News Summary
Generated by OK AI. Editorially reviewed.- ८१ वर्षीय वीरबहादुर थापा जीवनको उत्तरार्धमा जन्मगाउँ फर्किने तयारीमा छन् । बसाइँ सरी गएकाहरुको पनि गाउँमा पुनरागमन बढ्दै गएको छ।
- धनकुटाको मुगा गाउँमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको जन्मघर पुनर्निर्माण गरी संग्रहालय बनाउने तयारी भइरहेको छ।
- मुगामा सडक, खानेपानी र आधारभूत पूर्वाधार अभाव रहेको भएपनि पर्यटन विकासका लागि सम्भावना रहेको स्थानीयले बताएका छन्।
८ वैशाख, धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–८ मा रहेको मुगा गाउँ कुनै समय पूर्वी पहाडकै एक चहलपहलपूर्ण बस्ती थियो । पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको गाउँका रूपमा चिनिने मुगामा उनका वंशका आकर्षक, कलात्मक र ठूला घरहरूले जो–कोहीलाई लोभ्याउने गरेको छ । कुनै बेला मुगामा सामाजिक, सांस्कृतिक र आर्थिक गतिविधि उल्लेखनीय रहेका थिए ।
तर, समयसँगै परिस्थितिले कोल्टे फेर्यो । रोजगारी, शिक्षा र अवसरको खोजीमा स्थानीय बसाइँ सर्न थाले । बसाइँसराइसँगै मुगाको चहलपहल क्रमश: घट्दै गयो । त्यसमा देशमा भएको सशस्त्र द्वन्द्वले थप असर गर्यो । त्यसपछि करिब अढाई दशकसम्म मुगा गुमनामजस्तै बन्यो । सुन्दर घरहरू खण्डहरमा परिणत भए, मठ–मन्दिरहरू जीर्ण बने र एक समयको जीवित गाउँ सुनसान बन्दै गएको थियो ।
अहिले भने मुगामा फेरि केही चहलपहल बढ्न थालेको छ । पुराना घरहरूको पुनर्निर्माण, मठ–मन्दिरको जीर्णोद्धार र थापा परिवारहरूको बढ्दो चासोले गाउँमा आशा जगाएको छ ।
८१ वर्षीय वीरबहादुर थापा ‘दादा काजी’ जीवनको उत्तरार्धमा जन्मगाउँ फर्किने तयारीमा छन् । वि.स. २००१ मा जन्मिएका उनी २००७ सालमै मुगा छाडेर विराटनगर बसाइँ सरेका थिए । १८ वर्षको हुदा उनी राजधानी शहर काठमाडौं गएका थिए । जीवनको ऊर्जाशील समय उतै बिताएका दादा काजीले काठमाडौंमा जागिर, व्यापार र उद्योग सम्हालेर बसेका थिए ।
बुढेसकाल लाग्दै गर्दा सबै कुरो छाडेर २०५७ सालमा बिराटनगर गएका उनलाई जन्मभूमिले फेरि तानेको छ । स्थानीयको सहयोगमा आफ्नो पुरानो घर सरसफाइ र रंगरोगन गर्दै उनी गाउँ फर्कने तयारीमा लागेका छन् । उनको यो कदम अन्यका लागि पनि प्रेरणा बन्ने उनको विश्वास छ ।

