News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र कलाकार संघको आन्तरिक विवादका कारण २८ चैतमा तय गरिएको साधारण सभा र निर्वाचन स्थगित भएको छ।
- संघका पदाधिकारीबीच सदस्य नवीकरण र मतदाता नामावली उपलब्ध गराउन नसकिएको विषयमा मतभेद हुँदा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ।
- अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचनका सम्पूर्ण कार्यक्रम रोकिएको र नयाँ मिति खुलाइएको छैन भनिएको छ।
काठमाडौं । चलचित्र कलाकार संघको आन्तरिक विवादको कारण साधारण सभा र निर्वाचन स्थगित भएको छ । २८ चैतमा पूर्वनिर्धारित चुनाव रोकिएको हो ।
संघका पदाधिकारीबीच सदस्य नवीकरणको विषयलाई लिएर चर्को मतभेद भएपछि निर्वाचन प्रक्रिया नै अवरुद्ध भएको हो ।
अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार, विशेष कारणवश निर्वाचनका सम्पूर्ण कार्यक्रम रोक्नुपरेको जनाइएको छ । मुख्य गरी वैधानिक समयसीमाभित्र निर्वाचन समितिलाई प्रमाणित मतदाता नामावली उपलब्ध गराउन नसकिएका कारण यो परिस्थिति सिर्जना भएको हो ।
निर्वाचन समितिले पटक-पटक ताकेता गर्दा पनि संघको कार्यसमितिले मतदाता नामावली बुझाउन नसकेपछि समितिले पत्राचार गर्दै प्रक्रिया अघि बढाउन नसकिने बताएको थियो ।
विवादको चुरो भने पुराना सदस्यहरूको नवीकरण र नयाँ सदस्यको वैधतासँग जोडिएको छ । संघको कार्यसमितिभित्रै कुन सदस्यलाई मतदानको अधिकार दिने र कसको नवीकरण नियमसंगत छ भन्ने विषयमा दुई धार देखिएका छन् ।
यही खिचातानीका कारण मतदाता नामावली टुङ्गो लाग्न नसकेको स्रोतको दाबी छ । अब नयाँ मिति कहिले तोकिन्छ भन्नेबारे संघले केही खुलाएको छैन ।
अध्यक्ष निरौलाका अनुसार, संघमा अहिले नवीकरण नगरेका समेत २५०० जना सदस्य छन् । जसमध्ये, धेरैजना पेशाबाट पलायन भैसकेका छन् । उत्तम केसी र सविन श्रेष्ठले प्यानल नै घोषणा गरि चुनावमा होमिइसकेका थिए ।
प्रतिक्रिया 4