+
+
Shares
विचार :

उदारवादी वर्चस्वका लागि कांग्रेस र रास्वपाको सहकार्य

दुई तिहाइभन्दा बढी मत (रास्वपा र नेपाली कांग्रेसले पाएको मत) उदार लोकतन्त्र मान्नेहरूलाई आउनुले साझा चेतनाको विकास भएको मान्न कन्जुस्याइँ गर्नु पर्दैन। यो परिवर्तनले कम्युनिस्ट खेमामा ठुलो ढ्याङ्ग्रो ठटाएको छ।

सविन धमला सविन धमला
२०८२ चैत २६ गते ७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन २१ को चुनावले नेपाली कांग्रेसलाई कठिन मोडमा पुर्‍याएको छ र नयाँ उदारवादी दल राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ।
  • कम्युनिस्ट विचारधाराको प्रभाव घट्दै गएको छ र मतदाताले उदारवादी र लोकतन्त्रवादी विकल्पलाई प्राथमिकता दिएका छन्, जसले नेपालको राजनीतिक परिवर्तनलाई संकेत गर्छ।
  • कांग्रेसले नयाँ दलहरूलाई लोकतान्त्रिक बनाउने मेन्टरिङ भूमिका निर्वाह गर्नुपर्ने र उदारवादी वर्चस्वलाई सुदृढ गर्न आवश्यक रहेको छ।

नेपाली राजनीतिमा फागुन २१ ले दिएको नतिजा वा सत्ता समीकरणको फेरबदल एउटा सामान्य राजनीतिक घटना मात्र थिएन, यो सात दशक लामो परम्परागत राजनीतिक भाष्यलाई नै उथलपुथल पारिदिने घटना हो। यसको असर कम्तीमा २० वर्षसम्म रहनेछ। यो नतिजाले मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस यतिबेला इतिहासकै एक कठिन र समीक्षात्मक मोडमा उभिएको छ।

सदनको एउटा कुनामा थन्किन बाध्य भएको वर्तमान अवस्थामा नेपाली कांग्रेसभित्र जुन प्रकारको छटपटी र बहस सुरु भएको छ, त्यसले नेपालको भविष्यको राजनीतिक दिशा तय गर्ने निश्चित छ। नेता डा. शेखर कोइरालाले हालै सार्वजनिक रूपमा व्यक्त गरेको विचार “हिजो वामपन्थीहरूसँगको लडाइँ सजिलो थियो, अबका लिबरल डेमोक्रेट्सहरूसँगको प्रतिस्पर्धा चुनौतीपूर्ण छ” भन्ने अभिव्यक्तिले कांग्रेसको मात्र होइन, समग्र नेपालको बदलिँदो राजनीतिक समाजशास्त्रलाई बाहिर ल्याएको छ।

कांग्रेसले बिस्तारै राष्ट्रिय स्वतन्त्र पार्टीलाई सजातीय र प्रतिस्पर्धी राजनीतिक दल मानेको देखिन्छ। यो केवल एउटा चुनावी हार वा गणितीय पराजय मात्र होइन, बरु नेपालको राजनीति ‘विचारधाराको युद्ध’ बाट ‘कार्यक्षमताको प्रतिस्पर्धा’ मा प्रवेश गरेको एउटा स्पष्ट सङ्केत हो। यही आलोकमा कांग्रेसले आफ्नो घट्दो मत वा सिट सङ्ख्यामा रोइलो गर्नुभन्दा पनि मुलुकमा स्थापित हुँदै गएको ‘उदारवादी वर्चस्व’ लाई कसरी जोगाउने र सुदृढ गर्ने भन्ने रचनात्मक मार्ग रोज्नु आवश्यक देखिन्छ।

