+
+
Shares

लोप हुँदै झिँगटीको छाना

तेह्रथुमका ग्रामीण बस्तीहरूमा झिँगटी बनाउने सीप पनि हराउँदै गएको छ। पहिले गाउँमै माटोबाट झिँगटी बनाउने र छाउने सीप भएका कालिगढहरू हुन्थे। तर अहिले त्यो सीप नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन।

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८२ चैत ३० गते १०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमका गाउँहरूमा झिँगटीको छाना परम्परागत रूपमा घरको छानामा प्रयोग हुँदै आएको थियो, तर अहिले तीव्र रूपमा लोप हुँदै गएको छ।
  • झिँगटीको छानाले घरभित्र तापक्रम सन्तुलित राख्ने काम गर्छ, जबकि टिनका छानाले गर्मीमा अत्यधिक ताप र जाडोमा चिसो बढाउने समस्या हुन्छ।
  • स्थानीय तह र समुदायले झिँगटी बनाउने सीप संरक्षण, तालिम र पर्यटन प्रवर्द्धनमार्फत यसको संरक्षण गर्नुपर्ने बताइएको छ।

३० चैत, तेह्रथुम । तेह्रथुमका म्याङलुङदेखि छथर, फेदाप, आठराई, लालीगुराँसलगायतका गाउँका बस्तीहरूमा एक समय घरको छानामाथि सजिने झिँगटीको छाना आज बिस्तारै इतिहास बन्दै गएको छ। ग्रामीण समाजको जीवनशैली, पहिचान र सांस्कृतिक विरासतसँग गहिरो सम्बन्ध राख्ने यो परम्परागत छाना पछिल्लो समय तीव्र रूपमा लोप हुँदै गएको हो ।

तेह्रथुमका गाउँहरूमा ढुङ्गा–माटोले बनेका घर र तिनका माथि मिलाएर राखिएका झिँगटीका छानाहरूले एक अलग्गै सौन्दर्य दिन्थे। विशेषगरी हुनेखाने, ठुलाबडा, सुब्बा तथा मुखिया वर्गका घरहरूमा झिँगटीको छाना हुनु प्रतिष्ठा र सम्पन्नताको प्रतीक मानिन्थ्यो।

गाउँको बीचमा उभिएका यस्तो घरहरूले सामाजिक प्रभाव, आर्थिक अवस्था र सांस्कृतिक पहिचान झल्काउँथे। ग्रामीण समाजमा यस्ता घरलाई सम्मानका साथ हेरिने गरिन्थ्यो, जसले वर्गीय संरचना र जीवनशैलीको भिन्नतालाई समेत संकेत गर्थ्यो ।

तर अहिले तेह्रथुमका अधिकांश गाउँहरूमा दृश्य फेरिएको छ। कच्ची बाटो हुँदै पक्की बन्दै गरेका सडक, गाउँसम्म पुगेको आधुनिकता, बजारसँगको पहुँच र नयाँ निर्माण सामग्रीहरूको सहज उपलब्धतासँगै टिनका छाना र कङ्क्रिट घरहरू तीव्र रूपमा विस्तार भइरहेका छन्। सस्तो, छिटो र सजिलो विकल्पका रूपमा टिन लोकप्रिय बन्दै जाँदा झिँगटीजस्ता परम्परागत सामग्रीहरू ओझेलमा परेका छन्।

म्याङलुङ नगरपालिका–२ का स्थानीय लीलाबहादुर तुम्बाहाङफे भन्छन्, ‘पहिले गाउँघरमा झिँगटीको छाना भएको घर निकै सम्मानित मानिन्थ्यो। अहिले त गाउँमा पनि टिन र सिमेन्टका घर बढे, झिँगटी छाउने चलन हराउँदै गयो।’

उनका अनुसार, झिँगटी बनाउने र छाउने सीप भएका कालिगढहरू अहिले गाउँमा भेटिनै छोडेका छन् । उनले थपे, ‘अब त यसको संरक्षण नै कसरी गर्ने भन्ने पो भयो त !’

