२८ चैत, धनकुटा । धनकुटा नगरपालिका–३ र ६ को सिमाना कागते क्षेत्रबाट करिब १३ फिट लामो विषालु राजगोमन (किङ कोब्रा) सर्पको उद्धार गरिएको छ । दुर्लभ रूपमा पहाडी क्षेत्रमा देखिने यो सर्पको उद्धारले स्थानीयमा त्राससँगै चासो समेत बढाएको छ ।
शनिबार धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाका सर्प उद्धारकर्मी प्रदीप श्रेष्ठले उक्त सर्प सुरक्षित रूपमा नियन्त्रणमा लिएका हुन् । समुद्री सतहबाट करिब एक हजार तीन सय मिटर उचाइमा रहेको कागतेस्थित बोधप्रसाद वाग्लेको गोठमा यो सर्प तीन दिनदेखि बसिरहेको अवस्थामा फेला परेको थियो । स्थानीयवासीले खबर गरेपछि पुगेका श्रेष्ठले जोखिमपूर्ण परिस्थितिमा सर्पलाई नियन्त्रणमा लिएका थिए ।
उद्धार गरिएको राजगोमनलाई डिभिजन वन कार्यालय धनकुटासँग समन्वय गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थान (वन क्षेत्र) मा छोड्ने तयारी भइरहेको धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए । उद्धारकर्मी श्रेष्ठका अनुसार राजगोमन अत्यन्तै विषालु सर्प हो, जसको टोकाइले गम्भीर अवस्था निम्त्याउन सक्छ र तत्कालै ज्यानसमेत जानसक्छ । ‘यो सर्प सामान्य अवस्थामा आफैं आक्रमण गर्दैन, तर चलाएमा वा खतरा महसुस गरेमा आक्रामक बन्न सक्छ,’ उनले भने ।
विगत ९ वर्षदेखि सर्प उद्धारमा सक्रिय श्रेष्ठले पछिल्लो दुई वर्षमा धनकुटाको महालक्ष्मी, पाख्रीबासलगायत क्षेत्रबाट पाँच वटा राजगोमन सर्प नियन्त्रणमा लिएर जंगलमा सुरक्षित रूपमा छोडिसकेको जानकारी दिए ।
उनका अनुसार जलवायु परिवर्तनका कारण पहाडी तथा चिसो क्षेत्रमा समेत यस्ता विषालु सर्पहरू देखिन थालेका छन्, जसले मानव बस्तीमा जोखिम बढाउनसक्ने संकेत गरेको छ ।
प्रतिक्रिया 4