News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन सुरु भएको छ, जसको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभयो।
- मुख्यमन्त्री आचार्यले किसान र भेटेरिनरी चिकित्सकलाई बढी सम्मान गर्नुपर्ने र विभेदकारी कानुन सच्याउन प्रदेश सरकार तयार रहेको बताउनुभयो।
- सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने र पशु स्वास्थ्य तथा नयाँ प्रविधिको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
२७ चैत, बुटवल । ‘दिगो पशुधन र खाद्य सुरक्षाको लागि स्वास्थ्य मार्ग’ नारासहित रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन सुरु भएको छ ।
नेपाल भेटेरिनरी एसोसियसन (एनभीए)को आयोजनामा रुपन्देहीको मणिग्राममा सुरु भएको सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे ।
सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कृषि र पशुपालन नै नेपालको दीगो विकास र आत्मनिर्भरताको मुख्य आधार भएको उल्लेख गर्दै राज्यले किसान र भेटेरीनरी चिकित्सकको महत्वलाई बुझ्न नसकेको स्वीकार गरे ।
उनले किसान र पशुको उपचार गर्ने चिकित्सकलाई अझ बढी सम्मान गर्नुपर्ने आग्रह गरे ।
‘हामीमा मान्छेको उपचार गर्ने डाक्टरको मात्रै सम्मान गर्ने तर दूध, मासु, गोबर दिने गाई, भैंसी, बाख्रा जस्ता पशुधनको उपचार गर्ने डाक्टर र किसानलाई सम्मान नगर्ने चिन्तन छ, यो गलत हो’ मुख्यमन्त्री आचार्यले भने, ‘दुवैथरि डाक्टरको आ–आफ्नो क्षेत्रमा उत्तिकै महत्व छ, तर पशुको उपचार गर्ने डाक्टरलाई बढी सम्मान गर्नुपर्छ, पशु स्वस्थ भए किसानको उत्पादन र आम्दानी दुवै वृद्धि हुन्छ ।’
मुख्यमन्त्री आचार्यले पशुपंक्षी चिकित्सक र भेटेरिनरी जनशक्तिलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन र विभेदकारी कानुन बनेको भए सच्याउन प्रदेश सरकार तयार रहेको बताए ।
पशुपालनको परम्परागत पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न भेटेरिनरी जनशक्ति र पशु चिकित्सकलाई प्रोत्साहन जरुरी रहेकोमा मुख्यमन्त्री आचार्यले जोड दिए ।
सम्मेलनमा नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदीले बारम्बार ताकेता गर्दा पनि भेटेरिनरीयनहरूलाई मेडिकल डाक्टर सरहको दर्जा र सेवा सुविधा दिन माग गरे । आफूहरूमाथि असमानता र विभेद गरिएको गुनासो गर्दै उनले सरकारको नीति तथा बजेटमा पनि अपेक्षित रूपमा प्राथमिकता नपाएको बताए ।
अध्यक्ष सुवेदीले नीति निर्माणमा नेपाल भेटेरिनरी एसोसिएसनका विज्ञहरूको सहभागिता सुनिश्चित गर्न, औषधि ऐन र पशु चिकित्सा परिषद् ऐन जस्ता कानुन संशोधन गर्दा विज्ञको राय लिन पनि माग गरे ।
सम्मेलनमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनकी उपकुलपति प्रा. डा. शारदा थपलिया, कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव डा. रामानन्दन तिवारी,हेफर इन्टरनेसनलका कन्ट्री डाइरेक्टर डा. तीर्थ रेग्मी लगायतले मुलुकको आर्थिक समृद्धिको एउटा बलियो पशु पंक्षीपालन भएपनि तीनै तहका सरकारको नीति, कार्यक्रम र वजेटमा प्राथमिकतामा नपरेको औंल्याउंदै प्राथमिकतामा राख्न र भेटेरिनरी जनशक्तिलाई प्रोत्साहन, नयाँ खोज अनुसन्धानमा लगानी बढाउन सुझाव दिए ।
सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने र समूहगत छलफल हुने बताइएको छ ।
सम्मेलनले नेपालमा पशु स्वास्थ्य, अनुसन्धान तथा नवीन प्रविधिको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4