+
+
Shares
पुस्तक अंश :

बिना पासपोर्ट युरोप भ्रमण गर्दा

म र क. कमर शाह हामी दुवै पनि सम्मेलनमा भाग लिन मस्को पुग्नुपर्ने अवस्था सिर्जना भएको थियो । त्यसबेला हामी दुवैसँग पासपोर्ट थिएन । सोभियत संघ संसारको एक शक्ति राष्ट्र र त्यहाँको कम्युनिस्ट पार्टीले दिएको निर्देशनअनुकूल हामी दुवैलाई अवैधानिक रूपबाट पानी जहाजबाट मस्को पुर्‍याइएको थियो । 

बिष्णुबहादुर मानन्धर बिष्णुबहादुर मानन्धर
२०८३ वैशाख १ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् १९६९ मा मस्कोमा भएको अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधिहरू अवैधानिक रूपमा पानी जहाजबाट पुगेका थिए।
  • सम्मेलनमा चीन र अलबानियाको कम्युनिस्ट पार्टी बाहेक सबै देशका कम्युनिस्ट पार्टीका प्रतिनिधिहरू सहभागी थिए र प्रतिबन्धित तीन पार्टीको नाम सार्वजनिक भयो।
  • प्रतिबन्धित पार्टीका प्रतिनिधिहरूलाई गोप्य रूपमा राखिएको र व्यवस्थापन त्रुटिले नाम टेबुलमा देखिएपछि प्रेसमा प्रकाशित भयो भन्ने कुरा उल्लेख गरिएको छ।

पार्टी नेतृत्वमा पुगी राजनीतिक जिम्मेवारी सम्हाल्ने क्रममा विदेश भ्रमणको अवसर प्राप्त हुने एक स्वाभाविक प्रक्रिया हो।

हाम्रो कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको एक अङ्गको रूपमा रहेको र तत्कालीन सोभियत स‌ंघकाे कम्युनिस्ट पार्टीसँग हाम्रो पार्टीको सम्बन्ध नेपालको राजनीतिक क्षेत्रमा मात्र होइन कि अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित तथ्य रहेको हो ।

सन् १९६९ मा मस्कोमा अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन सम्पन्न भएको सर्वविदित अन्तर्राष्ट्रिय महत्त्वको राजनीतिक घटना थियो ।

त्यस सम्मेलनमा भाग लिन लागि हाम्रो पार्टीलाई आमन्त्रित गरिएको थियो। पार्टीको तत्कालीन महासचिव क. रायमाझी तथा पिबी सदस्य क. कृष्णप्रसाद श्रेष्ठ आ-आफ्‌नो तरिकाबाट कानुनी रूपबाट पासपोर्टसहित मस्को पुग्नुभएको थियो।

 र क. कमर शाह हामी दुवै पनि सम्मेलनमा भाग लिन मस्को पुग्नुपर्ने अवस्था सिर्जना भएको थियो । त्यसबेला हामी दुवैसँग पासपोर्ट थिएन । सोभियत संघ संसारको एक शक्ति राष्ट्र र त्यहाँको कम्युनिस्ट पार्टीले दिएको निर्देशनअनुकूल हामी दुवैलाई अवैधानिक रूपबाट पानी जहाजबाट मस्को पुर्‍याइएको थियो । त्यो पानीजहाज यात्रु बोक्ने नभई कार्गो सिप थियो ।

मस्को पुग्न लागि हामीलाई भारत कलकत्तास्थित सोभियत सङ्घको कूटनीतिक नियोगमा सम्पर्क गर्न भनिएको थियो 

त्यहीअनुसार हामी कलकत्ता पुगी त्यहाँस्थित कूटनीतिक नियोगमा सम्पर्क गर्दा हामीलाई करीब एक हप्ता कलकत्तामै बस्नुपर्ने भएको थियो।

अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा भाग लिन लागि मस्कोमा समयमै पुग्नुपर्ने भएकोले त्यसबेला के गर्दा त्यो सम्भव हुने होत्यसैको बन्दोबस्त मिलाउन हामीलाई कलकत्तामा हप्ता दिनसम्म रोकिएको थियो ।

