News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'मालती मंगले'ले शुक्रबारबाट प्रदर्शनमा आएपछि घरेलु बक्सअफिसमा सुखद व्यापार गरिरहेको निर्माता रामकृष्ण ढकालले बताए।
- निर्माता रामकृष्ण ढकालका अनुसार 'माउथ पब्लिसिटी'ले दर्शक संख्या वृद्धि गरेको छ र शनिबारदेखि दर्शकको साथ पाइरहेको छ।
- निर्देशक प्रकु पाण्डेयको सामाजिक कथावस्तुमा आधारित फिल्ममा वर्षा राउत, विजय बराल र मेक्सम गौडेलको अभिनयले दर्शकको मन जितेको छ।
काठमाडौं । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘मालती मंगले’ ले घरेलु बक्सअफिसमा सुखद व्यापार गरिरहेको निर्माताले बताएका छन् । निर्माता रामकृष्ण ढकालका अनुसार सुरुवाती शोमा सामान्य ओपनिङ गरेको फिल्मले शनिबारदेखि दर्शकको साथ पाइरहेको छ ।
‘माउथ पब्लिसिटी’को कारण दर्शक संख्यामा वृद्धि भएको ढकालले बताए । लामो सांगीतिक करिअरमा सक्रिय ढकालले पहिलोपटक यो फिल्ममा लगानी गरेका हुन् ।
दर्शकको उपस्थिति र प्रतिक्रिया बुझ्न शनिबार दिउँसोभर फिल्मको टोली काठमाडौंका विभिन्न हलमा पुगेको थियो । ढकालसहित कलाकार वर्षा राउत, विजय बराल, मेक्सम गौडेल र उमेश सुनाम हलमा पुग्दा दर्शकको हुटिङ, सिट्ठी र गडगडाहट तालीले माहोल रोमाञ्चक बनेको थियो ।
पर्दामा देखेका कलाकारलाई प्रत्यक्ष रूपमा आफ्नै अगाडि पाउँदा दर्शकको क्रेज र उत्साह हलभित्र छताछुल्ल भएको देखिन्थ्यो ।

फिल्म हेरेर बाहिरिएका अधिकांश दर्शकले यसलाई ‘नेपालीपन बोकेको उत्कृष्ट’ फिल्मको संज्ञा दिएको निर्माता रामकृष्णले जानकारी दिए । कथावस्तु र प्रस्तुतिले दर्शकलाई पेट मिची मिची हँसाउनेदेखि लिएर आँखा रसाउनेसम्मको गहिरो भावनात्मक यात्रा गराउन सफल भएको उनले बताए ।
विशेष गरी अभिनेत्री वर्षा राउतको मर्मस्पर्शी अभिनय तथा अभिनेताद्वय विजय बराल र मेक्सम गौडेलको दमदार प्रस्तुतिले सबैको मन जितेको पनि रामकृष्णले बताए । प्रकु पाण्डेय निर्देशित फिल्म सामाजिक कथावस्तुमा आधारित छ ।
प्रतिक्रिया 4