कम्युनिस्ट जडताको अवसान

नेपालको राजनीतिक इतिहासलाई फर्केर हेर्दा यहाँको वर्ग चेत र सामूहिक चेतना लामो समयदेखि कम्युनिस्टले गाइड गरिएको ‘एन्टी–इस्टाब्लिस्मेन्ट’ भावमा आधारित थियो। अन्याय, विभेद र राज्यका संरचनाप्रतिको आक्रोश सधैँ वामपन्थी नाराहरूमार्फत मुखरित हुन्थे। हरेक निर्वाचनमा डेमोक्र्याटले पाएको भन्दा कम्युनिस्ट घटकहरूले पाएको कुल मत बढी हुनुले पनि नेपाली समाजको ठुलो हिस्सा वामपन्थी विचारधाराबाट प्रभावित थियो भन्ने पुष्टि गर्दथ्यो।

तर, भर्खरै सम्पन्न निर्वाचनले यो परम्परागत वामपन्थी जरो–किलोलाई नराम्ररी उखेलेको छ। समाजशास्त्री फ्रान्सिस फुकुयामाले आफ्नो प्रसिद्ध कृति ‘द इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’ मा उदार लोकतन्त्र नै मानव जातिको वैचारिक विकासको अन्तिम विन्दु हो भने झैँ, नेपाल पनि ढिलो गरी यही मार्गमा आइपुगेको छ। चुनावी नतिजाले यही देखाएको छ। मतदाताले यसपटक कम्युनिस्टहरूको उग्रता वा क्रान्तिका कुरालाई होइन, बरु उदारवादी कित्ताकै नयाँ, प्रविधिमैत्री र गतिशील विकल्पलाई रोजेका छन्। यसरी जनमत कांग्रेसबाट स्विङ भएर वा सिफ्ट भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ उदारवादी शक्तिहरूको भागमा जानुलाई लोकतन्त्रको बृहत्तर हितमा एउटा ऐतिहासिक उपलब्धि मान्नुपर्छ।

महान् विद्वान एन्टोनियो ग्राम्सीको ‘सांस्कृतिक वर्चस्व’ को सिद्धान्तअनुसार समाजमा जब कुनै विचार साझा चेतना बन्छ, तब मात्र त्यसले दिगो रूप लिन्छ। नेपालमा अहिले भएको परिवर्तनले उदार लोकतन्त्रलाई नै समाजको साझा चेतना बनाइदिएको छ। दुई तिहाइभन्दा बढी मत (रास्वपा र नेपाली कांग्रेसले पाएको मत) उदार लोकतन्त्र मान्नेहरूलाई आउनुले साझा चेतनाको विकास भएको मान्न कन्जुस्याइँ गर्नु पर्दैन। यो परिवर्तनले कम्युनिस्ट खेमामा ठुलो ढ्याङ्ग्रो ठटाएको छ। उदारवादी र लोकतन्त्रवादीहरू मिल्नु कम्युनिस्ट आन्दोलनका लागि सबैभन्दा ठुलो खतरा हो भन्ने बुझाइ वामपन्थी नेताहरूमा देखिन थालेको छ।

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले दिएको अभिव्यक्ति यसको ज्वलन्त उदाहरण हो। उनले “मुलुकमा पश्चिमा शक्तिहरूको आडमा नयाँ प्रतिक्रियावादीहरूको उदय भइरहेको र यसले परिवर्तनका उपलब्धिहरूलाई सङ्कटमा पारेको“ भन्दै जुन भ्रम छर्न खोजे, त्यसले कम्युनिस्टहरू अहिले वैचारिक रूपमा कति रक्षात्मक छन् भन्ने पुष्टि गर्छ।

कांग्रेसले देखाएको संस्थागत मर्यादा र विधिको शासनप्रतिको सम्मान नयाँ दलहरूका लागि एउटा पाठ हो।

नेता थापाको यो अभिव्यक्ति वास्तवमा जनताको बदलिँदो चेतनालाई स्वीकार गर्न नसकेर टाउको उठाउन खोज्ने एउटा असफल प्रयास मात्र हो। कम्युनिस्टहरूले अझै पनि वर्ग सङ्घर्ष र प्रतिक्रियावादको पुरानो लेपन लगाएर आफ्ना विचार दिइरहेका छन्। युवा पुस्तालाई झुक्याउन खोज्दैछन्, तर मतदाताले ४८ सालको प्रश्नपत्र बोकेर हिँड्नेहरूलाई ८२ सालको नतिजामार्फत जवाफ दिइसकेका छन्।

