+
+
Shares

इरानद्वारा परमाणु परियोजना ५ वर्ष रोक्ने प्रस्ताव, अमेरिका २० वर्षमा अडिग

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते ८:१४

१ वैशाख, काठमाडौं । पाकिस्तानको इस्लामावादमा भएको अमेरिका र इरानबीचको युद्धविराम वार्ता निष्कर्षविहीन बनेपछि तनाव थप चुलिएको छ। इरानले आफ्नो परमाणु परियोजना ५ वर्षका लागि रोक्ने प्रस्ताव राखे तापनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै २० वर्षको प्रतिबन्ध हुनुपर्ने अडान राखेसँगै वार्ता निष्कर्षविहीन बनेको थियो ।

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, इस्लामावाद वार्तामा इरानले परमाणु गतिविधि ५ वर्षका लागि रोक्ने प्रस्ताव गरेको थियो। तर, अमेरिकाले २० वर्षसम्म कुनै पनि परमाणु गतिविधि गर्न नपाउने र इरानसँग रहेको प्रशोधित युरेनियम फिर्ता गर्नुपर्ने सर्त राखेको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘बल अब तेहरानको कोर्टमा’ रहेको बताउँदै इरानले परमाणु हतियार नबनाउने पक्का ग्यारेन्टी दिनुपर्ने बताएका छन्।

इरानी प्रतिनिधिमण्डलसँग अन्तिम निर्णय लिने अधिकार नभएका कारण सम्झौता हुन नसकेको उनको भनाइ छ। यद्यपि, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र रक्षामन्त्री ख्वाजा आसिफले वार्ता सकारात्मक दिशामा रहेको र छिट्टै अर्को चरणको वार्ता हुने आशा व्यक्त गरेका छन्।

ट्रम्पले नाकाबन्दीपछि इरान सम्झौताका लागि आतुर देखिएको दाबी गरेका छन्। उनले युद्धविरामको समयसीमाभित्र सम्झौता नभए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्।

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसँग फोनमा कुरा गर्दै अमेरिकालाई अन्तर्राष्ट्रिय कानुनको पालना गराउन युरोपले सकारात्मक भूमिका खेल्नुपर्ने बताएका छन्।

होर्मुज स्ट्रेटमा समुद्री नाकाबन्दी सुरु

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी नौसेनाले होर्मुज स्ट्रेटमा समुद्री नाकाबन्दी सुरु गरेको छ।

सोमबार साँझदेखि होर्मुज जलसन्धिमा अमेरिकी समुद्री नाकाबन्दी लागू भएको छ। अमेरिकाले मध्यपूर्वमा विमानवाहक जहाज ‘युएसएस अब्राहम लिंकन’ र ११ वटा डिस्ट्रोयरसहित कम्तीमा १५ वटा युद्धपोत तैनाथ गरेको छ।

ट्रम्पले अमेरिकी नाकाबन्दीको नजिक आउने कुनै पनि इरानी जहाजलाई लागूऔषध तस्करको जहाजलाई झैँ तत्काल र कठोरतापूर्वक नष्ट गरिने चेतावनी दिएका छन्।

साथै, इरानलाई टोल तिर्ने कुनै पनि जहाजलाई सुरक्षित बाटो नदिइने स्पष्ट पारेका छन्। नाकाबन्दी सुरु हुनासाथ ‘रिच स्टारी’ र ‘अस्ट्रिया’ नामक दुई तेल ट्याङ्करहरू होर्मुजबाट बाटो मोडेर फर्किएका छन्।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले रुसी समकक्षी सर्गेई लाभरोभसँग कुरा गर्दै होर्मुजमा अमेरिकाको उक्साहटपूर्ण गतिविधि विश्व शान्तिका लागि खतरनाक हुने चेतावनी दिएका छन्।

इरानले आफ्ना बन्दरगाहहरूमा आक्रमण भएमा फारसको खाडी र ओमान सागरका कुनै पनि बन्दरगाह सुरक्षित नरहने चेतावनी दिएको छ।

यसैबीच, भारतका लागि इरानी राजदूत मोहम्मद फतहलीले होर्मुज हुँदै जाने भारतीय जहाजहरूबाट हालसम्म कुनै दस्तुर नलिइएको र इरानले भारतीय जहाजहरूलाई सुरक्षित रूपमा आवतजावत गर्न मद्दत गर्ने बताएका छन्।

विश्व अर्थतन्त्रमा असर

वार्ता निष्कर्षविहीन बनेपछि र नाकाबन्दी सुरु भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य बढेर प्रति ब्यारेल १०० डलर पार गरेको छ। यद्यपि, पुनः वार्ता हुन सक्ने झिनो आशाका कारण अमेरिकी सेयर बजार (एस एन्ड पी ५०० र न्यासड्याक) मा भने सामान्य वृद्धि देखिएको छ।

भूराजनीतिक प्रभाव कस्तो छ ?

ट्रम्पले चीनलाई इरानलाई सैन्य मद्दत गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। यद्यपि, चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि युद्ध अन्त्यको पक्षमा रहेको ट्रम्पको विश्वास छ। ट्रम्पले आगामी मे १४ र १५ मा बेइजिङको भ्रमण गर्ने तय भएको छ।

ट्रम्पले युद्धको कभरेजलाई लिएर ‘द न्युयोर्क टाइम्स’ लगायतका अमेरिकी मिडियामाथि आक्रोश पोख्दै उनीहरूले इरानलाई बलियो देखाउन खोजेको आरोप लगाएका छन्।

यसका साथै, युद्धको विरोध गर्ने इसाई धर्मगुरु पोप लियोको आलोचना गरेका ट्रम्पलाई इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले जवाफ दिँदै पोपको शान्तिको अपिल स्वाभाविक रहेको र ट्रम्पको टिप्पणी ‘अस्वीकार्य’ रहेको बताएकी छिन्।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?