News Summary
Generated by OK AI. Editorially reviewed.- गोर्खा–११ क्रिकेट क्लबले लिस्बनमा नयाँ जर्सी सार्वजनिक गरेको छ ।
- यसअघि राष्ट्रिय क्रिकेट लिगमा उपविजेता बनेको टिमको कप्तानी मन्जित सिंहले सम्हाल्नेछन् ।
- क्लबमा नेपाल, बंगलादेश, भारत र पाकिस्तानका खेलाडी छन् ।
२२ चैत, काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा गोर्खा–११ क्रिकेट क्लबले आगामी पोर्चुगल राष्ट्रिय क्रिकेट लिगलाई लक्षित गर्दै आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। उक्त लिग अप्रिल १८ देखि लिस्बनमै सुरु हुने तय भएको छ।
क्रिकेट खेलाडी मधुकर थापाको अगुवाइमा सन् २०१६ मा स्थापना भएको गोर्खा–११ क्लब पोर्चुगलमा नेपाली समुदायबीच लोकप्रिय टिमका रूपमा परिचित छ। क्लबले यसअघि राष्ट्रिय क्रिकेट लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको थियो।
यस सिजनका लागि टिमको कप्तानी मन्जित सिंहले सम्हाल्नेछन्। जर्सी सार्वजनिक तथा खेलाडी परिचय कार्यक्रम लिस्बनस्थित ओला नेपाल हाउस रेस्टुरेन्टमा आयोजना गरिएको थियो।
कार्यक्रममा खेलाडीहरूले आफ्नो अनुभव साटासाट गर्दै आगामी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य व्यक्त गरेका छन्।
टिमको नयाँ जर्सीलाई ब्रीज इन्टरनेशनल र ब्रिटिश गुर्खा क्रिकेट लिगले प्रायोजन गरेका छन् । साथै, पोर्चुगलमा रहेका विभिन्न व्यवसायहरूले पनि आर्थिक सहयोग गरेका छन्।
कार्यक्रममा नेपालको राष्ट्रिय टोलीबाट विश्वकप खेलिसकेका क्रिकेटर राहुल विश्वकर्मा, क्लबका संस्थापक मधुकर थापा, बीजीसीएलका प्रमुख कार्यकारी अधिकृत गाम गुरुङ, पोर्चुगल राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सैदुर रहमान, एनआरएनएका पूर्व आइसीसी सदस्य राजकुमार थापा तथा एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष सुरज विष्टलगायतको उपस्थिति रहेको थियो।
गोर्खा–११ क्रिकेट क्लबमा नेपालसहित बंगलादेश, भारत र पाकिस्तानका खेलाडीहरूको सहभागिता रहेको छ, जसले टिमलाई अझ विविध र प्रतिस्पर्धात्मक बनाएको छ।
प्रतिक्रिया 4