News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कथानक फिल्म ‘एलिफेन्ट्स् इन द फग्’ ७९औँ कान्स चलचित्र महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको छ।
काठमाडौं । नेपाली कथानक फिल्म ‘एलिफेन्ट्स् इन द फग्’ विश्वप्रसिद्ध ७९औँ कान्स चलचित्र महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको छ । यससँगै नेपाली फिल्मले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपस्थिति जनाउन सफल भएको निर्माण पक्षले जनाएको छ ।
अविनाश विक्रम शाहद्वारा लिखित तथा निर्देशित यो फिल्म अण्डरग्राउण्ड टकिज नेपाल र जयन्ती कृएसन्स्को सहकार्यमा निर्माण भएको हो । यसमा फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण कम्पनीहरूको समेत सहकार्य छ ।
फिल्मले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको एक परिवारको कथा प्रस्तुत गरेको छ । ग्रामीण यथार्थ र सामाजिक संवेदनालाई समेटिएको यो कथामा नयाँ अनुहारका कलाकारसँगै गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, संजय गुप्ता दुरा, महिमा नवबाग, आशान्त शर्मा लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

अण्डरग्राउण्ड टकिज नेपालको तर्फबाट अनुप पौडेल निर्माता छन् भने जयन्ती कृएसन्स्को तर्फबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल र प्रचण्डमान श्रेष्ठ निर्माताको रूपमा जोडिएका छन् । मीनबहादुर भाम, प्रवेश गुरुङ, केकी अधिकारी, प्रतीक सुवेदी लगायतका चलचित्रकर्मीले समेत निर्माणमा साथ दिएका छन् ।
निर्देशक शाहले यसअघि आफ्नो लघु फिल्म ‘लोरी’बाट कान्समा पुरस्कार जित्दै नेपाली फिल्म क्षेत्रमै पहिचान बनाइसकेका छन् । ‘कालो पोथी’ र ‘शाम्बाला’ जस्ता चर्चित फिल्मका पटकथाकार रहेका शाहको यो पहिलो ‘फुल लेन्थ’ फिल्म हो।
फिल्मको छायांकन नोए बाक र सिरिलले गरेका छन् भने सम्पादन एन्ड्र्यू बर्ड र पेरिस बर्जनको छ । ध्वनि, संगीत, कला निर्देशन र अन्य प्राविधिक पक्षमा अन्तर्राष्ट्रिय टिमको संलग्नता रहेको निर्माण पक्षले जनाएको छ ।
यसवर्षको कान्स मे १२ देखि सुरु हुने छ । उद्घाटन सत्रमा पियरे साल्भाडोरी निर्देशित सन् १९२० को परिवेशमा आधारित कमेडी फिल्म ‘द इलेक्ट्रिक किस’ प्रदर्शन गरिने कार्यक्रम छ ।
महोत्सवको निर्णायक मण्डलको नेतृत्व दक्षिण कोरियाली चर्चित फिल्ममेकर पार्क चान–वूकले गर्नेछन् । साथै, यस वर्ष बार्बरा स्ट्राइस्यान्ड र पिटर ज्याक्सनलाई मानार्थ पाल्मे ड’ओरबाट सम्मान गरिने घोषणा गरिएको छ ।
नेपाली फिल्मको करिब ६ दशक लामो इतिहासमा कान्स फेस्टिभलमा आधिकारिक रूपमा छनोट हुने यो पहिलो फिल्म बनेको बताइएको छ । निर्माण टिमले यस उपलब्धिलाई नेपाली फिल्म क्षेत्र र दर्शकसँग साझा गर्दै आगामी दिनमा अझै सशक्त नेपाली कथाहरू प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया 4