३० चैत, धनगढी । धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत विभिन्न वडामा जडान गरिएका स्मार्ट स्ट्रीट लाइटको उद्घाटन गरेको छ । आइतबार उपमहानगरपालिकाका नौ स्थानमा एकैपटक स्मार्ट स्ट्रीट लाइट उद्घाटन गरिएको हो ।
उपमहानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार ‘एक वडा, एक आर्थिक केन्द्र (बजार क्षेत्र)’ निर्माण गर्ने उद्देश्यसहित ‘उज्यालो धनगढी’ अभियानको आठौं चरण अन्तर्गत विभिन्न वडामा बत्ती जडान गरिएको हो ।
विभिन्न वडाका स्थानमा वडा अध्यक्षसहित जनप्रतिनिधिहरूले एकैसाथ सडक बत्ती उद्घाटन गरेका हुन् । कार्यक्रमअनुसार वडा नम्बर १ को नोभा अस्पताल अगाडि र सेतोपुल नजिक स्मार्ट स्ट्रीट लाइट उद्घाटन गरिएको छ । कैलाली पुलदेखि क्याम्पस रोडसम्म जडान गरिएको सडक बत्तीको उद्घाटन वडा अध्यक्ष सन्तोष मुडभरी र वडा सदस्यहरूले गरेका हुन् ।
उक्त अवसरमा नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकलाकुमारी राना, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
वडानम्बर ३ को फाप्ला जाने सडकमा जडान गरिएको बत्तीको उद्घाटन विवेक दाना मिल अगाडि वडा अध्यक्ष राजबहादुर ऐर ले गरेका छन् ।कार्यक्रममा वडा सदस्य र स्थानीयवासीको सहभागिता रहेको थियो ।
त्यस्तै वडानम्बर ७ मा बेली हनुमान मन्दिरदेखि सेतोपुलसम्मको सडक खण्डमा जडान गरिएको बत्तीको उद्घाटन जुगेडा जाने सडक नजिक तथा मनेहरा पुरानो वडा कार्यालय नजिक वडा अध्यक्ष मोती रानाले गरेका छन् ।
वडानम्बर ८ मा अनामनगर हुलाकी सडकमा जडान गरिएको बत्तीको उद्घाटन मनेहरा गाउँ जाने चोक नजिक वडा अध्यक्ष जुगराम चौधरी ले गरेका छन् । उक्त अवसरमा सर्वसाधारण वडावासीको उपस्थिति रहेको थियो ।
यस्तै वडानम्बर ११ मा बेला चोकदेखि थापाचोकसम्म जडान गरिएको सडक बत्तीको उद्घाटन बेलास्थित उपाध्याय मिल नजिक वडा अध्यक्ष रूप बहादुर कुँवरले गरेका छन् ।
यसैगरी वडा नम्बर १२ मा जुगेडा ‘ए’ गाउँमा जडान गरिएको बत्तीको उद्घाटन सेन्टर प्लट नजिक वडा अध्यक्ष शेर बहादुर महरा ले गरेका छन् । त्यसैगरी वडा नम्बर १७ को घुर्जन्ना क्षेत्रमा जडान गरिएको बत्तीको उद्घाटन वडा कार्यालय अगाडि वडा अध्यक्ष माधव रानाले गरेका हुन् । उक्त अवसरमा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘उज्यालो धनगढी’ कार्यक्रमको यो आठौं चरण हो। यस कार्यक्रमले नगर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र थप उज्यालो बनाउने विश्वास लिइएको छ । साथै, स्थानीय बजार क्षेत्रको विकास र आर्थिक गतिविधि विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4