कलकत्ताबाट प्रस्थान गर्ने पानी जहाजबाटै सोभियत सङ्घको बन्दरगाहमा पुग्न कमसेकम महिना दिनसम्म लाग्ने भएकोले हामीलाई १५ दिनभित्रै सोभियत बन्दरगाह पुग्ने जहाज समात्न बीच समुद्रमै कलकत्ताबाट हिंडेको पानी जहाजबाट ओराली अर्को पानी जहाजमा सारिएको थियो ।

यसै प्रक्रियाअन्तर्गत कलकत्ताबाट हिंड्ने एक रातअगावै हामी त्यहाँस्थित सोभियत कूटनीतिक नियोगकै गेस्ट हाउसमा पाहुना भई बसेका थियौं ।

कलकत्ताबाट हिँड्ने जहाज समात्नका लागि जहाज हिँड्ने दिन बेलुका करीब ८ बजेतिर त्यस जहाजलाई बिदा गर्न भनी नियोगका मुख्य पदाधिकारीसमेत ३०/३५ जना कर्मचारीहरू बन्दरगाहतर्फ हिँडेका थिए ।

त्यही हुलमा हामी दुवै जना पनि सामेल थियौ । बन्दरगाह पुग्दा मुख्य पदाधिकारीले त्यहाँ स्थित मुख्य कर्मचारीसँग कुराकानी गरेपछि नियोगबाट हिँडेका सबैलाई जहाजलाई बिदा गर्न बन्दरगाहभित्र जाने अनुमति दिइएको थियो ।

हामीसमेतको सोभियत कर्मचारीहरूको भिड सोभियत पानीजहाज भित्र पस्यौं। एक घन्टापछि जहाज छुट्ने बेला भएपछि सबै कर्मचारीहरू फर्के । हामी दुवै जना जहाजभित्रै बसिराख्यौ । यसप्रकार हामीलाई पानी जहाजमा पुऱ्याइएको थियो ।

हामी पानीजहाजबाट १५ दिनको समुन्द्री यात्रापश्चात् सि‌ङ्गापुर पोर्टहङकङ पोर्ट हुँदै अन्त्यमा सोभियत सङ्घको ब्लाडिभोस्टोक सहरमा ओर्लेका थियौ । त्यहाँबाट हवाइजहाजबाट हामी मस्को पुगेका थियौ ।

बिहान सबेरै ८ बजेतिर हवाइजहाजको यात्रा प्रारम्भ भई मस्को पुग्दा अन्दाजी करीब १२ घन्टा बितेपछि मस्को पुग्दा बल्ल दिउँसोको ४ बजेको थियो। हामीले यात्राको क्रममा मस्को पुग्नुभन्दा अगावै दुई पटक लन्चमा सहभागी भएका थियौँ ।

पुस्तक विमोचन समारोह । तस्वीर : अनलाइनखबर

मस्को पुग्दा त्यहाँ साथीहरू केही ढिलो गरी लन्च टेबुलमै थिए । हामीले त्यो दिन तीन पटक लन्चमा सहभागी हुनु परेको थियो। जीवनमा पहिलो पटक यस्तो अनुभव भएको थियो ।

१९६९ को अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा चीनको कम्युनिस्ट पार्टी तथा अलबानियाको कम्युनिस्ट पार्टीबाहेक संसारभरिका कम्युनिस्ट पार्टीहरूका प्रतिनिधिहरू सहभागी थिए ।

सम्मेलनको आयोजक समितिले आफ्‌नो विज्ञप्तिद्वारा प्रस्ट पारेको थियो कि सम्मेलनमा सहभागी कम्युनिस्ट पार्टीहरूमध्ये तीन देशका प्रतिबन्धित कम्युनिस्ट पार्टीहरूका प्रतिनिधिहरूले पनि भाग लिइरहेका छन् ।

तर, ती देशको नाउँ खुलाइएको थिएन । प्रतिबन्धित पार्टीहरूको सुरक्षाको दृष्टिकोणले सम्मेलनको उद्घाटन दुई पटक गर्नु परेको थियो । पहिलो उद्घाटन गोप्य रूपमा गरिएको थियोजसमा प्रतिबन्धित पार्टीका प्रतिनिधिहरू पनि सामेल थिए । पछि दोस्रो पटक उद्घाटन गर्दा प्रेस आमन्त्रित थियो । प्रतिबन्धित पार्टीका प्रतिनिधिहरूलाई सम्मेलन हलबाट अन्तै बस्न लगाएका थिए ।

