News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाका टेक्सास विश्वविद्यालयका सहप्राध्यापक एरोन स्यान्डेलसहितको टोलीले युगान्डाको किबाले राष्ट्रिय निकुञ्जमा २४ वर्षको अनुसन्धानमा चिम्पान्जीहरूको गृहयुद्ध भएको पत्ता लगाएको छ।
- सन् २०१५ देखि न्गोगो चिम्पान्जी समूह दुई फरक समूहमा विभाजित भई पश्चिमी समूहले केन्द्रीय समूहमाथि २४ पटक आक्रमण गरी ७ भाले र १७ शिशु मार्न थालेको छ।
- अनुसन्धानले देखाएको छ कि समूह विभाजनपछि हरेक वर्ष औसतमा एउटा वयस्क भाले र दुई बच्चा चिम्पान्जीको मृत्यु हुन्छ, जसले केन्द्रीय समूहको अस्तित्व संकटमा परेको छ।
गत साता प्रसिद्ध साइन्स जर्नलमा एउटा अनुसन्धान छापियो । अनुसन्धान पढ्दै जाँदा मलाई निकै नै रोचक लाग्यो । अनुसन्धान थियो, चिम्पान्जीहरूको गृहयुद्ध । मानिसमा जस्तै चिम्पान्जीहरूको पनि गृहयुद्ध हुन्छ ? सुरुमा मलाई अचम्म लाग्यो, पढ्दै गएपछि ध्यान खिच्यो ।
अफ्रिकाको युगान्डास्थित किबाले राष्ट्रिय निकुञ्जमा रहेका न्गोगो चिम्पान्जीको समूहमा गरिएको २४ वर्षको सामाजिक परिवेश र ३० वर्षको जनसंख्याकि तथ्यांकको विश्लेषणले वैज्ञानिकहरूले गृहयुद्ध भएको अनुसन्धानको निष्कर्ष छ ।
एउटै समूहका चिम्पान्जीहरू छुट्टिँदै फरक समूहमा रुपान्तरण भएपछि गृहयुद्धको रुपमा लिएको अनुसन्धानको निष्कर्ष हो ।
एउटा समूहले अर्को समूहलाई ७ वर्षको अन्तरलालमा २४ पटक आक्रमण गर्दा ७ वटा भाले र १७ वटा शिशु चिम्पान्जी मारेको उल्लेख छ ।
यो विषयका बारेमा पढ्दै गएपछि यसबारे लेख्ने हुटहुटी भयो ।
वैज्ञानिकहरूले यो विभाजनलाई चाँही विभिन्न तीन चरणमा भएको निष्कर्ष निकालेका छन् । पहिला यो प्रजातिहरूका समूहरूबीच ध्रुवीकरण वा भनौँ समूहको एकता टुट्ने र गुटहरू निर्माण भयो ।
समूहभित्र बनेका गुटले एक अर्कोलाई पन्छाउँदै पूर्णरुपमा फरक समूहको निर्माण भयो । त्यस्तै, पहिला एउटै समूहमा रहेका सदस्यहरूबीच एकअर्कालाई मार्नेसम्मको घटना भएको छ ।
यो लेखमा यी चिम्पान्जीको गृहयुद्धको कुराको चर्चा गर्नुअघि वन्यजन्तुसँग उनीहरूको केही आनीबानी बुझुनुपर्ने हुन्छ ।
गाँस र बास वन्यजन्तुको प्रमुख विषयभित्र पर्छन् । यही चिजकै लागि उनीहरू लड्ने गरेका घटनाहरू सामान्य लाग्छन् । वन्यजन्तुहरूको इलाका बनाएर बस्छन् । कुकुरदेखि बाघको आ-आफ्नो इलाका हुन्छ । जंगलमा प्रसिद्ध वैज्ञानिक चाल्र्स डार्बिनले भनेजस्तै बाँच्नका लागि संघर्ष सधैँ हुन्छ । जसले सक्छ, त्यो बस्छ जसले सक्दैन विलुप्त भएर जान्छ ।

मानिसमा पनि त्यही लागू हुन्छ । शक्ति र सत्ता हुने नै शक्तिशाली हुन्छन् । यी दुई चीज आर्जन गर्नका लागि स्रोत चाहिन्छ । त्यही स्रोतका लागि लडाईँ र युद्ध हुने गर्छ ।
