मल्टिपल स्वास्थ्य समस्या भएका कारण पनि चिकित्सकहरूले अप्रेसन गर्न जोखिम हुने बताउनुभएको छ ।’
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलन हुँदा ओली प्रधानमन्त्रीको रूपमा थिए । यस घटनाको छानबिन गर्न बनेको पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई दोषी रहेको औँल्याउँदै ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
प्रतिवेदनका आधारमा सरकारले ओलीलाई शनिबार बिहान पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा म्याद दिएको छ ।
पक्राउ परेपछि प्रहरीले नै स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । आकस्मिक कक्षमा प्रारम्भिक केही परीक्षण भयो । त्यस बेला ओलीले मुटुको धड्कनमा समस्या भएको बताए ।
त्यसपछि चिकित्सकले थप परीक्षण गर्न ‘एनेक्स–१’ को बेड नम्बर ५०१ भर्ना गरेको थियो ।
आइतबार ओलीको शरीरमा मुटुको धड्कनसम्बन्धी समस्या हेर्न लागि ‘होल्टर मोनिटर’ राखिएको थियो । उक्त रिपोर्टमा मुटुको चाल पनि ठिक रहेको चिकित्सकले बताएका छन् ।
प्रतिक्रिया 4