News Summary
Generated by OK AI. Editorially reviewed.- २८ चैतमा चलचित्र कलाकार संघको २१ औं साधारण सभा हुँदै १७ सदस्यीय नयाँ पदाधिकारी निर्वाचित गरिनेछ।
- अध्यक्ष पदका लागि रवीन्द्र खड्का, उत्तम केसी, सविन श्रेष्ठ, धर्मेन्द्र आचार्य र जयन्त रेग्मी आकांक्षी छन्।
- संस्थाको मतदाता बन्न १७ चैतसम्म सदस्यता नवीकरण गरिसक्नुपर्नेछ र निर्वाचन आयोग गठन तयारीमा छ।
काठमाडौं । चलचित्र कलाकारबीच चुनावी सरगर्मी सुरु भएको छ । २८ चैतमा चलचित्र कलाकार संघको २१ औं साधारण सभा आयोजना हुँदैछ । सभाले १७ सदस्यीय नयाँ पदाधिकारी निर्वाचित गर्नेछ ।
उम्मेदवारका आकांक्षीले सामाजिक सञ्जालमा खुलेर समर्थन जुटाउने कसरत थालेका छन् । चर्चा अनुसार, केही चर्चित अनुहारले अध्यक्षमा आकांक्षा राखेका छन् । वर्तमान नेतृत्व भने सर्वसम्मत नेतृत्व ल्याउने कसरतमा छ ।
सामाजिक सञ्जालमा देखिएको चर्चा हेर्दा, पूर्वअध्यक्ष रवीन्द्र खड्कासहित उत्तम केसी, सविन श्रेष्ठ, धर्मेन्द्र आचार्य, जयन्त रेग्मी अध्यक्षका आकांक्षी छन् । खड्का पहिलोपटक अध्यक्ष बन्ने दाउमा छन् । केसी र श्रेष्ठ पहिलोपटक नेतृत्वमा पुग्ने सोचमा छन् ।
सविनले कलाकार संघको नेतृत्वमा युवा आउनुपर्ने बताइरहेका छन् । आफ्ना मुद्दा र कामको योजना चाँडै सार्वजनिक गर्ने उनको तयारी छ ।
महासचिवमा केही नाम आकांक्षी देखिएका छन् । महासचिवमा रामेश्वर बुर्लाकोटी, सुनिल कटुवाल र पनाह अधिकारी आकांक्षी देखिएका छन् । गोपाल ढकालको नाम सचिवको लागि चर्चामा छ । कोषाध्यक्षमा पवित्रा आचार्यको चर्चा छ ।
कुल १७ सदस्यीय मध्ये ४ जनालाई निर्वाचित अध्यक्षले मनोनित गर्नेछन् । वर्तमान अध्यक्ष मोहन निरौलाले संस्थाको जीवन्त र लामो इतिहास भएकाले सर्वसम्मतिको लागि पनि प्रयास भैरहेको बताए । संस्थाको दीर्घकालिन हित गर्न सक्ने नेतृत्व आफूहरूले खोजिरहेको उनले बताए ।
संस्थाको मतदाता बन्न १७ चैतसम्म सदस्यता नवीकरण गरिसक्नुपर्नेछ । त्यसअघि निर्वाचन आयोग गठनको तयारी छ । अहिले नवीकरण नगरेकासहित २५०० जना सदस्य संस्थामा छन् ।
प्रतिक्रिया 4