न्याउरीमुसादेखि बाँदरसम्मका प्रजातिहरूमा समूगत द्वन्द्वलाई सामान्य नै मानिन्छ । पहिल्यै एउटै समूहमा मिलेर बसेका प्रजातिको समूह छुट्टिएर बनेको नयाँ समूहबीचको द्वन्द्वमा केही फरक भने पक्कै हुन्छ । चिम्पान्जीको हकमा यो विषय नयाँ नै हो ।
चिम्पान्जी हाम्रो मानव प्रजातिको सबैभन्दा नजिकको वैज्ञानिक नातेदारमा पर्छ । उनीहरूका केही विषय मानिससँग पनि मिल्छन् । समूहमा बस्छन्, सँगै खान्छन्, हिँड्छन अनि झगडा पनि गर्छन् ।
उनीहरू आफ्नो क्षेत्र(इलाका)को सुरक्षा गर्दै समूहका सदस्यहरूको रक्षा गर्छन् । आक्रमण गरेपनि बाहिरको समूहलाई गर्छन् । कहिलेकाहिँ चिम्पान्जीहरूमा परिचित प्रजातिहरूसँग पनि आक्रमण हुने गर्ने केही अध्ययनहरूले देखाएका छन् ।
प्रायः चिम्पान्जीहरू खाना, सम्भोग गर्ने साथी र ओहदाका लागि झगडा गर्छन् । हरेक समूहमा एउटा नाइके हुन्छ । नाइके भाले हुन्छ र समूहमा उसैको नियम लागू हुन्छ । ऊ बलवान हुनुका साथै समूहमा उसैका निर्णय लागू हुन्छ ।
बाँदरहरूमा ‘अल्फा मेल’ नाइके हुन्छ । समूहभित्र पनि विभिन्न उपसमूह (गुट) हुने गर्छ । चिम्पान्जी प्रजातिका भालेहरू जीवनभर एउटा समूहमा बस्छन् । पोथी चिम्पान्जी चाँही प्रजनन् गर्न योग्य भएपछि समूहबाट छुटिटन्छे ।
कसरी भयो विग्रह ?
चिम्पान्जीको यो गृहयुद्ध चाँही युगान्डाको किबाले राष्ट्रिय निकुञ्जमा भएको हो । त्यहाँ पाइने न्गोगो चिम्पान्जीमाथि वर्षौँदेखि अनुसन्धान भइरहेको छ । उक्त अनुसन्धानका लागि अमेरिकाका नेशनल साइन्स फाउन्डेशन(एनएसएफ)ले सहयोग गर्दै आएको छ ।
न्गोगो समूहका चिम्पान्जीको समूह विश्वको सबैभन्दा ठूलो चिम्पान्जीको समूह थियो । जसमा करिब २ सय सदस्य थिए । यो समूह यति शक्तिशाली थियो कि फरक समूहका चिम्पान्जीलाई दबाएर राख्थ्यो । समूहमा धेरै जनसंख्याका कारण त्यसभित्र बढेको दूरीले नै समूहमा विचलन आएको अध्ययनको निष्कर्ष छ ।

यो समूहको झगडाको बिजारोपण चाँही सन् २०१५ देखि सुरु हुन्छ । धेरै संख्याका कारण गुट तथा उपसमूहरू निर्माण हुन थाल्छ । ती उपसमूहलाई अनुसन्धाकर्ताहरूले पश्चिम र मध्य समूह भनेर अनुसन्धाकर्ताहरूले नाम दिएका छन् । केही मुख्य र भाले चिम्पान्जीहरूको प्राकृतिक र झगडाका कारण मृत्यु हुन्छ ।
अनुसन्धानमा भनिएको छ, ‘विस्तारै यिनीहरूमा ‘सोसियल डिसिपेसन’ अर्थात् सामाजिक संरचना भत्कदै गयो । जसका कारण उनीहरूले एक अर्कालाई आक्रमण गर्न एम्बुस नै थापे ।’
मिलेर बस्ने सामाजिक संरचना भत्कदै जाँदा उनीहरूले योजनाबद्ध रुपमा समूहका सदस्यहरूलाई आक्रमण गर्न थाल्छन् ।
