+
+
Shares

ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै   

सुवेदीका अनुसार गणनामा आरक्षका कर्मचारी, तालिम प्राप्त गणक तथा स्थानीयको सहभागिता रहने छ । हिउँ चितुवा गणनाका लागि उच्च पहाडी भेगमा रहेका सिकार ब्लकमा ५६ क्यामेरा जडान गरिने छ ।

रासस रासस
२०८३ वैशाख १ गते १२:५३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको ढोरपाटन सिकार आरक्षमा पहिलो पटक हिउँ चितुवा गणना गरिने भएको छ।
  • गणनाका लागि ५६ क्यामेरा जडान गरी १० जना गणकले ४५ दिनसम्म फोटो र भिडियो खिच्नेछन्।
  • हिउँ चितुवाको दिसा सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरिने र पदचाप सर्वेक्षण गरिने छ।

१ वैशाख, बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिने भएको छ ।

नाउर र झारलको वैधानिक सिकार गरिने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि हालसम्म गणना गरिएको थिएन । हिउँ चितुवा गणनाका लागि गणकलाई तालिम दिने तयारी गरिएको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार गणनामा आरक्षका कर्मचारी, तालिम प्राप्त गणक तथा स्थानीयको सहभागिता रहने छ । हिउँ चितुवा गणनाका लागि उच्च पहाडी भेगमा रहेका सिकार ब्लकमा ५६ क्यामेरा जडान गरिने छ ।

‘पहिलोपटक हिउँ चितुवाको अवस्था पत्ता लगाउन लागेका छौँ, करिब १० जना गणकहरु ४५ दिनसम्म क्यामेरा राख्दै, प्रत्यक्ष फोटो तथा भिडियो खिच्दै र चितुवाको पाइला तथा दिसा सङ्कलन गरी गणनाको प्रतिवेदन तयार पारिने छ,’ सुवेदीले भने, ‘क्यामेराले कैद गरेका तस्बिर र अन्य स्थलगत प्रमाणहरुका आधारमा हिउँ चितुवाको सङ्ख्या पत्ता लाग्छ । आगामी वर्ष भने यहाँका नाउर र झारल गणना गरिने छ ।’

यस आरक्षको चार हजार मिटरदेखि सात हजार मिटरभन्दा माथिसम्म हिउँ चितुवाको बासस्थान रहेको छ । एक हजार ३२५ वर्ग किमी क्षेत्रफलमा फेलिएको आरक्षको मुख्यालय बागलुङमा रहेपनि म्याग्दी र रुकुम सम्म फैलिएको छ । आरक्षका विभिन्न सिकार ब्लकमध्ये सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँ चितुवा गणना गर्ने तयारी आरक्षले गरेको छ ।

रेन्जर सुवेदीका अनुसार हिउँ चितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामेरा राखेर फोटो कैद गरी फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ ।

हिउँ चितुवाको दिसा सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरिने र पदचाप तथा सङ्केत सर्वेक्षण पाइलाका आधारमा समेत गणना गरिने जनाइएको छ ।

यस आरक्षमा २०७९ सालको गणनाअनुसार एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?