+
+
Shares

अब रुकुम कोटमै अस्पताल

करिब १६ करोड रुपैयाँको लगानीमा बनेको अस्पतालले अब अन्तरङ्ग सेवा, प्रयोगशाला, एक्स-रे, दन्त उपचार, फिजियोथेरापी, सुत्केरी तथा नवजात शिशु सेवा लगायत सुविधा उपलब्ध गराइरहेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा नयाँ अस्पताल भवन उद्घाटन गर्नुभएको छ।
  • नयाँ अस्पतालले ५० शय्याबाट सेवा दिन थालेको छ र अन्तरङ्ग सेवा, प्रयोगशाला, एक्स-रे, दन्त उपचार, फिजियोथेरापी, सुत्केरी तथा नवजात शिशु सेवा उपलब्ध गराइरहेको छ।
  • स्वास्थ्य मन्त्री खेमबहादुर सारुले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखिएको र विशेषज्ञ चिकित्सक अभाव क्रमशः समाधान गरिने बताउनुभएको छ।

‍२९ चैत, रुकुमपूर्व । हिमाली जिल्ला रुकुमपूर्वका बासिन्दाले अब उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता केही हदसम्म घट्ने अपेक्षा गरिएको छ । सिस्ने गाउँपालिका–५ रुकुमकोटमा निर्माण सम्पन्न नयाँ अस्पताल भवन सञ्चालनमा आएसँगै सेवा विस्तार हुने अपेक्षा गरिएको हो ।

आइतबार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले भवन उद्घाटन गरे । अस्पतालले ५० शय्याबाट सेवा दिन थालेको छ । यसअघि सामान्य संरचनामा सीमित सेवा दिँदै आएको अस्पताल अब भौतिक र सेवागत दुवै हिसाबले विस्तार भएको हो ।

मुख्यमन्त्री आचार्यले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तारलाई प्रदेश सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताए। उनले जनशक्ति व्यवस्थापनमा सुधार ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै विशेषज्ञ चिकित्सक अभावलाई क्रमशः समाधान गरिने प्रतिबद्धता जनाए ।

स्वास्थ्य मन्त्री खेमबहादुर सारुले पनि दुर्गम क्षेत्रमा सेवा प्रवाह सुदृढ बनाउने नीति कार्यान्वयनमा रहेको जानकारी दिए । उनका अनुसार पहिले दुर्गम क्षेत्रमा जान नचाहने प्रवृत्ति रहेको भए पनि अहिले क्रमशः त्यसमा परिवर्तन आउन थालेको छ।

करिब १६ करोड रुपैयाँको लगानीमा बनेको अस्पतालले अब अन्तरङ्ग सेवा, प्रयोगशाला, एक्स-रे, दन्त उपचार, फिजियोथेरापी, सुत्केरी तथा नवजात शिशु सेवा लगायत सुविधा उपलब्ध गराइरहेको छ। दैनिक करिब एक सय बिरामीले सेवा लिइरहेका छन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खरालका अनुसार सेवा विस्तारसँगै बिरामीको चाप पनि बढ्दै गएको छ। ‘पहिलेको तुलनामा सेवा सहज भएको छ, बिरामीको विश्वास पनि बढेको देखिन्छ,’ उनले भने।

संघीय संरचनापछि छुट्टै जिल्ला बनेको रुकुम पूर्वमा लामो समयसम्म स्वास्थ्य सेवा सीमित साधनमै सञ्चालन हुँदै आएको थियो। २०७८ मा सुरु भएको भवन निर्माण सम्पन्न भएसँगै अब जिल्लामै आधारभूतदेखि केही विशेषज्ञ सेवा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?