अनुसन्धानका मुख्य लेखक समेत रहेका अस्टिनस्थित टेक्सास विश्वविद्यालयका सहप्राध्यापक एरोन स्यान्डेलसहित अन्य सहलेखहरू रहेको यो अनुसन्धानमा उल्लेख भए अनुसार सुरुवातमा चिम्पान्जीहरू मिलेर बसेका थिए । न्गोगो चिम्पान्जीमाथि विगत ३० वर्षदेखि अनुसन्धान भइरहेको छ ।
उसो त चिम्पान्जी प्रजातिमा मिल्ने र छुट्टिने पक्रिया तीव्र हुन्छ । यसलाई फिसन र फ्यूजन पनि भनिन्छ । समूहमा रहेका चिम्पान्जीहरू दिनभरी स–साना टोली बनाएर हिँडछन् । टोलीहरूमा आउने र जाने क्रम भइरहन्छ । चिम्पान्जीहरू फेरिरहन्छन् ।
साँझ परेपछि उनीहरू सबै आफ्नो इलाका क्षेत्रमा आएर समूहमा नै बस्दै आएका थिए । अध्ययनमा अनुसन्धानकर्ताहरूले ती चिम्पान्जीको सामाजिक अवस्थालाई विश्लेषण गरेका थिए ।
सन् १९९८ देखि न्गोगो चिम्पान्जीको अनुसन्धान परियोजनाका क्रममा ७७ वटा चिम्पान्जीको बानी व्यवहारलाई नजिकैबाट नियाल्ने काम हुदै आएको छ । कुनै चिम्पान्जी कसको नजिक बस्छ, कसले कसको कपाल चलाइदिने भन्ने कुराको अभिलेख छ । हरेक चिम्पान्जीको एउटा कोड नाम दिइएको छ । अनुसन्धानकर्ताहरूले उनीहरूको बानीव्यहोरा हेर्दै विभिन्न समूहको अध्ययन गरे ।
सन् १९९८ देखि २०१४ सम्म समूहभित्र २ देखि ४ वटा उपसमूह थिए । मुख्यतः पश्चिमी र केन्द्रीय समूह । अनुसन्धानमा उल्लेख भए अनुसार चिम्पान्जीका ती दुवै समूह स्थिर थिएनन् ।

‘करिब २९ प्रतिशत चिम्पान्जीहरू हरेक वर्ष एउटा उपसमूहबाट अर्कोमा आउने र जाने गर्थे,’ अनुसन्धानमा भनिएको छ, ‘यसका बाबजुत पनि केही भालेहरूबीच भने निकै घनिष्ठ सम्बन्ध थियो । पछि यिनै भालेहरू समूह विभाजन हुँदा नयाँ समूहको मेरुदण्ड बने ।’
समूह विभाजन हुनुअघि उनीहरूको सबैले एउटै जंगलको भूभाग प्रयोग गर्थे । प्रजनन् सम्बन्धमा पनि साझा नै थियो । तर, सन् २००४ देखि २०१४ सम्म जन्मिएका बच्चाका आमा र बुबा फरक फरक उपसमूहका थिए । त्यो बेलासम्म उनीहरूबीच कुनै पनि शत्रुता नभएको अनुसन्धानमा उल्लेख छ ।
जब धुव्रीकरण सुरु भयो
सन् २०१५ को २४ जुनमा अनुसन्धानकर्ताहरूले अनौठो दृश्य देखे । पश्चिमी र केन्द्रीय गुटका चिम्पान्जीहरू आफ्नो इलाकाको बीच भागमा झुम्मिए । सामान्य अवस्थामा उनीहरूबीच भेट हुँदा मिलेर बस्थे ।
‘त्यस दिन त्यसो भएन,’ अनुसन्धानमा भनिएको छ, ‘पश्चिमी गुटका चिम्पान्जीहरू डराएर भागे । उनीहरूलाई केन्द्रीय गुटका चिम्पान्जीले लेखेटे ।’ उनीहरूले एक अर्काको गुटलाई करिब ६ हप्तासम्म पूर्ण रुपमा पन्छाउँदै हिँड्न थाले । यसअघि यस्तो घटना कहिल्यै अभिलेख नभएको अनुसन्धानकर्ताले बताएका छन् ।