यस सन्दर्भमा कांग्रेसका सभापति गगन थापाको अभिव्यक्ति निकै सान्दर्भिक देखिन्छ। नेता थापाले पटक–पटक सार्वजनिक रूपमा भन्दै आएका छन् – ‘कांग्रेस अब पुराना उपलब्धिहरूको ब्याज खाएर बस्ने म्युजियम होइन, बरु नयाँ विचारहरूको ल्याबोरेटरी बन्नुपर्छ।’ उनले ‘नयाँ शक्तिहरूको उदयलाई कांग्रेसका लागि डरको विषय होइन, बरु आफ्नो कार्यशैली सुधार्ने एउटा ठुलो अवसर’ का रूपमा व्याख्या गरेका छन्।

थापाको यो दृष्टिकोण र नैनसिंह महरले औँल्याएको ‘२०८२ को समाजशास्त्र’ बीच एउटा बलियो तादात्म्य छ। जब कांग्रेसकै युवा नेतृत्वले उदारवादी क्षेत्रफलको विस्तारलाई स्वागत गर्छ, तब मात्र कम्युनिस्टले गाइड गरिएको एन्टी–इस्टाब्लिस्मेन्ट भाष्यलाई सधैँका लागि विस्थापित गर्न सकिन्छ। अहिले संसद्‌मा रास्वपा सभापति रवि लामिछानेले “हामी पुराना दलहरूको असफलताको उपज हौँ तर लोकतान्त्रिक मूल्यमा सम्झौता गर्दैनौँ“ भन्नु र कांग्रेसका भीष्मराज आङ्देम्बेले “संसद् सडकको आवेग पोख्ने ठाउँ होइन“ भन्नुले दुई शक्तिबीचको सजातीयतालाई थप प्रष्ट पारेको छ।

कांग्रेसको जिम्मेवारी: मेन्टरिङ

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी र यसका नेतृत्वकर्ता बालेन्द्र शाह (बालेन शाह) प्रधानमन्त्रीका रूपमा राजकीय र शासकीय शक्तिको केन्द्रमा छन्। यो नेपाली राजनीतिको एउटा चमत्कारिक मोड हो। तर, बालेन शाह जस्ता पात्रहरू लोकप्रियतावादको जगमा उभिएका कारण उनीहरूमा ‘निर्वाचित अधिनायकवाद’ वा ‘सफ्ट डिक्टेटरसिप’ तर्फ बहकिने खतरा सधैँ रहन्छ। जब कुनै नेताले राज्यका संस्थाहरू र कानुनी प्रक्रियाभन्दा आफ्नो लोकप्रियतालाई माथि ठान्न थाल्छ, तब लोकतन्त्र जोखिममा पर्छ।

यहाँ कांग्रेसको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। रास्वपाभित्र विभिन्न पृष्ठभूमि, फरक ओरिएन्टेसन र अवसर नपाएर आएका मानिसहरूको एउटा ‘खिचडी’ समूह छ। उनीहरूलाई एउटै लोकतान्त्रिक साँचोमा ढाल्न र उनीहरूलाई लोकतान्त्रिक बनाइराख्न कांग्रेसले आफ्नो संसदीय अनुभव प्रयोग गर्नुपर्छ।

कांग्रेसले देखाएको संस्थागत मर्यादा र विधिको शासनप्रतिको सम्मान नयाँ दलहरूका लागि एउटा पाठ हो। बालकृष्ण खाँण पक्राउ पर्दा होस् वा रमेश लेखकमाथि प्रश्न उठ्दा, कांग्रेसले सडकमा तमासा गरेन, बरु अदालतको निर्णयलाई शिरोधार्य गर्‍यो। यसको विपरीत, रवि लामिछाने वा एमालेका नेताहरूको हकमा सडक प्रदर्शनको सहारा लिइयो।