यस्तै मुगाका अशोक थापा एक वर्षअघि नै मुगा फर्किसकेका छन् । कोशी प्रदेशकी पूर्वमन्त्री इन्दिरा थापाले गाउँमै ‘केयर होम’ र अस्पताल सञ्चालन गर्ने उद्देश्यसहित भवन निर्माण गरिरहेकी छन् ।
संरक्षण र पुनर्निर्माणका काम
त्यसैगरी, स्वर्गीय सूर्यबहादुर थापाको पालामा बनेको पुरानो मन्दिर अहिले पुनर्निर्माणपछि नयाँ स्वरूपमा देखिएको छ । थापाको जन्मघरलाई पनि पुनर्निर्माण गरी ‘सूर्यबहादुर थापा स्मृति संग्रहालय’ बनाउने तयारी समेत थालिएको उनका छोरा पूर्वमन्त्री सुनिलबहादुर थापाले बताए ।
प्रदेश सरकारले बजेट भाषणमार्फत पूर्वप्रधानमन्त्री तथा राष्ट्रपतिहरूका जन्मस्थललाई संरक्षण गर्दै संग्रहालयका रूपमा विकास गर्ने नीति अघि सारे अनुरुप प्रक्रिया अघि बढेको हो । यसका लागि विस्तृत अध्ययन परियोजना प्रतिवेदन संघीय सरकारमार्फत तयार भइसकेको र प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थापाको भनाइ छ । पुरानो घरको संरक्षण तथा पुनर्निर्माणका लागि परम्परागत शैलीमा काम गर्ने योजना बनाइएको छ ।
त्यसैगरी, जन्मघर रहेको जग्गा सूर्यबहादुर थापा फाउन्डेसनलाई हस्तान्तरण गरिसकिएको छ । अब प्रदेश सरकारमार्फत सामाजिक विकास मन्त्रालयले परियोजना अघि बढाउने तयारी गरेको जानकारी प्राप्त भएको थापाले बताए ।
मुगा छोडेर गएका जंगबहादुर थापा, दीपेन्द्र थापा, फौदसिंह थापा लगायतले गाउँमै बस्न नयाँ घर निर्माण गरिसकेका छन् भने अजित नारायण सिंह थापा, अर्जुन थापा, कुमार थापा लगायत समय–समयमा गाउँ आउने गरेका छन् ।
कपिल थापा र विदुर थापा भने गाउँमै निरन्तर बसोबास गर्दै आएका छन् । हरेक वर्ष कुलपूजाका लागि थापा परिवारहरूको भेला हुने परम्परा अझै कायम रहेको कपिल थापाले बताए ।
नेपाल एकीकरणसँग जोडिने मुगा
मुगा केवल एउटा गाउँ मात्र होइन, इतिहास बोकेको जीवित दस्तावेज हो । यहाँ नेपाल एकीकरणकालदेखिको इतिहास पाइन्छ । वंशावलीअनुसार पृथ्वीनारायण शाहको आदेशमा युद्ध लड्न सरदार रामकृष्ण थापा पोखराबाट गोरखा हुँदै धनकुटाको मुगामा आई बसोबास गरेका थिए । त्यसपछि थापा समुदायको बसोबाससँगै मुगाको विकास र चहलपहल बढेको इतिहास पाइन्छ ।
दुई सय वर्षभन्दा पुराना घरहरू, कलात्मक निर्माण शैली र सांस्कृतिक सम्पदाले मुगालाई विशेष बनाउँछ । मुगामा बनेका ठुला र दरवारिया शैलीका घर निर्माणको कथा बेग्लै छ ।

जुद्ध शमशेरले त्यो बेला चिनियाँ राजदूतावासबाट चियाको बिरुवा ल्याएका थिए । त्यो बिरुवा इलाम लगेर रोप्ने जिम्मा गज्राजङ थापालाई दिइएको थियो । त्यहाँबाट उनी फर्किएपछि कप्तान करवीर थापाले इलाममा चिया विस्तार गरेको कुमारबहादुर थापाले बताए ।
इलाममा बसोबास गर्दै जाँदा करवीरको आउजाउ दार्जिलिङतिर भइरहन्थ्यो । त्यही बेला दार्जिलिङबाट टाटाको टिन ल्याएर घर बनाएका थिए । त्यसपछि मुगामा दरबार शैलीका घरहरू बन्न थालेको बताइन्छ । करवीरकै घर थापाहरूको मूल घर रहेको बताइन्छ ।
पर्यटन विकासको सम्भावना
मुगाको पुनर्जागरणसँगै यस क्षेत्रलाई पर्यटनसँग जोड्ने सम्भावनाबारे पनि चर्चा सुरु भएको छ । पाख्रिबास नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष गणेश राईले पूर्व प्रधानमन्त्रीको गाउँ सहित मुगाका ऐतिहासिक घरहरू र मन्दिरहरू पर्यटकका लागि आकर्षण बन्न सक्ने बताउँछन् ।
मुगाबाट नजिकै रहेको राजदेवी सल्लेरी वन पनि प्राकृतिक सौन्दर्यको महत्वपूर्ण गन्तव्य हो । यदि यी सम्पदालाई व्यवस्थित रूपमा प्रचार–प्रसार गर्न सकियो भने मुगा आन्तरिक पर्यटनको नयाँ केन्द्र बन्न सक्ने वडाअध्यक्ष राईको भनाइ छ ।

तर, गाउँमा सम्भावना जति छ, चुनौती पनि त्यत्तिकै छन् । सडक, खानेपानी, आवास तथा अन्य आधारभूत पूर्वाधार अझै पर्याप्त बन्न नसकेको स्थानीय थामबहादुर राईले बताए ।
उनले थापाहरू फर्किन थालेपछि गाउँमा आशा जागेको भएपनि पुरानो रौनक फर्काउन पूर्वाधार सहित आधारभूत आवश्यकताको विकास अनिवार्य रहेको बताए । यसका लागि तिनै तहको सरकारले काम गर्नुपर्ने स्थानीयको भनाइ छ ।
वर्षौंसम्म गुमनाम बनेको मुगा अहिले पुन: आफ्नो पहिचान खोज्न थालेको छ । बसाइँ सरेर गएकाहरुको पुनरागमन, ऐतिहासिक संरचनाको पुनर्निर्माण र पर्यटनको सम्भावनाले गाउँमा नयाँ आशा पलाएको स्थानीय कपिल थापाको भनाइ छ । उनी भन्छन्, ‘समुदायसहित स्थानीय, प्रदेश र संघीय सरकार मिलेर योजना बनाएर अघि बढे, मुगा फेरि एकपटक चहलपहलले भरिने दिन टाढा हुनेछैन ।’
प्रतिक्रिया 4