+
+
Shares

रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं

‘अहिले विद्यार्थीहरूको हक अधिकारबारे या कर्मचारी ट्रेड युनियनको अधिकारबारे सरकारले प्रश्न उठाउन खोजेको छ, हामीले सतर्क हुन भनिराख्या छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते १७:४२

२८ चैत, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमाथि छेडखानी गरेर जनताका अधिकार खोस्ने काम भए सडक र सदनबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ(क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।

‘हामीले के भनेका छौं भने यदि यो संविधानभित्र रहेर सरकारले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, रचनात्मक र सकारात्मक राम्रो काम गर्दा हामी त्यसलाई सकारात्मक नै ढङ्गले हेर्छौं,’ प्रचण्डले भने, ‘तर संविधानमाथि छेडखानी हुन थाल्यो, नेपाल राष्ट्रको राष्ट्रिय हितमाथि कहीँ कतैबाट आँच आउन थाल्यो या जनताले पाएका हक अधिकार खोस्ने जस्ता गतिविधि हुन थाले भने हामी त्यसको फेरि सदनभित्र पनि सडकबाट पनि त्यसको प्रतिवाद गर्छौं ।’

यो कुरा आफूले सुरुदेखि नै प्रस्टसँग भन्दैआएको उनले बताए ।

‘अहिले विद्यार्थीहरूको हक अधिकारबारे या कर्मचारी ट्रेड युनियनको अधिकारबारे सरकारले प्रश्न उठाउन खोजेको छ, हामीले सतर्क हुन भनिराख्या छौं । जनताले लामो संघर्ष, ठूलो त्याग र बलिदान गरेर प्राप्त भएका अधिकारहरु, जनवर्गका अधिकारमाथि कुनै किसिमको छेडखानी नगरियोस्,’ उनले भने ।

यसो भन्दा आफू संविधानको जायज संशोधनको पक्षमा रहेको भने प्रचण्डले बताए । उनले भने, ‘संविधान संशोधनका हामी विरोधी त छैनौं । तर त्यो संशोधन महिलाहरूको अधिकार थप्नको लागि हुनपर्‍यो, जनतालाई अधिकार थप्नको लागि हुनपर्‍यो, खोस्नलाई होइन ।’

संविधान संशोधन गर्दा संघीयतालाई अझ बलियो बनाउन हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?