+
+
Shares

रास्वपाको पहिलो महाधिवेशन असोजमा गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाले पहिलो महाधिवेशन असोजमा गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ।
  • वैशाखदेखि तल्लो तहमा संगठन निर्माण कार्य सुरु हुने र वडा, पालिका तहमा तदर्थ समिति गठन गरिनेछ।
  • रास्वपाको केन्द्रीय समितिको पूर्णता नपुगेको र हाल ९२ सदस्य मात्रै रहेका छन्।

२९ चैत, काठमाडौं । रास्वपाले पहिलो महाधिवेशन असोजमा गर्ने गरी आन्तरिक तयारी गरेको छ । गत ७-९ फागुनसम्म महाधिवेशन गर्ने गरी पूर्व निर्धारित कार्यतालिका चुनावले गर्दा प्रभावित भएको थियो । चितवनमा गर्ने गरी विगतमा मिति तोकिए पनि महाधिवेशन हुन सकेको थिएन ।

गत कात्तिकमा चितवनमा बसेको विस्तारित बैठकले चुनावको छ महिनापछि प्रथम महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यस अनुसार भदौभित्र महाधिवेशन गर्नुपर्ने हुन्छ ।

रास्वपा नेताहरूका अनुसार असोजमा प्रथम महाधिवेशन गर्नका लागि आन्तरिक छलफल सुरु भएको छ । रास्वपाका संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार सौराहामा भएको विस्तारित बैठकको निर्णय अनुसार महााधिवेशन गर्ने गरी पार्टीमा छलफल सुरु भएको छ ।

चुनावका कारणले रोकिएको तल्लो तहमा संगठन निर्माणको कार्य २ वैशाखदेखि सुरु हुने श्रेष्ठले जानकारी गराए । संगठन निर्माण हुन नसकेका वडा र पालिकामा तदर्थ समिति गठन गर्न लागिएको हो ।

वैशाख महिनाभर वडा र पालिकामा तदर्थ समिति एवं वडा परिषद् गठन गर्ने संगठन विभाग प्रमुख श्रेष्ठले जानकारी गराए । पार्टीको अब बस्ने केन्द्रीय समितिमा महाधिवेशनको बारेमा छलफल हुने उनले बताए ।

वैशाख र जेठमा वडा अधिवेशन, असार र साउनमा पालिका र जिल्ला, भदौमा प्रदेश अधिवेशन र असोजमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिएको छ ।

रास्वपाको निर्वाचन आयोगका अनुसार चुनावअघि ४५२ वडा र ६२ पालिकाको अधिवेशन सकिएको छ । वडा र पालिका अधिवेशन हुने स्थानहरूमा कोशी, बागमती, गण्डकी लगायतका प्रदेशका बढी छन् ।

गत कात्तिकमा सौराहामा भएको विस्तारित बैठकमा महामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले पेस गरेको सांगठनिक प्रतिवेदनमा सदस्य संख्या २ लाख ४१ हजार ७९९ पुगेको थियो । ती मध्ये १ लाख ७३ हजार ५९ जनाको प्रमाणीकरण भएको संगठन विभाग प्रमुख बुर्लाकोटीको प्रतिवेदनमा उल्लेख थियो । रास्वपाको विधान अनुसार साधारण, सक्रिय र मानार्थ गरी तीन प्रकृतिका सदस्य हुने व्यवस्था छ ।

आगामी असारमा रास्वपा गठनको चार वर्ष पुग्छ । यो चार वर्षको अवधिमा ७७ जिल्ला मध्ये डोल्पा र मनाङमा जिल्ला समिति बन्न बाँकी रहेको नेताहरूले जानकारी गराएका छन् ।

कुल ७५३ पालिकामध्ये २८९ पालिकामा र ७ हजार ६४३ वडा मध्ये ४ हजार ४८७ वडामा संगठन निर्माण गर्न सकेको छैन । संगठन विभागका सचिव श्रेष्ठले सिंगो पार्टी पंक्ति चुनावमा परिचालन भएको हुँदा संगठन निर्माण कार्यले तीव्रता पाउन नसकेको बताए ।

कर्णाली र मधेशमा संगठन निर्माण सुस्त, वडा तहको अधिवशेनमा ढिलाइ, विधान समितिको निष्क्रियता, डाटा व्यवस्थापनमा पार्टीका कमजोरी रहेको महामन्त्री बुर्लाकोटीले सांगठनिक प्रतिवेदनमा लेखेका थिए ।

महामन्त्री बुर्लाकोटीले पार्टी संगठन निर्माणले तीव्रता नहुनु एवं सबै तहका संगठन र विभागले पूर्णता पाउन नसक्नुको कारणहरू औंल्याएका थिए ।

‘नेतृत्वमा राख्नुपर्ने व्यक्तिहरू आवश्यकता अनुसार ल्याउन सकिएको छैन । आंशिक रूपमा जसले ल्याउनुपर्ने हो, बाहिरको मान्छे आउँदा थप प्रतिस्पर्धा हुन्छ र अप्ठ्यारो पर्छ भन्ने महसुस गरी क्षमतावान नयाँ व्यक्तिहरू जोड्ने प्रयास नगरेको पनि देखिन्छ,’ संगठन विभाग प्रमुख बुर्लाकोटीले प्रतिवेदनमा लेखेका थिए ।

पार्टी गठन भएको ४५ महिनामा केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । रास्वपाको विधान अनुसार केन्द्रीय समितिका सदस्यको संख्या १२९ जना हुने व्यवस्था छ । काठमाडौ महानगरका पूर्वमेयर बालेन्द्र शाह, पूर्व विवेकशील साझा लगायतबाट केन्द्रीय सदस्य थपे पनि पूर्णता भने पाउन सकेको छैन । रास्वपाको केन्द्रीय समिति सदस्य हाल ९२ जना छन् ।

केन्द्रीय समिति सहित आयोग, विभागहरुले पनि पूर्णता पाउन सकेका छैनन् । रास्वपाको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगमा विधान ११–११ जना हुने विधानको व्यवस्था छ । रास्वपाका ३९ वटा विभाग छन् । प्रत्येक विभागमा २१ जना हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?