+
+
Shares

‘मालती मंगले’ को टिजर : गाउँले परिवेशमा हृदयस्पर्शी प्रेमकथा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'मालती मंगले' को टिजर २५ बैशाखदेखि प्रदर्शन तयारीमा रहेको छ र युट्युबमा सार्वजनिक भएको छ।
  • फिल्ममा विजय बराल र वर्षा राउतले मुख्य भूमिका निभाएका छन् र कथा गाउँले परिवेशको प्रेमकथामा आधारित छ।
  • टिजरमा प्रेम, विश्वास र द्वन्द्वका दृश्यहरू समावेश छन्, जसमा पुरुष पात्रले महिलालाई कुटपिट गर्ने दृश्य पनि छ।

काठमाडौं । २५ बैशाखदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मालती मंगले’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । संगीतकर्मी समेत रहेका रामकृष्ण ढकालले निर्माण गरेको यो फिल्मले गाउँले परिवेशको मर्मस्पर्शी प्रेमकथालाई चित्रण गर्छ ।

केही वर्ष पुरानो ग्रामीण समाजको पृष्ठभूमिमा खिचिएको फिल्मको यस टिजरमा प्रेम, विश्वास र शङ्काका विभिन्न पाटाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

टिजरमा दुई पात्रको भेटदेखि विवाहसम्मको यात्रालाई चित्रण गरिएको छ । पुरुष पात्रमा विजय बराल र महिला मुख्य पात्रमा वर्षा राउतले अभिनय गरेका छन् ।

एक संवादमा पुरुष पात्रले महिला पात्रलाई ‘मेरो कारणले जुन दिन तिम्रो आँखामा आँसु आउँछ, त्यो दिन मंगले मरेसरह हुन्छ’ भन्दै गरेको प्रेममय वाचा सुनिन्छ ।

तर, विवाहपछिको जीवन भने त्यति सहज देखिँदैन । टिजरको उत्तरार्धमा गाउँलेहरूको अगाडि पुरुष पात्रले महिलालाई कुटपिट गर्दै ‘तैँले मलाई धोका दिइस्’ भन्दै आक्रोश पोखेका छन्, जसमा मालती (वर्षा) निकै अचम्मित र भावुक मुद्रामा देखिएकी छिन् ।

अर्का मुख्य कलाकार मेक्सम गौडेलले विजयलाई गाली गर्दै गरेको दृश्यले कथामा द्वन्द्वको सङ्केत गर्दछ । यद्यपि टिजरको अन्त्यमा दुई पात्रबिच केही रोमान्टिक दृश्यहरू पनि समेटिएका छन् ।

प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस फिल्मलाई रानी फिल्म्सको ब्यानरमा युनी इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो । फिल्मको कथा स्वयं निर्देशक पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको छ ।

यसअघि फिल्मको दुई गीत ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेका छन् । निर्माता ढकालका अनुसार यो फिल्म राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीति नाटक नभई हाम्रै समाजको परिवेशमा आधारित एक फरक साङ्गीतिक प्रेमकथा हो ।

फिल्ममा नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार लगायतको अभिनय छ ।

कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह-निर्मातामा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?