कांग्रेसले सिकाउनुपर्ने कुरा यही हो— ‘संस्थागत धैर्य’। भिजेको रातो कपडाको रङ्ग जसरी सँगै रहेको अर्को कपडामा सर्छ, त्यसरी नै कांग्रेसको लोकतान्त्रिक रङ्ग रास्वपामा पनि सार्नुपर्छ। बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले ‘द थर्ड वे’ मार्फत जसरी लेबर पार्टीलाई आधुनिक र उदार बनाएका थिए, त्यसैगरी नेपालमा कांग्रेसले आफूलाई ‘मेन्टर’ को रूपमा प्रस्तुत गर्दै रास्वपालाई एउटा भिडबाट जिम्मेवार लोकतान्त्रिक दलमा रूपान्तरण गर्न सघाउनुपर्छ।

कतिपयलाई लाग्न सक्छ कि कांग्रेसले रास्वपालाई सघाउनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो। हामी कांग्रेस बनाउन लागेको कि रास्वपालाई बलियो बनाउन भन्ने प्रश्नसहित द्विविधा उत्पन्न हुन सक्छ। तर यसको एउटै सैद्धान्तिक जवाफ छ- ‘पहिला उदार लोकतन्त्रवादीहरूको लागि मैदान ठुलो बनाउनुपर्छ र त्यसपछि मात्र जमेर प्रतिस्पर्धा गर्ने हो।’ यदि मैदान नै कम्युनिस्ट जडता वा अधिनायकवादले ओगट्यो भने कांग्रेस र रास्वपा दुवैको अस्तित्व समाप्त हुन्छ।

कांग्रेसले अब रोइलो छोडेर यही उदारवादी वर्चस्वको अभिभावक बन्ने ऐतिहासिक बाटो रोज्नुपर्छ। यसमै कांग्रेसको भलो छ र नेपालको लोकतन्त्रको पनि।

त्यसैले, उदारवादी वर्चस्वको क्षेत्रफल बढाउनु नै अहिलेको प्राथमिक आवश्यकता हो। जब मुलुकमा लोकतान्त्रिक संस्कृति र विधिको शासन बलियो हुन्छ, तब मात्र स्वस्थ प्रतिस्पर्धा सम्भव हुन्छ। रास्वपालाई लोकतान्त्रिक बनाइराख्नु र अधिनायकवादको खतराबाट जोगाउनु नै आजको कांग्रेसको सबैभन्दा ठुलो र रचनात्मक विजय हो। यसैले मात्र नेपालको राजनीतिलाई वामपन्थी जडताबाट पूर्ण रूपमा मुक्त गरी एउटा नयाँ र आधुनिक युगमा प्रवेश गराउने सुनिश्चितता प्रदान गर्दछ।

कूटनीतिक सन्तुलन

नेपालमा बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन हुनु र उदारवादी लोकतन्त्रवादीहरूको वर्चस्व कायम हुनुले विश्वभर रहेका लोकतन्त्रवादीहरूमा एउटा उत्साह र खुसीको लहर ल्याएको छ। लामो समयदेखि नेपालको कूटनीतिक सम्बन्ध असन्तुलित र अस्थिर रहेको महसुस गरेका विश्व शक्ति राष्ट्रहरूले यस परिवर्तनलाई निकै सकारात्मक रूपमा लिएका छन्। नयाँ सरकार गठन हुनेबित्तिकै विभिन्न लोकतान्त्रिक देशहरूबाट आएका बधाई र शुभकामनाका सन्देशहरूले कूटनीतिक वृत्तमा एउटा नयाँ तरङ्ग पैदा गरेको छ।

अमेरिका, भारत र युरोपेली युनियनका देशहरूले नेपालमा उदारवादी र लोकतन्त्रवादी शक्तिहरूको उदयले नेपालको भविष्य अझ अनुमानयोग्य र पारदर्शी हुने विश्वास व्यक्त गरेका छन्। यसले नेपालको असन्तुलित कूटनीतिलाई पुनः सन्तुलनमा ल्याउने एउटा ऐतिहासिक अवसर प्रदान गरेको छ।