झिँगटीको छानाको विशेषता भनेको यसको प्राकृतिक सन्तुलन क्षमता हो। अत्यधिक गर्मी र जाडो हुने मौसममा पनि झिँगटीको छानाले घरभित्रको तापक्रम सन्तुलित राख्ने काम गर्छ। गर्मीमा चिसोपन र जाडोमा न्यानोपन दिने यो छानाभित्र बस्दा वातावरण अनुकूलनको अनुभूति हुन्छ । तर अहिलेका टिनका छानाले गर्मीमा अत्यधिक ताप दिने र जाडोमा चिसो बढाउने समस्या ग्रामीण बासिन्दाले भोगिरहेका छन्।

स्थानीयवासी खगेन्द्रप्रसाद ढकाल भन्छन्, ‘समाज बदलिँदै जाँदा पुराना संरचना र चलनहरू पनि हराउँदै गएका छन्। झिँगटीको छाना पनि त्यही परिवर्तनसँगै हराउँदै गएको हो।’ उनका अनुसार ग्रामीण समाजको पुरानो संरचना, जीवनशैली र परम्परागत ज्ञान क्रमशः कमजोर बन्दै गएको छ।

यस्तै, छथर–५ का स्थानीयवासी सीता लिम्बु भन्छिन्, ‘गाउँमा पहिले झिँगटीका घर धेरै हुन्थे, अहिले त गन्न मिल्ने मात्र छन्। नयाँ पुस्ता पुरानो बनाउन चाहँदैन, सबैलाई आधुनिक घर चाहिएको छ।’

तेह्रथुमका ग्रामीण बस्तीहरूमा झिँगटी बनाउने सीप पनि हराउँदै गएको छ। पहिले गाउँमै माटोबाट झिँगटी बनाउने र छाउने सीप भएका कालिगढहरू हुन्थे। तर अहिले त्यो सीप नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन।

वैदेशिक रोजगारी, शिक्षाको खोजी र वैकल्पिक पेसातर्फ युवाहरू आकर्षित हुँदा यस्ता परम्परागत सीपहरू ओझेलमा परेका छन्। यसरी हेर्दा, झिँगटीको छानासँगै ग्रामीण जीवनशैली, सामाजिक संरचना र सांस्कृतिक पहिचानका केही पक्षहरू समेत लोपोन्मुख बनेका छन् । अहिले विकासका नाममा भइरहेको भौतिक परिवर्तनले परम्परागत ज्ञान र अभ्यासहरूलाई विस्थापित गरिरहेको छ।

झिँगटीको छाना हाम्रो विगतको जीवित दस्तावेज हो। यसले ग्रामीण समाजको इतिहास, प्रविधि, वातावरणीय ज्ञान र सांस्कृतिक मूल्यलाई एकसाथ बोकेको छ। यसको संरक्षण नगर्ने हो भने भोलिका पुस्ताले यसलाई केवल किताबमा पढ्नेछन्, गाउँमा देख्न पाउने छैनन्।

त्यसैले स्थानीय तह, सरोकारवाला निकाय र समुदाय मिलेर यसको संरक्षणमा लाग्नुपर्छ। झिँगटी बनाउने सीपको संरक्षण, तालिम कार्यक्रम सञ्चालन, परम्परागत घर निर्माणमा प्रोत्साहन र पर्यटनसँग जोडेर प्रवर्द्धन गर्नेजस्ता प्रयासहरूले मात्र यो मौलिक सम्पदा जोगाउन सकिन्छ।

तेह्रथुमका ग्रामीण भेगमा हराउँदै गएका झिँगटीका छाना हाम्रो पहिचानको आधार हो। यसलाई जोगाउनु भनेको आफ्नै इतिहास, संस्कृति र अस्तित्व जोगाउनु हो।

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?