+
+
Shares

मन्त्रीका प्यान नम्बर : नभएको कि लुकाएको ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते २०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले आय विवरण र कर चुक्ता रेकर्डलाई वित्तीय इमान्दारिता मूल्यांकनको विश्वसनीय आधार भनेका छन्।
  • आधा दर्जन मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा स्थायी लेखा नम्बर (प्यान) उल्लेख नगरेको पाइएको छ।
  • मन्त्रीहरूले करोडौंको सम्पत्ति भए पनि प्यान नम्बर नदिएकाले कर प्रणालीमा पारदर्शिता नआएको वरिष्ठ कर अधिकृतले बताए।

३० चैत, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले फेसबुकमा स्टाटस लेखे, ‘सम्पत्ति विवरण घोषणा सामान्यतया विश्वासिला हुँदैनन् ।

त्यसको साटो कसैको वित्तीय इमान्दारिता मूल्यांकन गर्न आन्तरिक राजस्व कार्यालयमा पेश गरिएको आय विवरण र कर चुक्ताका रेकर्डहरूले विश्वसनीय, पारदर्शी र प्रमाणिक आधार प्रदान गर्दछन् ।’

तर, गजबको कुरा के छ भने आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेका आधा दर्जन मन्त्रीहरूले स्थायी लेखा नम्बर (प्यान) नै सार्वजनिक गरेका छैनन् । हरेक औपचारिक वित्तीय कारोबार वा भुक्तानीमा प्यान अनिवार्य चाहिन्छ । यस्तो नियम आएकै ७ वर्ष पुगिसकेको छ । तर, करोडौंको सम्पत्ति भएका, घरजग्गा, सुन, सेयरको स्वामित्व भएका मन्त्रीहरूको प्यान नम्बर नै नहुनु अचम्मको विषय भएको एक वरिष्ठ कर अधिकृतले अनलाइनखबरलाई बताए ।

प्यान नम्बरमार्फत कारोबार गर्दा मात्र व्यक्तिले कति कर तिरिरहेको छ भन्ने समेत स्पष्ट देखिन्छ । तर, मन्त्रीहरूले प्यान नम्बर भए पनि उल्लेख नगरेको हुन सक्ने उनले बताए ।

‘आफ्नो कर भुक्तानी र कारोबारको विषय पारदर्शी नहोस् भन्ने मनसायका साथ प्यान नम्बर सार्वजनिक नगरेको हुनपर्छ,’ उनले भने ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँग नै स्थायी लेखा नम्बर नभएको सम्पत्ति विवरणबाट देखिन्छ । उनले सम्पत्ति विवरणमा ३० तोला सुन, ५० तोला चाँदी, बैंक खातामा ९० लाख नगदसहितका विवरण भरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बुझाएको सम्पत्ति विवरणमा समेत प्यान नम्बर छैन । प्रतिभा रावलको आफ्नै नाममा काठमाडौं र बारामा जग्गा रहेको देखिन्छ । उनले आयस्रोत श्रीमानको आम्दानी भनेर देखाएकी छिन् । उनको २५ तोला सुन र विभिन्न बैंक खातामा २४ लाख भन्दा बढी नगद रहेको देखिन्छ । साथै उनले विभिन्न कम्पनीमा आइपीओ समेत भरेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्री निशा मेहताले समेत प्यान नम्बरविना नै कारोबार गरिरहेको देखिएको छ । काठमाडौंमा आफ्नै नाममा जग्गा, ३० तोला सुन र ५० तोला चाँदी, विभिन्न बैंकमा खाता खोलेर नगद मौज्दात राखेको देखिन्छ । साथै उनले सेयर समेत भरेको देखिन्छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका पिता नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् । उनले २४ करोड रुपैयाँभन्दा माथिको सम्पत्ति देखाएका छन् । अधिकांश स्रोत बुबाको कमाईबाट भएको उनले उल्लेख गरेका छन् । तर, सस्मित स्वयम्को प्यान नम्बर उल्लेख छैन ।

अहिले हरेक बैंकिङ कारोबारमा प्यान नम्बर अनिवार्य छ । त्यस्तो अवस्थामा सस्मितको कारोबार समेत कर प्रणालीको दायरा भित्र नरहेको उनको सम्पत्ति विवरणबाट देखिन्छ ।

उद्योगमन्त्री गौरीकुमारी यादवको कारोबार समेत करको दायरामा देखिँदैन । उनको आफ्नै नाममा काठमाडौंमा घर रहेको देखिन्छ । साथै काठमाडौंसहित विभिन्न स्थानमा समेत जग्गा रहेको छ । सुन १८० तोला, २ किलो चाँदी र हिरा समेत रहेको सम्पत्ति विवरणमा उल्लेख छ । तर, उनले प्यान नम्बर राखेकी छैनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले समेत सम्पत्ति विवरणमा प्यान नम्बर राखेका छैनन् । उनको विभिन्न स्थानमा जग्गा रहेको देखिन्छ । ८० तोला सुन, १५० तोला चाँदी, बैंकमा ७० लाख भन्दा धेरै नगद रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?