यो घटनालाई चिम्पान्जीको अध्ययनका २४ वर्षको इतिहासमा सबैभन्दा ठूला परिवर्तनको बिन्दुको रुपमा उक्त वर्षलाई पहिचान गरिएको थियो ।

यसलाई वैज्ञानिकहरूले स्ट्रक्चरल ट्रान्जिसनको रुपमा व्याख्या गरेका छन् । त्यसपछि विस्तारै चिम्पान्जीहरूबीचको आपसी सम्बन्धका कारण विभिन्न समूहरू छुट्टिन थाले । सन् २०१८ सम्म पुग्दा स्पष्ट रुपमा दुई वटा समूह बनेको अनुसन्धानमा उल्लेख छ ।
पहिला एउटै भूगोल र इलाकामा एउटा ठुलो समूह बस्दै आएको इलाकामा दुईवटा फरक समूह निर्माण भयो । उनीहरूबीच प्रजननमा पनि ठूलो परिवर्तन आयो ।
सन् २०१५ को मार्चपछि फरक फरक समूहका चिम्पान्जीहरूबीच सन्तान जन्मिन नै छाडेको अनुसन्धानमा उल्लेख छ । त्यसपछि जन्मिएका सबै चिम्पान्जीका बच्चाहरू आफ्नै समूहभित्रका आमाबाबुबाट जन्मिएका थिए । त्यसबेला पश्चिमी समूहका २२ र केन्द्रीय समूहका २६ वटा बच्चा जन्मिएका थिए ।
सन् २०१८मा पश्चिमी समूहमा १० वटा भाले र २२ वटा वयस्क पोथीहरू भए । केन्द्रीय समूहमा ३० वटा वयस्क भाले र ३९ वटा पोथी चिम्पान्जीहरू समूहमा थिए । यद्यपि केन्द्रीय समूहका पोथीहरू भने कहिलेकाँही पश्चिमी समूहका फलफूलका बोटहरूमा देखिने गरेको अध्यनयमा उल्लेख छ । सन् २०१८ पछि भने उनीहरूबीचमा कुनै पनि किसिमको सम्बन्ध नै बाँकी रहेन । उनीहरू पूर्ण रुपमा फरक र शत्रुतापूर्ण समूहमा परिणत भइसकेका थिए ।
चिम्पान्जीहरूको युद्ध
विभाजन भएपछि चिम्पान्जीको समूह त्यसयता आक्रमणमा उत्रन थाल्यो । पूर्ण रुपमा अलग भएपछि पश्चिमी समूहका चिम्पान्जीहरूले आफ्नो पूर्व साथीहरू रहेको केन्द्रीय समूहका चिम्पान्जीहरूमाथि पटक पटक सामूहिक रुपमा घातक आक्रमण गर्न थाल्यो ।
पश्चिमी समूहका चिम्पान्जीहरूले योजनाबद्ध रुपमा केन्द्रीय समूहको इलाकामा गस्ती अर्थात् प्याट्रोल गर्न थाल्यो । त्यसक्रममा अनुसन्धानकर्ताहरूले ६ वटा घातक आक्रमण प्रत्यक्ष रुपमा देखे । जहाँ वयस्क भालेहरू मारिए ।
सन् २०२१ देखि यो हिंसा अझ भयानक बन्यो । वयस्क भालेहरूबाट बच्चाहरूतर्फ मोडियो । पश्चिमी समूहका भालेहरूले केन्द्रीय समूहका १४ वटा बच्चाको हत्या गरे ।
जसमा ६ वटा पोथी, ६ वटा भाले र २ वटा लिंग नुखुलेका थिए । यस्तै, अन्य थप ३ वटा बच्चाको पनि हत्या भएको अनुमान छ । औसतमा सन् २०१८ देखि २०२४को बीचमा पश्चिमी समूहले केन्द्रीय समूहका एउटा वयस्क भाले र २ वटा बच्चा हरेक वर्ष मारिरहेका छन् ।
अध्ययनमा केन्द्रीय समूहका पनि मृत्यु हुनेको संख्या यो भन्दा बढी हुने अनुमान छ । सन् २०२१ देखि २०२४को बीचममा केन्द्रीय समूहमा १४ वटा भाले चिम्पान्जीहरू बेपत्ता भए वा मरे ।

