१९ चैत, काठमाडौं । प्रतिव्यक्ति २० हजारसम्म लिएर अनलाइनमार्फत युवती तस्करीको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–५ घर भएका ३० वर्षीय शिवबहादुर सारु छन् ।
उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
प्रतिव्यक्ति ८ हजारदेखि २० हजारसम्म लिएर अनलाइनमार्फत सम्पर्क गरी युवती तस्करीको धन्दा गर्ने गरेको ब्यूरोले बताएको छ । ह्वाट्स एपमार्फत सम्पर्क भएकी एक युवतीलाई आर्थिक प्रभावमा पारेर २०८१ को असोजदेखि उनले तस्करीको धन्दा गरेको प्रहरीले बताएको छ ।
ग्राहकले भने बमोजिम होटल तथा कोठामा युवती तस्करी गरेको आरोप सारुमाथि छ । पीडित युवतीले प्रहरीलाई बताएपछि १२ कात्तिक २०८१ मा प्रहरीले उद्धार गरेको थियो ।
यता सारु भने फरार भएका थिए । फरार भएर उनी साउदी अबर पुगेका थिए । साउदी अरबबाट फ्लाई दुबईको एअर लाइन्समार्फत काठमाडौं आएका बेला हिजो बुधबार विमानस्थलबाट उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
सारुमाथि ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए ।
प्रतिक्रिया 4