२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र असन्तुष्ट नेताहरूसँग संवाद गर्ने जिम्मेवारी पार्टी सभापति गगन कुमार थापालाई दिएको छ ।
पार्टीका प्रवक्ता देवराज चालिसेले पार्टी अहिले पन्ध्रौं महाधिवेशनको तयारीमा रहेकाले महाधिवेशन गराउनेगरी असन्तुष्ट रहेका सबै पक्षसँग छलफल गर्ने जिम्मेवारी सभापति थापालाई दिइएको हो ।
‘जो जिम्मेवारीमा छ, जो संस्थापन हो उसैको जिम्मेवारी हो । त्यसकारण पार्टीका सभापतिलाई हाम्रा पूराना अग्रज नेता, पुराना पदाधिकारीसँग संवाद गर्ने र पन्ध्रौं महाधिवेशन समयमै सम्पन्न गर्नका लागि समन्वय गर्नका लागि पार्टी सभापति गगन कुमार थापाजीलाई जिम्मेवारी दिएका छौं,’ उनले भने ।
केही नेताहरू असन्तुष्ट रहेको विषय आइरहेको भन्दै प्रवक्ता चालिसेले यससँग सम्बन्धित नेता, पुराना पदाधिकारी र केही महत्त्वपूर्ण नेताहरूसँग सभापति थापाले संवाद गर्ने बताए ।
‘यससँग सम्ब्न्धित साथी, पुराना पदाधिकारीहरूलाई र अन्य महत्त्वपूर्ण साथीहरूलाई पन्ध्रौं महाधिवेशन समयमै सम्पन्न गर्नका लागि पार्टीले वार्ता छलफल गर्ने, आफ्ना कुरा राख्ने पार्टीको कर्तव्य हो,’ चालिसेले भने ।
प्रतिक्रिया 4