उत्तरी छिमेकी चीनको सन्दर्भमा पनि यो उदारवादी वर्चस्व झन् बढी अर्थपूर्ण छ। चीनले सधैँ नेपालको स्थिरता र सुरक्षा चासोलाई प्राथमिकता दिँदै आएको छ। कतिपयले कम्युनिस्ट पार्टीहरू मात्र चीनको नजिक हुन्छन् भन्ने भ्रम छर्न खोजे पनि वास्तविकता के हो भने ‘एउटा खुला, पारदर्शी र उदार लोकतन्त्र भएको देशले मात्र चीनको सुरक्षा लगायतका दीर्घकालीन चासोहरूलाई संस्थागत रूपमा सम्बोधन गर्न सक्छ।’

कम्युनिस्ट सरकारहरू अक्सर आन्तरिक कलह र गुटबन्दीमा फस्दा बाह्य सम्बन्धमा पनि अस्थिरता देखिने गर्छ। तर, एउटा बलियो र विधिको शासन भएको उदारवादी सरकारले छिमेकीका चासोहरूलाई कुनै पार्टीको स्वार्थमा होइन, बरु राज्यको हितमा सन्तुलन गर्न सक्छ। चीनका लागि पनि एउटा स्थिर र विकासमुखी छिमेकी नै सबैभन्दा ठुलो सुरक्षा ग्यारेन्टी हो। यस अर्थमा, बालेन शाह नेतृत्वको सरकार र यसलाई प्राप्त कांग्रेसको रचनात्मक सहयोगले नेपालको कूटनीतिक साखलाई विश्वस्तरमा अझ उँचो बनाउनेछ।

उदारवादी वर्चस्वका लागि कांग्रेसको परीक्षा

नेपालमा उदारवादी वर्चस्व स्थापना हुनु भनेको नेपालको राजनीतिको आयतन बढ्नु हो। भोट स्विङ भएर वा सिफ्ट भएर जहाँ गए पनि, यदि त्यो लोकतान्त्रिक मूल्य र मान्यताभित्रै रहन्छ भने त्यसले मुलुकलाई समृद्धिको स्थिर राजमार्गमा लैजान्छ। कांग्रेसले आफ्नो दशकौँको अनुभव, सुसंस्कृत राजनीतिक चरित्र र संस्थागत मर्यादाको रङ्ग नयाँ शक्तिहरूमा सार्ने प्रयास गर्नुपर्छ। रातो कपडाको रङ्ग अर्कोमा सरे जस्तै कांग्रेसको लोकतन्त्रप्रतिको निष्ठा र धैर्य रास्वपामा पनि सङ्क्रमण हुन सक्यो भने नेपालले वर्षौँदेखि खोजेको राजनीतिक स्थिरता र समृद्धि प्राप्त गर्नेछ। यो नै वर्तमान निर्वाचनले दिएको सबैभन्दा ठुलो सन्देश र उपलब्धि हो।

कांग्रेसले अब रोइलो छोडेर यही उदारवादी वर्चस्वको अभिभावक बन्ने ऐतिहासिक बाटो रोज्नुपर्छ। यसमै कांग्रेसको भलो छ र नेपालको लोकतन्त्रको पनि। उदार लोकतन्त्रको मैदान जति विशाल हुन्छ, त्यति नै स्वस्थ र बलियो प्रतिस्पर्धा सम्भव हुन्छ र त्यसैको गर्भबाट नेपालको वास्तविक विकास र समृद्धिको जन्म हुनेछ। रास्वपालाई लोकतान्त्रिक बनाइराख्नु र अधिनायकवादको खतराबाट जोगाउनु नै आजको कांग्रेसको सबैभन्दा ठुलो र रचनात्मक विजय हो।

यसैले मात्र नेपालको राजनीतिलाई वामपन्थी जडताबाट पूर्ण रूपमा मुक्त गरी एउटा नयाँ र आधुनिक युगमा प्रवेश गराउने सुनिश्चितता प्रदान गर्दछ। अबको बाटो सत्ताको लुछाचुँडी होइन, बरु संस्कारको हस्तान्तरण र लोकतान्त्रिक मूल्यको संरक्षण नै हो। विश्वभरका लोकतन्त्रवादीहरूको खुसी र कूटनीतिक वृत्तको सन्तुष्टिले नेपाल अब समृद्धिको एउटा नयाँ अध्यायमा प्रवेश गरेको स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?