News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ मा रोएलले सोलो बास्केटबल क्लबलाई ७८-६७ ले पराजित गरेको छ ।
- प्लेबक्स एरेनाले कीर्तिपुरलाई ८३-७१ ले हराउँदै आफ्नो तेस्रो जित हासिल गरेको छ ।
- लिगमा शीर्ष चार टोलीले प्लेअफ प्रवेश गर्नेछन् र विजेताले नगद ४ लाख पुरस्कार पाउनेछन् ।
२० चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा शुक्रबार रोएल र प्लेबक्स एरेनाले जित हात पारेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबारको पहिलो खेलमा रोएलले सोलो बास्बकेटबल क्लबलाई ७८-६७ ले पराजित गरेको हो । खेलमा दुवै टिमले दुई-दुई क्वाटर आफ्नो पक्षमा पारेपनि रोएलले रोमाञ्चक जित निकालेको हो ।
रोएलले पहिलो क्वाटरमा २५-७ को अग्रता लिएको थियो । दोस्रो क्वाटर सोलोले २६-१४ ले आफ्नो पक्षमा पार्यो तर हाफटाइम्सम्म रोएल नै ३९-३३ ले अघि रह्यो । सोलोले तेस्रो क्वाटर पनि २७-१७ ले आफ्नो पक्षमा पारेपछि चौथो क्वाटरअघि सोलोले ६०-५६ को अग्रता लिएको थियो ।
तर रोएलले चौथो क्वाटरमा पुनरागमन गर्यो र २२-७ ले आफ्नो पक्षमा पार्दै ७८-६७ ले खेल जितेको हो । रोएलको १३ खेलमा यो दोस्रो जित हो । रोएलले १३ खेलबाट १५ अंक जोडेको छ । सोलोको यो ११औं हार हो । सोलोको पनि १३ खेलबाट १५ अंक नै भएको छ ।
लिगमा अब यी दुई टोलीले एक-एक खेल मात्र खेल्न बाँकी छ र शीर्ष चारमा रहेर प्लेअफ पुग्ने होडबाट बाहिरिसकेको छ । रोएलका आशिष बस्नेत म्यान अफ दि म्याच घोषित भए । उनले सर्वाधिक २६ अंक स्कोर गरे ।
यसैगरी शुक्रबारको दोस्रो खेलमा प्लेबक्स एरेनाले कीर्तिपुरलाई ८३-७१ ले पराजित गर्यो । पहिलो क्वाटरमा कीर्तिपुरले २२-२१ को अग्रता बनाएको थियो । तर दोस्रो क्वाटरमा प्लेबक्स खेलमा फर्कँदै २०-१६ ले आफ्नो पक्षमा पार्दै हाफ टाइसम्म ४१-३८ को अग्रता बनायो ।
तेस्रो क्वाटर पनि प्लेबक्सले २४-१६ ले आफ्नो पक्षमा पार्दै चौथो क्वाटरअघि ६५-५४ को अग्रता बनायो । प्लेबक्सले चौथो क्वाटर १८-१७ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।
प्लेबक्सको यो तेस्रो जित हो । प्लेबक्सले १३ खेलबाट १६ अंक जोडेको छ । कीर्तिपुरको भने यो दशौं हार हो र १३ खेलबाट कीर्तिपुरको पनि समान १६ अंक नै छ ।
लिगमा अब यी दुई टोलीले एक-एक खेल मात्र खेल्न बाँकी छ र शीर्ष चारमा रहेर प्लेअफ पुग्ने होडबाट बाहिरिसकेको छ । प्लेबक्समा सुदिप कार्की म्यान अफ दि म्याच घोषित भए । उनले १६ अंक स्कोर गरे ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।
यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।
प्रतिक्रिया 4