News Summary
Generated by OK AI. Editorially reviewed.- होटल एसोसिएसन नेपाल र यूके नेपाल-नेपाल इन बिजनेसले पहिलो अन्तर्राष्ट्रिय वेलनेस दिवस मनाएका छन्।
- हान अध्यक्ष विनायक शाहले वेलनेस दिवसले नेपाललाई विश्वव्यापी वेलनेस क्षेत्रमा स्थापित गर्न मद्दत गर्ने बताए।
- नेपाल इन बिजनेसले पर्यटन मन्त्रालयसँग सहकार्यमा वेलनेस पर्यटन प्रवर्द्धन भिडियो सार्वजनिक गरेको छ र राष्ट्रिय वेलनेस पर्यटन रणनीति निर्माण प्रक्रियामा रहेको छ।
२ वैशाख, काठमाडौं । होटल एसोसिएसन नेपाल (हान) को आयोजना तथा यूके नेपाल-नेपाल इन बिजनेसको सहकार्यमा ‘पहिलो अन्तर्राष्ट्रिय वेलनेस दिवस’ बुधबार मनाइएको छ ।
ऐतिहासिक कार्यक्रममा हानका सदस्य प्रतिष्ठानका होटल व्यवसायी, वेलनेस विशेषज्ञ, निजी क्षेत्रका प्रतिनिधि, शैक्षिक क्षेत्र र विकास साझेदार सहभागी भई दिवस मनाइएको हानले जनाएको छ ।
कार्यक्रममा हान अध्यक्ष विनायक शाहले यस ऐतिहासिक अवसरले नेपाललाई विश्वव्यापी वेलनेस क्षेत्रमा स्थापित गर्न मद्दत गर्ने बताए ।
यसै वर्ष संयुक्त राष्ट्र संघले नेपाल सरकारको प्रस्तावमा प्रत्येक वर्ष १५ अप्रिललाई अन्तर्राष्ट्रिय वेलनेस दिवसका रूपमा घोषणा गरेको हो । साथै, नवगठित मन्त्रिपरिषद्को १ सय दिने शासकीय प्रतिबद्धतामा पनि वेलनेस पर्यटनलाई प्राथमिकतामा राखिएको उनले उल्लेख गरे ।
कार्यक्रममा हान, पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपाल इन बिजनेसद्वारा निर्माण गरिएको वेलनेस पर्यटन प्रवर्द्धन भिडियो सार्वजनिक गरियो । जसले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकका लागि उत्कृष्ट वेलनेस गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
नेपाल इन बिजनेसका टिम लिडर रतिश बस्न्यातले वेलनेस पर्यटनलाई राष्ट्रिय प्राथमिकतामा ल्याउन नेपाल इन बिजनेस र पर्यटन मन्त्रालयबीच भएको सहकार्यबारे प्रकाश पारे ।
उनले राष्ट्रिय वेलनेस पर्यटन रणनीति निर्माणमा नेपाल इन बिजनेसको योगदानबारे जानकारी दिँदै उक्त रणनीति हाल सरकारी स्वीकृतिको प्रक्रियामा रहेको बताए ।
नेपालको वेलनेस सम्भावनाबारे चर्चा गर्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नवप्रवर्तन मार्फत विविध वेलनेस प्याकेज विकास गर्नुपर्ने र मौलिकता तथा फरकपन सहित बजारमा प्रस्तुत गर्नुपर्ने बताए ।
‘वेलनेस पर्यटनको पारिस्थितिकी तन्त्र विकास गर्न हामीले चार कुरामा ध्यान दिनुपर्छ– लगानी, सिप विकास, प्रमाणीकरण र ब्रान्डिङ,’ उनले भने ।
हान कार्यसमिति सदस्य अश्लेषा कार्कीले नेपालले वेलनेस पर्यटनलाई मुख्य पर्यटन उत्पादनका रूपमा विकास गर्ने ठूलो सम्भावना रहेको बताइन् । साथै, सरकार, निजी क्षेत्र, संघसंस्था र लगानीकर्ताबीच साझा जिम्मेवारी आवश्यक रहेको उनले जोड दिइन् ।
प्यानल छलफलमा आयुर्वेद संघ नेपालका डा. रमेश पौडेलले दक्ष जनशक्ति अभाव वेलनेस क्षेत्रको दीर्घकालीन विकासका लागि चुनौती भएको बताए ।
नाट्टा प्रतिनिधि युविका भण्डारी, काव्या रिसोर्ट एन्ड स्पाका डा. रवि शिखावत, पर्यटन मन्त्रालयका सहसचिव इन्दु घिमिरे लगायतले वेलनेस पर्यटनबारे आ–आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया 4