उनीहरू मर्नुअघि बिरामी पनि थिएनन् । तर, उनीहरूको शव कहिल्यै फेला नपरको अध्ययनमा उल्लेख छ । अध्ययनले ती चिम्पान्जीहरू पनि पश्चिमी समूहको घातक आक्रमणकै शिकार भएको जिकिर गरेको छ ।
विभाजनको कारण
वैज्ञानिकहरूले चिम्पान्जीहरूमा विभाजन आउनुमा चाँही धेरै मात्रामा न्गोगो चिम्पान्जीजीको संख्यालाई मानेका छन् । जहाँ ३० भन्दा बढी वयस्क भालेहरू थिए । जसका कारणका समूहमा सबैले सबैसँग राम्रो सम्बन्ध राख्न पनि गाह्रो भयो । खानाका लागि चिम्पान्जीहरूबीच मारामारको अवस्थाले पनि उनीहरूमा विभाजन भयो । यस्तै, समूह छुटिनुअघि नै भालेभालेबीच प्रजनन्का लागि प्रतिस्पर्धा बढ्दा पनि विभाजन भएको थियो ।
यस्तै, समूहमा सन् २०१५मा नयाँ नाइके फेरियो । जसका कारण पनि समूहभित्र तनाव बढायो । सन् २०१७ मा २५ वटा चिम्पान्जी रोगका कारणले मरे । जसले समूहलाई दुई टुक्रा बनाउन मद्दत गरेको अध्ययनमा उल्लेख छ ।
सामान्यतः चिम्पान्जीहरू आफ्नो समूहका सदस्यहरूलाई चिन्छन् । उनीहरू आफ्नो र अर्कोलाई चिन्ने क्षमता राख्छन् । मारे पनि अपरिचितलाई मार्दैनन् । तर न्गोगोमा वर्षौसम्म सँगै बसेका, खाएका, सुतेका, कपाल चिलाइदिएका साथीहरू नै बैरी बने ।

फरक समूहमा गएकै आधारमा चिम्पान्जीहरूले एकअर्कालाई तारो बनाउँदै आक्रमणमा उत्रिए । ‘सानो समूह रहेको पश्चिमी समूहले नै ठूलो समूह रहेको केन्द्रीय समूहमाथि लगायतार आक्रमण गर्यो । र, यसले जित्यो,’ अनुसन्धानमा भनिएको छ, ‘यसले संख्या भन्दा पनि एकता र घनिष्ठ सम्बन्ध शक्तिशाली हुन्छ ।’
सामान्यताः चिम्पान्जी प्रजातिहरूमा समूहको स्थायी विभाजन अर्थात् फिजन औसतमा ५ सय वर्षको अन्तरालमा मात्र हुन्छ । यस्तै, किसिमको विभाजन तान्जेनियाको गेम्बेको पनि भएको थियो । त्यसबेलाको विभाजनमा ६ वटा भाले र एक पोथी चिम्पान्जीको हत्या भएको थियो ।
यो अनुसन्धान पढ्दै जाँदा युद्ध र हिंसाको आधारभूत केही तथ्यहरू मानिसको उद्विकाससँग पनि जोडिन्छ । युद्ध र हिंसाले नै हाम्रो समाजलाई सयौँ वर्षदेखि विभिन्न आकार दिँदै आएको छ ।
केही सभ्यता हराएर गए त केही जीवित नै छन् । धर्म, विचार, जातियता र सांस्कृतिक विषयले मानव प्रजातिलाई डोहोर्याउँदै आएको छ । एउटै समूह, विचार, धर्म मिल्नेसँग मित्रता र अन्यसँग शत्रुता व्यवहार गर्ने मानवीय स्वभाव नै हो ।
तर, एउटा मिलेर रहेको वन्यजन्तुको समूहभित्र कसरी विद्रोह वा गृहयुद्ध हुन सक्छ ? कसरी शत्रुतापूर्ण विभाजनहरू हुन्छन् ? सम्बन्धमा आउने फेरबदलले नै सामूहिक हिंसा निम्त्याउने भएकाले हाम्रो इतिहासमा पनि यस्तै किसिमको विभाजन भएको हुन सक्ने विषयलाई नर्कान नसकिने वैज्ञानिकहरूले बताएका छन् ।
तस्बिरहरू : सहप्राध्यापक एरोन स्यान्डेल ।
प्रतिक्रिया 4