News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र कलाकार संघको २१ औं साधारण सभा २८ चैतमा हुँदैछ र १७ सदस्यीय नयाँ पदाधिकारी निर्वाचित गरिनेछ।
- अभिनेताद्वय सविन श्रेष्ठ र उत्तम केसीले अध्यक्ष पदका लागि सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गरिसकेका छन्।
- संस्थाको विधानअनुसार अध्यक्षमा लड्न कार्यसमिति सदस्य भएर एकपटक सेवा गरिसक्नु पर्नेछ र नवीकरण नगरेको सदस्यले मतदान गर्न सक्दैन।
काठमाडौं । फिल्म कलाकारलाई यतिबेला चुनावी चटारो छ । २८ चैतमा चलचित्र कलाकार संघको २१ औं साधारण सभा आयोजना हुँदैछ । सभाले १७ सदस्यीय नयाँ पदाधिकारी निर्वाचित गर्नेछ ।
पदाधिकारीका आकांक्षीले सामाजिक संजालबाटै उम्मेदवारी घोषणा गरिरहेका छन् भने कतिपय भोट माग्न ब्यस्त छन् । अभिनेताद्वय सविन श्रेष्ठ र उत्तम केसीले सामाजिक सञ्जालबाट आफूहरू अध्यक्षमा उठ्न लागेको जनाएका छन् ।
उनीहरूले चाँडै एजेन्डा सार्वजनिक गर्दै जनाउँदै निकटवर्तीसँग भोट मागिरहेका छन् । यसबाहेक, नवीकरणको प्रक्रिया र विधिलाई लिएर अहिले संस्थाभित्र विवाद पनि चर्किएको छ ।
चुनावको मुखमा कलाकार संघमा नवीकरण लगायतका मुद्दालाई लिएर झगडा हुनु नयाँ भने होइन । हरेक चुनावमा नवीकरणलाई लिएर विवाद हुने गरेको देखिएको छ । वर्तमान अध्यक्ष मोहन निरौला संस्थाको विधिअनुसार नै नवीकरण हुने बताउँछन् ।
प्रतिष्ठित कलाकारले देखाएनन् नेतृत्वमा रुचि
पछिल्लो समय अध्यक्ष पदमा सर्वसम्मतीको प्रयास पनि नभएको होइन । यसबीचमा दीपाश्री निरौला, निखिल उप्रेती, करिश्मा मानन्धर र रेखा थापालाई सर्वसम्मतरुपमा अध्यक्ष बन्नका लागि प्रयास गरिएको थियो ।
तर, उनीहरूले नेतृत्वको लागि रुचि नदेखाएको अध्यक्ष निरौलाले बताए । ‘प्रतिष्ठित कलाकारलाई ल्याउने प्रयास गरेका हौं तर, उनीहरूले रुचि देखाएनन्’ अध्यक्ष निरौलाले भने ।
संस्थाभित्रको झमेला देखेपछि प्रसिद्ध कलाकारले नेतृत्वमा आउन रुचि नदेखाएको हुनसक्ने निरौलाको अनुमान छ । ‘कतिपय कलाकार विधानको कारणले अध्यक्षमा उठ्न मिलेन । कतिपय विभिन्न झमेला देखेर आउन मानेनन्’ उनले भने ।
संस्थाभित्रको यिनै भद्रगोल र विवादको कारण लोकप्रिय कलाकारले रुचि नदेखाएको निरौलाको भनाइ छ ।
चलचित्र संघको विधानअनुसार, अध्यक्षमा लड्न एकपटक कार्यसमिति सदस्यमा बसिसकेको हुनुपर्छ । यद्यपि, कतिपयलाई सर्वसम्मतरुपमा ल्याउने प्रयास गरिएको थियो ।
कतिपय कलाकारले सामाजिक सञ्जालमा राजेश हमाललाई नेतृत्वमा ल्याउनुपर्ने मत राखिरहेका छन् । हमाल संघका मानार्थ सदस्य हुन् । मानार्थ सदस्यसँग मतदानको अधिकार हुँदैन ।
संस्थामा मानार्थ सदस्यको संख्या ४० छ । नवीकरण नगरेकासहित २५०० जना सदस्य संस्थामा छन् । यसपटकको चुनावमा डेढसय जनासम्मले नवीकरण गर्ने आशा आफूले लिएको अध्यक्ष निरौलाले बताए ।
‘कतिपय पलायन भैसके, कतिपय विदेश गैसके’ निरौला भन्छन्, ‘मेरो अनुमानमा नवीकरण गर्नेको संख्या जोड्दा डेढसय जति हुनसक्छ ।’ संस्थाको मतदाता बन्न १७ चैतसम्म सदस्यता नवीकरण गरिसक्नुपर्नेछ । त्यसअघि निर्वाचन समिति गठनको तयारी छ ।
प्रतिक्रिया 4