+
+
Shares

दाउराका लागि मासिँदै गुराँसकाे वन

जन्तेढुंगा गाउँपालिकाले गुराँसका हाँगा भाँच्ने, फूल टिप्ने तथा गुराँसका विरुवालाई हानीनोक्सानी पुग्ने खालको गतिविधि नगर्न सूचना नै जारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते १४:४१

२८ चैत, खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका विभिन्न सामुदायिक वनमा राष्ट्रिय फूल गुराँस दाउराका लागि मासिने गरेको पाइएको छ ।

गाउँपालिकाभित्रका बोपुङ, काहुले, डम्बर्खुशिवालय, चिसापानी र दिप्लुङका विभिन्न सामुदायिक वनमा दाउराकै लागि स्थानीयले गुराँस काट्ने गरेका छन् । जसमा जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेवी राईले चिन्ता व्यक्त गरेकी छन् ।

सचेतना अभावमा स्थानीयले पहिल्यैदेखि गुराँसको रुख काट्ने गरेको उनी बताउँछिन् । पछिल्लो समय अनियन्त्रित रूपमा आलै रुख पनि काटिन थालेपछि गुराँसको वनमा व्यापक क्षति पुगिरहेको छ ।

गुराँसको आलो काठ सहजै चिर्न सकिने, खरो बल्ने र धेरैबेरसम्म कोइला रहने भएकाले स्थानीयले गुराँसको दाउरा रुचाउने गरेको सामुदायिक वन उपभोक्ता महासंघ जन्तेढुंगा गाउँपालिका अध्यक्ष वीरवल किरातीले बताए ।

पछिल्लो समय गाउँपालिकाले नै गुराँस संरक्षणका लागि त्यसको कटानीमा कडाइ गर्न थालेको छ । जन्तेढुंगा गाउँपालिकाले गुराँसका हाँगा भाँच्ने, फूल टिप्ने तथा गुराँसका विरुवालाई हानीनोक्सानी पुग्ने खालको गतिविधि नगर्न सूचना नै जारी गरेको छ ।

‘गुराँस हाम्रो राष्ट्रिय फूल हो । गुराँस फूल्दा वनको सौन्दर्य मनमोहक देखिन्छ । यसले जैविक विविधतामा पनि योगदान पुर्‍याएको छ,’ गाउँपालिका अध्यक्ष राईले भनिन्, ‘त्यसैले सबै वन उपभोक्ता तथा स्थानीय वासिन्दाहरूलाई वन क्षेत्रमा घाँस तथा दाउरा सङ्कलन गर्दा गुराँसका बिरुवालाई कुनै पनि प्रकारको क्षति नपुर्‍याउन हुन अनुरोध गरेका छौं ।’

यसलाई विस्तारै कानुनी रूपमा पनि कडाइ गर्दै लैजाने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?