News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तालिमी श्रमिकलाई श्रम ऐन २०७४ अनुसार न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुविधा दिन आग्रह गरेको छ।
- मन्त्रालयले विभिन्न अस्पताल, विद्यालय र प्रतिष्ठानमा तालिमी श्रमिकले सुविधा नपाएको गुनासो आएको भन्दै रोजगारदातालाई सचेत गराएको छ।
- कानुन विपरीत सुविधा नदिएको पाइए कारबाही हुने चेतावनी मन्त्रालयले दिएको छ र सबै सरोकारवालालाई कानुन पालना गर्न अपिल गरेको छ।
२३ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तालिमी श्रमिकका रूपमा काम गराइएका व्यक्तिलाई कानुन बमोजिम सुविधा उपलब्ध गराउन आग्रह गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालय, विभिन्न प्रतिष्ठानमा कार्यरत तालिमी श्रमिकले न्यूनमत पारिश्रमिक तथा अन्य सुविधा नपाएको गुनासो आउने गरेको भन्दै त्यसतर्फ रोजगारदातालाई सचेत गराएको हो ।
श्रम ऐन २०७४ को दफा १८ उपदफा (३) अनुसार तालिमीका रूपमा कार्यरत व्यक्तिलाई कम्तीमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चय कोष, बीमा लगायत सामाजिक सुरक्षा सुविधा दिनुपर्ने स्पष्ट व्यवस्था उल्लेख गरिएको छ ।
तर, विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र नर्सिङ स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी साथै अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिबाट न्यूनतम पारिश्रमिक र अन्य सुविधा नपाएको भन्दै मन्त्रालयमा उजुरी तथा गुनासो आएको जनाइएको छ । यसप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले सबै रोजगारदातालाई प्रचलित कानुन अनुसार न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सम्बन्धी व्यवस्थाको पूर्णपालना गर्न चेतावनी दिएको छ ।
कानुन विपरीत श्रमिकलाई सुविधा नदिएको पाइए प्रचलित कानुन अनुसार कारबाही हुने चेतावनी मन्त्रालयले दिएको छ । मन्त्रालयले सम्बन्धित सबै प्रतिष्ठान, संस्था तथा सरोकारवालालाई कानुनको स्वस्फूर्त पालना गर्न अपिल गरेको छ ।
प्रतिक्रिया 4