News Summary
Generated by OK AI. Editorially reviewed.- कोनी कन्भर्स सन् १९५० को दशकमा अमेरिकी लोकसंगीतकी प्रतिभा थिइन्, तर तत्कालीन समयमा उनको संगीतलाई मान्यता मिलेन।
- सन् १९७४ मा ५० वर्षको उमेरमा कोनी कन्भर्स बेपत्ता भइन् र उनको हालसम्म कुनै अत्तोपत्तो छैन।
कहिलेकाहीँ कोही व्यक्ति समयभन्दा धेरै अगाडि हुन्छ । तत्कालीन समयले उसलाई बुझ्न कहिल्यै सक्दैन । जब ती व्यक्तिको समय घर्किन्छ, तब मात्र उसको कामको मूल्यांकन हुन थाल्छ । कोनी कन्भर्स त्यस्तै एक हुन् ।
उनी अमेरिकी लोकसंगीतकी एक प्रतिभा थिइन् । सन् १९५० को दशकमा उनले न्यूयोर्कमा बसेर धेरै उत्कृष्ट गीतहरू रचना गरिन् । तर त्यतिबेला उनलाई कसैले चिनेन । अहिलेको समयमा बिस्तारै उनको चर्चा हुन सुरु गरेको छ ।
कोनीका गीतहरू सुन्दा ती सन् १९५० का होइनन्, आजका कुनै इन्डी-फल्क हुन् जस्तो लाग्छ । उनको हुर्काइ एक क्रिश्चियन परिवारमा भएको थियो । त्यहाँ रक्सी र यौनबारे कुरा गर्नु निषेध थियो । तर उनका गीतहरूमा उनले यी बन्धनहरू तोडेर स्वतन्त्रता र मानव भावनाका गहिरा पक्षहरूलाई समेटिन् ।
उदाहरणका लागि धेरैले सुनेको ‘रोभिङ वुमन’ एक हो । यस गीतमा उनले एक स्वतन्त्र महिलाको कथा भनेकी छिन् । ती महिलाले आफ्नो इच्छा र यौनिकतालाई निर्धक्क रूपमा प्रस्तुत भन्छिन् । यो गीतमा प्रयोग गरिएको गितारको धुन र उनको स्वरमा झल्किने उदासी आजका इन्डी फल्क कलाकारहरूभन्दा कम छैन । रोचक कुरा त के छ भने यो गीत बब डिलन प्रसिद्ध हुनुभन्दा धेरै वर्ष पहिले नै रेकर्ड गरिएको थियो ।
कोनी आफ्नै कोठामा बसेर गितार र एउटा सानो टेप रेकर्डरको भरमा संगीत सिर्जना गर्थिन् । आफ्नो करियरलाई गति दिन उनले विभिन्न रेकर्ड लेबलहरूसम्म कुरा गरिरहेकी हुन्थिन् । तर, अधिकांशले उनको संगीत ‘धेरै गाह्रो’ भएको भन्दै अस्वीकार गर्ने गर्थे । एक फेर उनले सन् १९५४ मा टेलिभिजनमा प्रस्तुति दिने मौका पनि पाएकी थिइन् । तर, त्यसले उनलाई कुनै ठूलो सफलता दिलाउन सकेन ।
यसरी आफ्नो संगीतले पहिचान नपाएपछि उनमा निराश छाउँदै गइरहेको थियो ।
एक पटक उनले आफ्ना परिवार र साथीहरूलाई पत्र लेख्दै आफूले संसारमा आफ्नो ठाउँ पाउन नसकेको गुनासो गरेकी थिइन् । त्यसको केही वर्षपछि सन् १९७४ मा ५० वर्षको उमेरमा उनी आफ्नो कार लिएर कतै निस्किन् । र, त्यसपछि कहिल्यै फिर्ता भइनन् ।
५० वर्षको उमेरमा अचानक बेपत्ता भएकी उनको आजको दिनसम्म कुनै अत्तोपत्तो छैन । उनी जिउँदो छिन्/छैनन् कसैलाई सार्वनजिक रूपमा थाहा छैन ।
कतिपयले भने उनी क्यानडामा दुर्घटनामा परेको अनुमान गर्छन् भने कसैले उनी ब्राजिल पुगेर नयाँ जीवन सुरु गरेको विश्वास गर्छन् ।
यद्यपि उनी हराए पनि उनको सिर्जना लोप भएन । उनी हराएको लामो समयपछि सन् २००४ मा उनका गीतहरू एक रेडियो कार्यक्रममार्फत सार्वजनिक भए । सन् २००९ मा उनको गीति सङ्ग्रह ‘हाउ स्याड, हाउ लभ्ली’ सार्वजनिक भयो । यसले उनलाई नयाँ पुस्तामाझ चिनायो । यसबेलासम्म गीत सुन्ने मान्छेको शैलीमा पनि परिवर्तन भइसकेको थियो ।
आजको दिनमा उनका फ्यानहरूमा धेरै चर्चित संगीतकारहरू समेत पर्छन् । फ्रान्की कस्मस जस्ता कलाकारहरू कोनीबाट प्रभावित छन् । लेखक हवर्ड फिशम्यानले कोनीको जीवनी लेखेका छन् । किताब उनी भन्छन्, ‘सुरुमा मलाई लागेको थियो कि कोनी कन्भर्स एक काल्पनिक पात्र हुन्, किनभने सन् १९५० को दशकमा यति आधुनिक र ताजा संगीत कसैले बनाउन सक्छ भन्ने पत्याउनै गाह्रो थियो ।’
तर, हामीले कुरा सुन्नु पर्ने, हामीले सम्मान गर्नु पर्ने कोनी कन्भर्स आज समाजबाट यस्तरी हराएकी छिन् कि उनलाई खोजेर ल्याउन पनि मुस्किल छ।
प्रतिक्रिया 4