२६ चैत, बुटवल । नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति पार्टी केन्द्रीय सदस्य खिमलाल भट्टराईले असन्तुष्टि जनाउँदै विरोध गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत पार्टी संसदीय दलका नेतासमेत रहेका बादलले प्रयोग गरेको भाषा, शैली र दृष्टिकोण एमालेको नीति र परम्पराविपरीत रहेको बताएका छन् ।
भट्टराईले चैत २५ गते हिको पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा बादलले प्रयोग गरेका ‘कब्जा, आक्रमण, दुश्मन’ जस्ता प्रयोग गरेका शब्दावली एमालेको विचार र अभ्याससँग मेल नखाने बताएका छन् ।
बादलले एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलप्रति कटाक्ष गर्दै पार्टीको नीतिभन्दा बाहिर नगएको र एमालेविरुद्ध पार्टीभित्रैबाट सकाउने अभ्यास भइरहेको गम्भीर आरोप लगाएका थिए । ‘हाम्रो पार्टी नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं प्रतिनिधिसभामा दलका नेता कमरेड रामबहादुर थापा ‘बादल’ ले हिजो चैत २५ गते पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा जेजस्ता भाषा, शैली र दृष्टिकोण पेस गर्नुभयो, त्यो पार्टी नीति र एमाले स्कुलिङकाविरुद्ध छ’, भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले एमालेले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा आधारित राजनीति गर्ने भन्दै कब्जा र आक्रमणको भाषा पार्टीको नीति नभएको स्पष्ट पारेका छन् । ‘कब्जा, आक्रमण, दुश्मन आदि शब्दावली एमालेका होइनन् । जनताको बहुदलीय जनवादको मार्गदर्शन विल्कुल यो होइन । हामी कब्जा होइन, जनताको मन जितेर प्रतिस्पर्धामा श्रेष्ठ हुन्छौं । कब्जा हाम्रो नीति होइन । हामीले आक्रमण होइन, शान्तिपूर्ण संघर्षबाट विजय सुनिश्चित गर्छौं । हामी प्रतिस्पर्धा गर्छौं, दुश्मनी गर्दैनौं । एमालेको संघर्षको नीति यही हो’, उनले उल्लेख गरेका छन् ।
भट्टराईले आफूले कार्यवाहक अध्यक्षलाई सिकाउन खोजेको नभए पनि युद्धकालीन शैलीको भाषा एमालेको नीति हुन नसक्ने बताएका छन् । ‘कार्यवाहक अध्यक्षज्यूलाई सिकाउन खोजेको विल्कुल होइन । उहाँको पुरानो धङधङी एमालेको नीति हुन सक्दैन मात्रै भन्न खोजेको हुँ’, उनले भनेका छन् ।
उनले बादलले पार्टीको वर्तमान अवस्था र कार्यकर्तालाई परिचालन गर्ने तरिकासमेत नबुझेको टिप्पणी गरेका छन् । ‘उहाँले आज नेकपा एमाले कुन अवस्थामा छ भन्ने आँकलन र कसरी कार्यकर्ता र शुभेच्छुकको पंक्तिलाई परिचालन गर्ने भन्ने कुराको तरीका पनि ठम्याउन सक्नु भएन । उहाँमा विल्कुल युद्धकालीन भाषा, शैली र चिन्तन प्रवृत्ति देखियो’, उनले लेखेका छन् ।
भट्टराईले बादललाई यसअघि सैद्धान्तिक चेत भएका, कम बोल्ने र भद्र नेताको रूपमा आफूले लिएको उल्लेख गर्दै पछिल्लो अभिव्यक्तिले आफूलाई दुःख लागेको बताएका छन् ।
भट्टराईले पार्टीको वर्तमान जटिल अवस्थामा नेतृत्वको भूमिका कमजोर देखिएको भन्दै शीर्ष नेतृत्वलाई समेत ध्यान दिन आग्रह गरेका छन् । एमाले अध्यक्ष केपी ओली निकटस्थ मानिएका भट्टराईको उक्त अभिव्यक्तिपछि एमालेभित्र नेतृत्व शैली र पार्टीको भावी दिशा सम्बन्धी बहस थप चर्किने संकेत देखिएको छ ।
एमालेमा बादललाई काबा अध्यक्ष तथा समानुपातिकबाट सांसद छनोटदेखि दलको नेता बनाएको विषयमा आन्तरिक विवाद बढ्दै गएको छ । यसअघि उपाध्यक्ष विष्णु पौडेलले पनि बादलको संसदमा बोलेको अभिव्यक्तिप्रति आलोचना गरेका थिए । पार्टी सचिवालय बैठकमा पनि बादलको अभिव्यक्तिबारे छलफल भई उक्त विचार पार्टी सिद्धान्त र नीति विपरीत भएको निष्कर्ष निकालेको थियो ।
प्रतिक्रिया 4