तरव्यवस्थापनको त्रुटिले प्रतिनिधिहरू त हटाइए तर ती पार्टीहरूको नाम लेखिएको प्लेटहरू टेबुलमा रहिरहे ।

प्रेस प्रतिनिधिहरू हलमा पस्नामा साथ पार्टीको नेम प्लेट पछ्‌याउँदै गर्दा तिनीहरूले पत्ता लगाइहाले कि तीन देशका प्रतिबन्धित पार्टीहरू नेपालपूर्वी पाकिस्तान र फिलिपिन्सका पार्टीहरू रहेछन् । भोलिपल्ट पत्रिकाहरूमा तीनै पार्टीहरूको नाम प्रकाशित भएको थियो ।

व्यवस्थापकीय त्रुटी कसबाट भएको थियो हामीलाई थाहा हुने कुरा भएन । हामीभन्दा बढी सोभियत सङ्घको कम्युनिस्ट पार्टीका सम्बन्धित व्यक्तिहरू चिन्तित थिए । हामीलाई उनीहरूले भने कि फर्कदा तपाईंहरूलाई अफ्‌ठयारो स्थितिको सामना त गर्नुपर्ने होइन नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट हामीले भन्यौ खास चिन्ता गर्नुपर्ने स्थिति छैन ।

अरू दुई पार्टीहरूको हकमा हामीलाई थाहा हुने कुरा भएन । तरपत्रिकामा यौटा खबर छापिएको थियो कि पूर्वी पाकिस्तानमा कम्युनिस्ट पार्टी छदै छैन । त्यस पार्टीको प्रतिनिधिले भाग लिने कुरै उठ्दैन ।

जहाँसम्म १९६९ को अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका निर्णयहरूको सवाल छ त्यसबारे यहाँ प्रकाश पार्नु म आवश्यक ठान्दिनँ

सम्मेलनमा प्रस्तुत दस्तावेजमा जुन पार्टीको जुन बुँदामा मत बाझिएको थियो त्यसको उल्लेख फरक मतसहित दस्तावेजमा गरिएको थियो ।

प्रतिबन्धित पार्टीहरूका प्रतिनिधिहरूलाई होटलमा नराखी विभिन्न फ्ल्याटहरूमा राखिएको थियो । हामीलाई विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी गराइन्थ्यो ।

एक चोटि यौटा कार्यक्रममा पाकिस्तानका राजदूतकै छेउमा पूर्वी पाकिस्तानको कामरेडलाई बस्ने स्थिति उत्पन्न भएको थियो ।

पूर्वी पाकिस्तानका कामरेडले टाढैबाट पाकिस्तानको राजदूतलाई चिनिहालेछन् । निजले व्यवस्थापकलाई भनेर त्यस हलबाट उनी बाहिर निस्केछन् । यस घटनापछि हामी प्रतिबन्धित पार्टीका प्रतिनिधिहरूलाई कुनै कार्यक्रममा सहभागी गराउँदा सम्बन्धित देशका राजदूतावासका मानिसहरू त्यहां छन् वा छैनन पूरा पत्ता लगाइसकेपछि मात्र हामलाई कार्यक्रममा लग्ने गरियो । हामीले थाहा पाएका थियौं कि  फिलिपिन्सबाट कुनै प्रोफेसन करीब २ महिना अगाडिदेखि विदेश भ्रमणमा निस्की सम्मेलनमा मस्को आइपुगेका थिए । उनी सम्मेलन सकिनुभन्दा अगावै फिलिपिन्स फर्केर गए ता कि उनीप्रति कुनै शंका गर्ने स्थिति नरहोस् ।

(दिवंगत कम्युनिस्ट नेता बिष्णुबहादुर मानन्धरको बेला पब्लिकेसन्स्द्वारा हालै प्रकाशित  संस्मरणात्मक पुस्तक संङ्घर्षका पानाहरू बाट लिइएको अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?